‘रंगेली’को किचलो सकियो, केही शब्द म्युट गरेर सेन्सर पास – Nepal Press

‘रंगेली’को किचलो सकियो, केही शब्द म्युट गरेर सेन्सर पास

काठमाडौं । सेन्सर बोर्डले चलचित्र ‘रंगेली’को सेन्सर पास गरेको छ । नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले ‘रंगेली’लाई गत शुक्रबार प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । तर, केही शब्द म्युट गर्ने र केही परे आफैं जिम्मेवार हुने सर्तमा बोर्डले आज चलचित्रको सेन्सर पास गरेको छ ।

चलचित्रमा भएका केही ‘अपशब्द’हरु म्युट गर्न बोर्डले निर्देशन दिएको थियो । निर्देशनपछि निर्माण टीमले चलचित्रमा भएका ती शब्दहरु म्युट गरेर सेन्सर बोर्डमा पठाएको थियो ।

बोर्डले चलचित्रको सेन्सर रोकेपछि सिने क्षेत्रमा एक तरिकाको भूइचालो गएको थियो । फिल्मकर्मीहरु विरोधमा उत्रिएका थिए । आआफ्नो सामाजिक सञ्जालबाट बोर्डको आलोचना गर्नेको घुइँचै लागेको थियो ।

आलोचना र विरोध भएपछि आज निर्माता जीतेन्द्र खतिवडा र वितरक गोविन्द शाहीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाएर बोर्डका पदाधिकारीले सेन्सर पासको प्रमाणपत्र दिएका छन् ।

सेन्सर पासबारे निर्माता खतिवडा भन्छन्, ‘आज उहाँहरु हामीसँग एकदमै नम्र तवरले प्रस्तुत हुनुभयो । चलचित्र रोक्ने उद्देश्य नभएको उहाँहरुको भनाइ थियो । केही कारणले चलचित्रको सेन्सर रोकेको हो । नत्र नयाँ मेकरहरुलाई प्रेत्साहन गर्ने लक्ष्य रहेको बताउँदै सेन्सर पास गर्दिनुभयो ।’

उनले चलचित्र छायाँकन गर्दा नै रंगेली नगरपालिकाको अनुमति लिएको बताए । ‘त्यहाँका बासिन्दासँग समेत चलचित्रमा सहकार्य गरेका छौं’, खतिवडाले भने, ‘तर, नाममा आपत्ति जनाउँदै रंगेली नगरपालिकाको मेयरसँग ‘लेटर अफ कन्सेन्ट’ लिएर आउनुहोस् भनेर उहाँहरुले सेन्सर रोकिदिनुभयो ।’

आज बोर्डले ‘लेटर अफ कन्सेन्ट’ को कुरा ननिकालेको खतिवडाको भनाइ छ । खतिवडा निर्मित चलचित्र ‘रंगेली’ यही फागुन २५ गते रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर