भैरहवामा सञ्चालनमा आयो चार तारे होटल ल्याण्डमार्क – Nepal Press

भैरहवामा सञ्चालनमा आयो चार तारे होटल ल्याण्डमार्क

रुपन्देही । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा लगानी भने रोकिएको छैन । रुपन्देहीमा कोरोनाअघि निर्माण भएका तारे होटलहरु अहिले धमाधम खुलिरहेका छन् ।

स्थानीय व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका- ३ मा भौतिक संरचनामा मात्रै ५० करोड लगानी भएको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा ल्याएका छन् । पर्यटन क्षेत्रमा फरक ब्राण्ड बनाएको सम्राट ग्रुपको व्यवस्थापनमा शनिबार उक्त होटल सञ्चालनमा ल्याइएको हो ।

२०४८ सालमा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा तारे होटल सञ्चालन गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर भैरहवास्थित होटलको व्यवस्थापन जिम्मा लिएको सम्राटका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले बताए ।

ल्याण्डमार्कमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठा रहेको उनको भनाइ छ । होटलमा कोर्टयार्ड लाउञ्ज, स्वीमिङ पुल, सय जना क्षमताको रुफटप बार पनि रहेको उनले बताए ।

१० कठ्ठामा भौतिक संरचना बनेको होटलले अन्य सेवाका लागि थप १ विघा जग्गा लिएको छ । जसमा ६०० र २०० जना क्षमताका पार्टी र सेमिनार हल तथा ३० वटा कोठा बनाउने तयारी भएको पाण्डेले बताए ।

होटलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक आशा गुरुङले बताए । उनी रुपन्देहीमा नमुना कृषि काम गरेर चर्चामा आएका व्यवसायी हुन् ।

यो होटल भारतीय सीमा क्षेत्रको नजिकै भएको र पर्यटक आउने मुख्य स्थलमार्गको रुपमा बेलहिया भएकाले पनि यसलाई केन्द्रको रुपमा विकास गरिने सम्राट ग्रुपले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर