‘सतीदेवी’ निर्देशकलाई मन्त्री शर्माले भनिन्- तपाईंको फिल्म हेर्ने मन छ – Nepal Press

‘सतीदेवी’ निर्देशकलाई मन्त्री शर्माले भनिन्- तपाईंको फिल्म हेर्ने मन छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’तर्फ लक्षित गर्दै नेपालमा यस प्रकारका मौलिक र यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।

मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबीच गत बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भेट भएको थियो । भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र वृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माले बताइन् ।

शर्माले ‘सतीदेवी’ नारी प्रधान मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई हेर्न रुचि लागेको बताइन् । भेटघाटमा निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयवस्तुको बारेमा विस्तृतमा व्याख्या गरेका थिए । ‘सतीदेवी’ बारे सुनिसकेपछि शर्माले यस प्रकारका मौलिकता बोकेका, नेपालीपन झल्कने चलचित्रलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए ।

शर्माले आफू सधैं नेपाली चलचित्रको गुणस्तर र व्यवसायिक विकासको पक्षमा रहेको र चलचित्र अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास र प्रवर्द्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने भएकाले छिट्टै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताएको सुवेदीको भनाइ छ ।

सञ्चारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदी बताउँछन् । उनले शर्मामा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतिका लागि केही गरौं भन्ने भावना पाएको उल्लेख गरे ।

‘दिलासा क्रियसन’ले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रको प्रदर्शन मिति केही समयमै तोकिने निर्देशक सुवेदीले बताए ।

गत माघ तेसो साता सौराहामा सम्पन्न ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ मा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, केसर अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर