प्यूठानको गाउँमै समृद्धि खोजिरहेका ३० वर्षीय पदम केसी – Nepal Press

प्यूठानको गाउँमै समृद्धि खोजिरहेका ३० वर्षीय पदम केसी

रुपन्देही । १० वर्षअघि क्यानडा जाने रहरमा दलालको सम्पर्कमा पुगेर ठगिएपछि गाउँ फर्केका प्यूठानको गौमुखी गाउँपालिका वडा नं ६ पदम केसी अहिले जिल्लामा उदाहरणीय कृषकको पहिलो सूचिमा गनिन्छन् ।

२०६७ सालमा गाउँकै भृकुटी माविबाट एसएलसी पास गरेपछि बालशिक्षा मच्छीबाट प्लस टु पास गरेपछि उनलाई विदेश गएर कमाउने रहर लागेर दलालको सम्पर्कमा पुगेका थिए । तर त्यहाँबाट हण्डर खाएपछि उनले आफ्नै गाउँमा फर्के कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउने योजना बनाएर काम थालेका हुन् ।

त्यसो त विद्यालय तहको अध्ययनपछि उनले केही समय गाउँको बोर्डिङ स्कुलमा अध्यापन गर्न खोजे, सडक विभागमा करारमा बसेर काम गरे तर त्यसबाट उनले भविश्व देखेनन् । त्यही समयमा कृषि कार्यालयबाट पाएको तालिमबाट उनी दीर्घकालीनरुपमा यसलाई व्यवसायिक तरिकाले अगाडि बनाउन तयार भएका हुन् ।

२०७३ सालमा बाख्रापालन सुरु गरेर उनले केसी बाख्रा तथा कृषि फर्म दर्ता गरेर उन्नन जातको बाख्रापालन तथा त्यसको ३ वर्षपछि नर्सरीबाट घाँस, फलफूल तथा अन्य जडीबुटीका विरुवा उत्पादन गरेर यसलाई व्यवसायिक रुपले संचालन गरेका छन् । उनीसहित ३ भाइ र ३ बहिनी गरी ६ जनामा पदम कान्छो भाइ हुन् । एक दाई विदेश र अर्को दाई सरकारी सेवामा भएपनि पदम भने कृषि पेशामै रमाएका छन् ।

७६ वर्षीय बुवा र ७३ वर्षीय आमाका साथ गाउँमा कृषि फर्म चलाएका पदमलाई उनकी श्रीमति मिठाकुमारी केसीले पनि पूर्ण साथ दिएकी छन् । एक छोरा र एक छोरीका साथ आफ्नो पेशामा रमाएमा पदमलाई अहिले गाउँका सबैजसो सामाजिक काममा जिम्मेवारी लिनुपर्ने भएको छ । ‘घरमा बुवा आमा भएपछि धेरै सजिलो भएको छ, मैले बाहिरको व्यवस्थापन हेर्न पाएको छु, तयारी वस्तुको बजारीकरण, विभिन्न ठाउँमा हुने कृषि सम्बन्धि तालिम तथा अन्य सामाजिक क्षेत्रका काममा जोडिन पाएको छु’ पदमले भने ।

डेढ लाख लगानी गरेर करिब १० वर्षअघि शुरु गरेको उनको यो व्यवसाय अहिले ५० लाखभन्दा बढीको भइसकेको छ । ‘विदेश जाने रहरमा भएको रकम दलालले खाएर धोका दियो, त्यो समयमा डेढ लाख लगानीमा काम थालेको हुँ, अहिले घरपरिवारका सबै खर्च यसैबाट चलाउनसक्ने भएको छु, मेहनत गरेर योजना बनाएर काम गर्नसके गाउँमा पनि धेरै गर्न सकिँदोरहेछ भन्ने आत्मविश्वास दिलाएको छ’ केसीले सुनाए ।

प्यूठान जिल्लाका व्यवसायिक रुपमा कृषि फर्म संचालन गरेर नमुना काम गरेको भन्दै स्थानीयहरु पनि खुसी भएका छन् । स्थानीय कृष्ण पाण्डेले युवा उमेरमा पदम केसी गाउँमा बसेर गरेको कृषि कर्मले धेरैलाई सकारात्मक सन्देश दिएको बताउँछन् । ‘अहिले गाउँमा युवाहरु बस्नै छाडेका छन्, बसेकाहरु पनि कृषि कर्म गर्न छाडेका छन् यस्तो समयमा पदम भाइले काम गरेर राम्रै कमाएका छन्, अरुलाई सिकाएका पनि छन्, विभिन्न ठाउँमा तालिम संचालन गरेर यो बारे जानकारी पनि दिएका छन्, यो गाउँमा लागि, जिल्लाका लागि धेरै राम्रो काम हो’ पाण्डेले सुनाए ।

पदमले बाख्रापालनसँगै नर्सरी पनि संचालन गरेकाले आर्थिक रुपमा धेरै सहज भएको बताउँछन् । उनका अनुसार बाख्रापालन अहिले धेरै प्रतिस्पर्धा भएकाले मुनाफा कम छ र लगानी पनि बढी छ तर नर्सरीलाई धेरैले व्यवसायिक रुपमा संचालन गर्न नसकेकाले राम्रोसँग काम भएको छ ।

‘बाख्रापालनमा धेरै लगानी छ मुनाफा कम छ, मिडियामा आएजस्तो यसबाट धेरै कमाई भएको छैन, मैले ०७३ मा बाख्रा शुरु गरेर ०७६ मा नर्सरी शुरु गरेको हुँ, बाख्रामा बोयर मात्र राखेको छु नर्सरीमा धेरै प्रकृतिका काम गरेको छु’ केसीले भने–‘हाम्रो क्षेत्रमा नर्सरीमा विभिन्न जातका फलफूलका बेर्ना बनाउने निकै कम छन्, यहाँ उत्पादन भएका नर्सरीका बेर्नाहरु जिल्लासहित बाहिर पनि धेरै जाने गरेको छ, घरमै लिन आउने भएपछि सहज पनि भएको छ ।’ अहिले उनको नर्सरीमा ३५ लाखभन्दा बढीका बेर्नाहरु तयार छन् भने करिब ६० वटा बोयर जातका बाख्रा रहेका छन् । उनले बाख्राको मात्रै १६ लाखको बिमा गरेका छन् ।

जिल्लामा सामान्यरुपमा बाख्रा पालन धेरैले गरेपनि व्यवसायिक रुपमा धेरै फर्महरु छैनन् तर नर्सरीमा भने उनी नै जिल्लामा पहिलोपटक व्यवसायिक खेती गर्नेमा पर्दछन् । उनको नर्सरीमा विभिन्न जातका घाँसका विरुवा, फलफूलका विरुवा, टिमुर,किमुसहितका बेर्नाहरु सधैजसो तयारी अवस्थामा हुन्छन् ।

पदमले अहिले जिल्ला तथा जिल्ला बाहिरका विभिन्न समूहमा पुगेर आफूले जानेको सीपका बारेमा जानकारी दिन थालेका छन् । बाख्रापालन किसानलाई व्यवस्थित बनाउन बाख्रापालक किसान महासंघसँग समन्वय गरेर उनले यसलाई संस्थागत बनाउँदै लगेका छन् भने बाख्रापालन किसानहरु ४० जना जुटाएर झिमरुक पशुपंक्षी तथा मत्य सहकारी नै संचालन गरेका छन् ।

कृषि क्षेत्रलाई योजना बनाएर व्यवसायिक रुपमा संचालन नगरेका कारण धेरै ठाउँमा कृषिमा लगानी बालुवामा पानी जस्तै भएकाले अब तीनै तहका सरकारले यो क्षेत्रमा लगानी गर्दा प्रतिफल लिनसक्नेगरी संचालनका योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘मिडियामा बाहिर आएजस्तो कृषि क्षेत्रबाट कमाउने निकै कम छन्, अनुदान लिनका लागि समूह बनाउने र पछि त्यसको कुनै वास्ता नगर्ने बानीको विकास भएको छ’ उनले भने –‘लगानी र मेहनत धेरै छ मुनाफा कम छ, भविश्य छैन, स्थानीय सरकारको कुनै सहयोग पाइएको छैन ।’

आफ्नो उमेरका धेरै साथीहरु विदेशमा गएपनि अब भने उनलाई गाउँमै केही गर्नसक्ने आँट पलाएको छ । ‘लगनशील भएर व्यवसायिक तरिकाले काम गरे विदेश जानुपर्र्दैन, युरोपअमेरिका गएकाले त अलिक कमाउलान् तर अन्य देश जानेले भन्दा मैले यहीँ कमाउन सकेको छु, परिवारसँग बसेको छु, गाउँकै सेवा गरेको छु’ पदमले भने–‘अहिले युवा पिँढीको रोजाई विदेश बनेको छ, तर गाउँमा धेरै गर्नसक्ने कामहरु छन् तर काम गर्ने कोही छैन, त्यसको लागि सरकारले योजना बनाएर जानूपर्दछ ।’

पहाडी जिल्लाका धेरै ठाउँमा बसाईसराईको संख्या बढेपनि उनको गाउँमा भने त्यो समस्या छैन । ‘हाम्रोतिर धेरै बसाईसराईको समस्या नै छैन, विदेश जानेहरुले पनि आएर गाउँमै जग्गा किनेका छन्, यहाँ जग्गा बेच्नेहरु नै निकै कम छन्, गाउँमा विकासका सबै योजना तयार छन्, त्यो कारण पनि कृषिका लागि जग्गा सहजै पाइदैन’ उनले भने– ‘तर अन्य क्षेत्रमा सबै जग्गा बाँझो रहेको समाचार आइरहेका छन् ती क्षेत्र जोगाउन तत्काल योजना बनाउनुपर्दछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *