बुटवलमा फागुन २२ गतेदेखि ललितकला प्रदर्शनी – Nepal Press

बुटवलमा फागुन २२ गतेदेखि ललितकला प्रदर्शनी

रुपन्देही । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुटवलमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख एवम् लुम्बिनी प्रदेश प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश्वर महतोले बुटवलमा यही फागुन २२ देखि २६ गतेसम्म प्रदर्शनी हुन लागेको बताए ।

‘सामाजिक रुपान्तरण ललितकलाको अभियान’ भन्ने मूल नारालाई अघि सार्दै कलामा जागरण ल्याउन र रैथाने कला, सीप र ज्ञानलाई तल्लो तहसम्म पुर्‍याउन र ललितकलाको संरक्षण, प्रवर्द्धन र सर्वाङ्गीण विकास गर्न लुम्बिनी प्रदेशका १२ जिल्लाका १२४ जना कलाकारका २०० कलाकृति प्रदर्शन गर्ने लुम्बिनी प्रदेशका सदस्य सचिव एचबी रम्तेलले बताए ।

फागुन २२ गते लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले प्रदर्शनी उद्घाटन गरिनेछ । कला, साहित्य, संस्कृति, धर्म, संस्कार, जातजाति र भाषा झल्किने ऐतिहासिक कलाकृतिलाई समावेश गर्न यो प्रदर्शनी गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए ।

प्रतिष्ठानले प्रादेशिक प्रर्दशनीमा छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिनेछ । त्यस्तैगरी उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार, प्रादेशिक ललितकला विशेष पुरस्कार, उत्कृष्ट विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारलगायत विभिन्न विधाहरुमध्येबाट १ जनालाई ५० हजार, चित्रकला विधामा परम्परागत चित्रकला र समसामयिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला÷हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधाका विजेतालाई ३० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिहरुलाई २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराई सातै प्रदेशबाट छानिएका कलाकृतिहरुबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्टलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार नगद पुरस्कार र सम्मान गरिनेछ ।

त्यस्तैगरी प्रदर्शनी सम्पन्न गर्न संयोजक प्राज्ञ दिनेश्वर महतोको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति, ५ सदस्यीय कार्यकारी समिति, ९ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएयो । प्रदर्शनीकै बीच कवि गोष्ठी, कलासम्बन्धी अन्तरक्रिया र विभिन्न विद्यालयका बालबालिकाबीच चित्रकला कार्यशाला गरिनेछ ।

प्रदर्शनीमा नेपाल व्यवसायिक कलाकार संघले सहकार्य गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *