काठमाडौंमा कवाडी व्यवसायीहरुको विरोध प्रदर्शन, आन्दोलन सशक्त बनाउने चेतावनी – Nepal Press

काठमाडौंमा कवाडी व्यवसायीहरुको विरोध प्रदर्शन, आन्दोलन सशक्त बनाउने चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले विरोध प्रदर्शन सुरु गरेका हुन् । आईतवार उनीहरुले बुद्धनगरमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सरकारले सरसफाईका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजेको आरोप लगाए । आईतवार कवाडी समुदायको जुलुस शंखमुलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्ग काठमाडौं पुगेर बिरोध सभामा परिणत भएको छ ।

संविधान, श्रम तथा रोजगारीको हक अधिकार, मानव अधिकार लगायत मूल्य र मान्यता विपरित उचित व्यवस्थापन बिना महानगरले कवाड हटाउने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ ।

आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आजको र्‍याली काठमाडौं महानगरपालिकाले व्यवसायलाई राज्यको कानून विपरित दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताए ।

महानग्रले कवाडी पेशालाई अध्ययन नै नगरी गलत ढंगले व्याख्या गरी व्यवसायीलाई लखेटेको बताए । उनले यथाशिघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रुपमा अघि बढाउने चेतावनी दिए ।

त्यस्तै आन्दोलनमा सहभागी सञ्जय साहले महानगर पम्रख बालेन्द्र साहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाए । मेयरले लाखौँ युवाको रोजगार खोस्ने अधिकार नरहेको जिकिर गरे ।

आन्दोलनमा सहभागीहरुले अदालतको निर्णयको सम्मान गरौँ, अनाधिकृत ढंगले कवाड अटाउने कार्य बन्द गरौँ,कवाडमाथि डोजर चलाउने कार्य बन्द गर, कानूनी शासन लागू गर, कवाडी एकता जिन्दवाद लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

One thought on “काठमाडौंमा कवाडी व्यवसायीहरुको विरोध प्रदर्शन, आन्दोलन सशक्त बनाउने चेतावनी

  1. कवाडीका सामानहरु संकलन गरेर बिक्रीवितरण गर्ने ठाउँ मुख्य सडक बाट टाढा नै हुनुपर्छ किनभने प्राय कवाडीको सामान फलामका डन्डी जस्तापाता बोरा लगायत अन्य सामानहरु बाट निस्किने धुलो र फोहोरले गर्दा त्यस वरिपरि असर पुर्याइ रहेको हुन्छ | त्यसैले रिङ्गरोड बाट र बस्ती नभएको खाली ठाउँमा संकलन गरेको सामानहरु जम्मा गर्ने र बिक्रीवितरण गर्ने निश्चित ठाउँको व्यवस्थापन सरकारले गरेर मात्रै हटाउन लगाउदा हुन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *