इलाम २ उप निर्वाचन : पहिचान पक्षधरले साझा उम्मेदवार छनौट गर्दै, थेगिमको बलियो सम्भावना – Nepal Press

इलाम २ उप निर्वाचन : पहिचान पक्षधरले साझा उम्मेदवार छनौट गर्दै, थेगिमको बलियो सम्भावना

विराटनगर । आसन्न इलाम २ को उप निर्वाचनमा पहिचान पक्षधरबाट साझा उम्मेदवारका लागि आन्तरिक प्रतिस्पर्धा सुरू भएको छ । गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित आन्दोलित समूहले उम्मेदवार अघि सार्ने भएका हुन् ।

‘प्रदेश नम्बर १ पुन: नामकरण’ संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीसहित सुरु गरेको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको थियो । नागरिक उन्मुक्त पार्टीका उपमहासचिव पदम अधिकारीका अनुसार आकांक्षीहरू धेरै भएका कारण उम्मेदवार छनौटका लागि बैठकको राखिएको छ ।

वैशाख १५ गते निर्धारण गरिएको उक्त उपचुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, राष्ट्रिय जनमुक्ति पार्टीका केपी पालुङ्गा, आकांक्षी छन् । यस्तै किराँत भाषा तथा साहित्य उत्थान संघका अध्यक्ष डाकेन्द्रसिङ थेगिम र किराँत याक्थुङ्ग चुम्लुङका अध्यक्ष प्रेम एक्तेनको पनि चर्चा छ । थेगिम प्रदेश पुन: नामकरण अभियान समितिका संयोजकसमेत हुन् । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनका विश्वास पात्रका रूपमा रहेकाले थेगिमको बलियो सम्भावना रहेको स्रोतको दाबी छ ।

‘उहाँलाई अघि सार्दा गुरुको साथ रहने र आर्थिक पनि सहज रूपमा जुट्ने भएकाले सहज हुन्छ’, स्रोतले भन्यो ।

एक्तेन त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक हुन् । उनी डाकेन्द्र उम्मेदवार बने छाड्न तयार रहेको बताइन्छ । जिम्मेवारी आएपछि नहट्ने थेगिम बताउँछन् ।

‘राजनीतिकभन्दा पनि सामाजिक व्यक्तित्व उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा छु । आन्दोलन जारी छ । एकजनाको मृत्यु भइसक्यो । थुप्रै घाइते छन् । उनीहरूको भावनाको सम्बोधन गर्न पनि पहिचानवादीहरूले साझा उम्मेदवार बनाउनै पर्छ’, उनले नेपाल प्रेससँग भने ।

कोशी नामकरणपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, जनमुक्तिलगायत विभिन्न पार्टीहरू नामकरणको विरोधमा आन्दोलन गर्दै आएका छन् । यस्तै आदिवासी जनजाति संघ, किराँत याक्थुङ्ग चुम्लुङ, किराँत राई यायोख्खा, किराँत भाषा तथा साहित्य उत्थान संघलगायतका जातीय र सामाजिक संस्थाहरू आन्दोलनको अग्रभागमा देखिएका छन् ।

संयुक्त आन्दोलन चलिरहेकाले निर्वाचनमा पनि संयुक्त रूपमा जाने निर्णय भएको किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले बताए । उनले संघर्ष समितिले यसअघि नै साझा उम्मेदवार उठाउने निर्णय गरिसकेकाले सहमति खोजिने बताएका छन् । आदिवासी जनजाति पत्रकारहरूको संस्था फोनिजका महासचिव मिलन लिम्बूसमेत पहिचानवादीको साझा उम्मेदवारका लागि दौडधुपमा लागेका छन् ।

कति थियो गत सालको चुनावमा यहाँको मत

२०७९ मंसिरको चुनावमा यस क्षेत्रमा पहिचान पक्षधर पार्टीहरू मंगोल नेशनल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले १३६३ भोट, जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङवाले १२७२ भोट ल्याएका थिए । जसपाका यामप्रसाद लिम्बूले ७२४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द लिम्बूले ६८४ मत पाएका थिए ।

पहिचानको मुद्दा उठाउँदै आएको माओवादीले कांग्रेससँग गठबन्धन गरेको थियो । समानुपातिक तर्फबाट भने पहिचान पक्षका पार्टीहरूले कुल १२ हजार २३९ मत पाएका थिए । इलाम- २ मा समानुपातिक तर्फ माओवादी केन्द्रको मत ५ हजार १५३,नेशनल मंगोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, संघीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१, जसपा ९०६ र नेकपा एसको ५८६ मत थियो ।

एक वर्षअघिको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मतका साथ विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङ आफ्नो चुनावी राजनीतिको अन्तिम र अपराजित यात्राको पाँचौँ संस्करणमा जम्मा ११४ मतको झिनो अन्तरमा विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर