‘पोयट आइडलमा जाँदा विपश्यना झैं लाग्छ, म त्यहाँ पहिल्यै हुनुपर्ने थियो’ – Nepal Press
नेपाल टक

‘पोयट आइडलमा जाँदा विपश्यना झैं लाग्छ, म त्यहाँ पहिल्यै हुनुपर्ने थियो’

काठमाडौं । विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बासँगै अभिनेत्री केकी अधिकारी अहिले रियालिटी शो ‘द पोएट आइडल’मा जज छिन् । अधिकारीलाई जजको रुपमा आयोजकले सार्वजनिक गर्दा साहित्यिक वृत्तले उनको काव्यिक क्षमतामाथि नै प्रश्न उठायो । कविताको मूल्यांकन गर्न सक्छिन् या सक्दिनन् भनेर संशयसमेत प्रकट गरियो ।

आफूमाथि तमाम प्रश्न उठ्दा पनि मौन बसेकी अधिकारीले अहिले पोएट आइडलको सेटबाटै जवाफ फर्काइरहेकी छन् । उनै केकी अधिकारीसँग जजको भूमिकाका चुनौती, कविता मूल्यांकन गर्दाका अनुभवलगायत विषयमा नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश:

– तपाईंका लागि कविता के हो ?

मैले सबैभन्दा सजिलो गरी आफूलाई अभिव्यक्त गर्ने कम्फर्ट जोन हो कविता । त्यहाँ आफूलाई एकदमै जीवित पाउँछु । सँगै मलाई मनमा लागेका कति धेरै कुरा हुन्छन्, जुन कुरा सिनेमामा पात्रको माध्यमबाट भन्न सकिँदैन । केकी अधिकारी एउटा व्यक्तिले भन्न चाहेको सबै कुरा पात्रमार्फत् भन्न मिल्दैन । पात्रको दायरा सीमित हुन्छ । त्यही भन्न चाहेको कुरा अभिव्यक्त गर्ने थलो हो कविता ।

– जजको भूमिकामा रहँदाको अनुभूति कस्तो छ ?

पहिलो कुरा त एकदमै रोमाञ्चक छ । मान्छेको जीवनमा कति धेरै चिजहरु छुट्दै जान्छन् नि ! त्यही छुटेकामध्ये महत्वपूर्ण चिज कविता रैछ जस्तो महसुस हुन्छ अहिले । पोएट आइडलको सेट जब सुरु हुन्छ, अनि लाग्छ, अहो ! म त यहाँ पहिले नै हुनुपर्ने थियो । नयाँ चिज, नयाँ वातावरण र विचारसँगको सामिप्यता अनि त्यो पनि कविताको शब्दमा ! कस्तो मजा आउँछ । मैले यति इन्जोय गरिरहेकी छु कि विपश्यना गएको जस्तो महसुस हुन्छ ।

– कविताहरु सुन्दै गर्दा गजबको अनुभूति हुने कुरा चाहिँ के हो ?

कविता जति सरल भयो, जति धेरैले बुझ्छ, त्यति बलियो महसुस हुन्छ । कविता सुन्दै गर्दा मभित्र भावना पैदा हुन्छन् । ती भावना कुनै वेला आन्दोलित बनाउन सक्ने खालका हुन्छन् । कुनै वेला आनन्दित बनाउन सक्ने खालका हुन्छन् । यस्तो वेला चाहिँ कविता कस्तो बलियो माध्यम रहेछ, छोटोमा पनि धेरै कुरा भन्न सक्ने कस्तो फराकिलो आकाश रहेछ भन्ने लाग्छ ।

– प्रायः कविहरुले कविता वाचनमा भन्दा टेक्स्टमै पढ्न मजा आउँछन् भन्छन् । तपाईंको अनुभव कस्तो छ ?

कविता त पढ्ने नै हो । कविता पढ्दा जति मजा आउँछ, त्यसले कविताको शक्ति महसुस गराउँछ । कसैले वाचन गरेर सुनाउँदा अलिकति सीमित घेरामा बाँधिइहालिन्छ । त्यसमाथि कार्यक्रमको संरचनामा आएपछि त कलात्मक सेटले पनि अर्को आधा कुरा भनिसकेको हुन्छ । त्यहाँ तपाईंले अरु धेरै कुरा कल्पना गर्न पाउनुहुन्न । यो त कार्यक्रमको संरचना हो । कार्यक्रमको डिजाइन नै यसरी गरिएको छ । तर, मैले इन्जोय गरिरहेकी छु ।

कविता सुन्दै गर्दा मभित्र भावना पैदा हुन्छन् । ती भावना कुनै वेला आन्दोलित बनाउन सक्ने खालका हुन्छन् । कुनै वेला आनन्दित बनाउन सक्ने खालका हुन्छन् । यस्तो वेला चाहिँ कविता कस्तो बलियो माध्यम रहेछ, छोटोमा पनि धेरै कुरा भन्न सक्ने कस्तो फराकिलो आकाश रहेछ भन्ने लाग्छ ।

– पोएट आइडलमा टेक्सन चाहिँ कतिको पढ्न पाइरहनु भएको छ ?

जतिवेला प्रतिस्पर्धी कविहरुको वाचन गर्ने समय हुन्छ, त्यतिवेला नै कविताको टेक्स्ट ल्याइदिएका हुन्छन् । त्यतिवेलै पढ्न पाइन्छ । किनभने अलि अगाडि पढियो भने मान्छे स्वभाव हो, जजमेन्टल हुने खतरा रहन्छ । अलि धेरै जान्न खोज्यौं भने जति पढ्यो, त्यति थाहा हुने त हो ! तर, कार्यक्रमको संरचनाअनुसार कविहरुले वाचन गरिरहेकै समयमा कस्तो भाव उत्पन्न हुन्छ, त्यही भावलाई व्यक्त गर्नुपर्ने हुन्छ । यदि अगाडि नै कविता पढ्ने हो भने प्रतिक्रिया बेग्लै भएर पनि आइदिन सक्छ । एउटा कुरा तपाईंले जे चिज गरिरहनुभएको छ र इन्जोय पनि गरिरहनुभएको छ भने त्यहाँ गलत केही पनि गरिरहनु भएको छैन । मैले इन्जोय गरिरहेकी छु ।

– पोएट आइडलको दोस्रो सिजनको जजको रुपमा घोषणा हुँदा तपाईं र पोएट आइडलमाथि नै धेरै प्रश्न तेर्स्याइयो । केसम्म भनियो भने केकी अधिकारी नायिका हो, पोइट आइडललाई त कवि चाहिने हो । यसलाई कसरी लिनुभयो ?

मैले चाहिँ यी प्रश्नहरुलाई स्वाभाविक रुपमा लिएकी थिएँ । यी प्रश्नहरु एकदमै खुला र प्राकृतिक थिए । उहाँहरुको प्रश्नले मलाई के सम्झायो भने पोएट आइडलप्रति उहाँहरु गम्भीर हुनुहुँदो रहेछ । यो मेरा लागि महत्वपूर्ण भयो ।

म जे क्षेत्रमा जोडिन गइरहेकी छु, त्यस क्षेत्रलाई अगाडिदेखि नै महत्वका साथ हेरिएको रहेछ । फरक तरिकाले सोच्ने हो भने कविताको प्रतियोगिता भएको कार्यक्रममा कविहरु नै भइदिएको भए हुन्थ्यो अथवा कविताको बारेमा ज्ञान भएका, अलंकारहरु थाहा पाएका, धेरै वर्षदेखि योगदान दिनुभएका व्यक्ति हुनुपर्ने हो । मैले यो कुरा आयोजकलाई पनि भनेकी थिएँ ।

सायद अभिनयसम्बन्धी रियालिटी शो थियो भने त्यहाँ हामी नै प्रश्न गर्नेहरु हुन्थ्यौं होला । त्यहाँ किन अभिनयसम्बन्धी जानेका, बुझेका, जीवन नै समर्पण गरेका व्यक्तित्व छैनन् भनेर हामी नै प्रश्न गर्थ्यौं होला ।

त्यसैले यसरी आउने प्रश्नहरुलाई स्वाभाविक रुपमा लिनुपर्छ । आयोजकले अलि फरक कोणबाट हेर्नसक्ने खालको फरक क्षेत्रको मान्छे भए शोको लागि राम्रो हुन्थ्यो, रियालिटी शो जस्तो बनाउन सकिन्थ्यो भनेपछि मैले जज बन्न स्वीकार गरेकी हुँ । दर्शकहरुले प्रश्न गर्न सुरु गर्नुभन्दा पहिला आयोजकलाई प्रश्न गर्ने म नै पहिलो व्यक्ति थिएँ, ‘किन मकहाँ आउनुभयो यो कार्यक्रम लिएर ?’ त्यसैले उठेका प्रश्नहरु एकदमै सही थिए ।

– अनि आयोजकले राखेको जजको प्रस्ताव के आत्मविश्वासले स्वीकार गर्नुभयो ?

जुन आत्मविश्वासका साथ आयोजक आउनुभएको थियो, त्यसैले आँट आयो । अर्को कुरा, मसँग धेरै ज्ञान छैन होला । तर, आयोजकले मलाई जजमा राखेर जुन डाइमेन्सन दिन खोज्नुभएको छ, त्यो मैले दिन सक्छु जस्तो लाग्यो । जे कुरामा पनि सुन्नसक्ने क्षमता पनि हुनुपर्छ । त्यो क्षमतालाई विकास गर्ने कोसिस गरिरहेकी छु । तर, हामी त रियाक्सनका लागि धेरै नै हतार गर्छौं ।

आयोजकलाई कविता श्रवण गरिसकेपछि मीठा शब्दमा प्रतिक्रिया दिनसक्ने खालको जज पनि चाहिएको रहेछ । किनभने यो शो स्टेज पर्फमेन्स जस्तो पनि हो नि ! पर्फमिङ आर्ट जस्तो पनि छ । त्यहाँ कविहरुले कवितामात्रै सुनाउने गर्नुहुन्न, आफूलाई व्यक्त गर्न पर्फम पनि गर्नुहुन्छ । यस हिसाबमा आयोजकले ‘तपाईंले एउटा डाइमेन्सन ल्याउन सक्नुहुन्छ’ भनेपछि म तयार भएकी हुँ ।

यो मेरा लागि नयाँ बाटो पनि थियो । कहिल्यै नहिँडेको बाटो पनि थियो । म अलिअलि भए पनि साहित्यमा रुचि राख्छु । पढ्न मन पर्छ । कहिलेकाहीँ कोर्छु पनि । रुचिको विषय पनि भएकाले यो जिम्मेवारीलाई मैले अँगालें । सिकाइको वातावरण पनि हुन्छ भन्नेमा विश्वस्त थिएँ । मजाको माहोल बन्छ भन्नेमा ढुक्क पनि थिएँ ।

– तपाईंको विशेषज्ञता अभिनयमा हो । कविता त सौख र रुचिको विषय थियो । तर, त्यति धेरै प्रश्न उठेका थिए । त्यहाँ गएर मूल्यांकन पनि गर्नुछ । अंक नै दिनुपर्‍यो । यी कुराहरुलाई लिएर डर थियो कि थिएन ?

यो ठूलो जिम्मेवारी हो भन्ने पहिला नै महसुस गरिसकेकी थिएँ । सजिलो काम होइन भन्ने थाहा थियो । त्यसमा यो यस्तो खालको क्षेत्र थियो, जहाँ मेरो एक्सपर्टिज पनि छैन । त्यो भएकाले अध्ययन गर्नुपर्‍यो ।

फरक तरिकाले सोच्ने हो भने कविताको प्रतियोगिता भएको कार्यक्रममा कविहरु नै भइदिएको भए हुन्थ्यो अथवा कविताको बारेमा ज्ञान भएका, अलंकारहरु थाहा पाएका, धेरै वर्षदेखि योगदान दिनुभएका व्यक्ति हुनुपर्ने हो । मैले यो कुरा आयोजकलाई पनि भनेकी थिएँ ।

यदि प्रश्नहरु नउठेका भए सायद रियालिटी शोको रुपमै मबाट अपेक्षा राखेर प्रस्ताव गरिएको छ भनेरमात्र ध्यान दिन्थें होला । तर, उहाँहरुको प्रश्नले मलाई सचेत गरायो । अनि लाग्यो, यतिले मात्रै पुग्दैन । अध्ययन अझैं चाहिन्छ । कम्तीमा आधारभूत कुराको ज्ञान त चाहिन्छ । त्यसपछि आफूलाई स्वअध्ययनमा पनि समय दिएँ । यो मेरा लागि फाइदाकै विषय भयो ।

तर, मैले डर चाहिँ महसुस गरिनँ । किनभने मभन्दा अगाडि सुरक्षाजी हुनुहुन्थ्यो । उहाँले राम्रो माया पाउनुभएको हो । राम्रो डेलिभरी दिनुभएको हो । अहिले उहाँको व्यस्तताले नभ्याउने भएकाले पनि तपाईंलाई सोचिएको भनेर आयोजकले भनेपछि मैले त्यस्तो ठूलो बोझको रुपमा लिइनँ । एउटा कलाकारको ठाउँमा म पुगेकी थिएँ । सायद त्यो ठाउँमा अर्को कवि नै हुनुहुन्थ्यो भने चाहिँ मैले साँच्चिकै नसकुँला कि भन्थें होला ।

– कतिपय अवस्थामा पोएट आइडलमा धेरै प्रश्न तेर्सिएका छन् । कवितालाई बजारीकरण गरियो, कवितालाई बाजारु बनाइयो, कवितालाई बिक्रीमा राखियो भनेर । यसमा तपाईंको राय के छ ?

मलाई त जसिक्दो हामीले खुम्चाएर राखेको चिजलाई मूलधार जति लिएर आउन सक्यो, त्यति नै राम्रो कुरा हो भन्ने लाग्छ । किनभने साहित्यतर्फ कमै रुचि भएकाहरु थुप्रो हुनुहुन्छ । सबैमा अभिरुचि जम्न सकेको छैन । त्यो हिसाबमा कार्यक्रमले उहाँहरुलाई पनि छुनसक्छ । कार्यक्रमको माध्यमबाट मूलधारमा लान सकियो भने केही हदसम्म रुचि नभएकाहरुमा पनि साहित्यको अभिरुचि जगाउन सकियो । साहित्यप्रति प्रेम जन्माउन सकियो भने यो त सधैंको उपलब्धि हो नि !

मैले कलाकारको रुपमा साहित्य र सिनेमा क्षेत्रबीच जुन ग्याप छ, त्यहाँ सेतुको भूमिका निर्वाह गर्न सकें भने यसलाई मेरो ठूलो उपलब्धिको रुपमा हेर्छु ।

– कविहरुमाथि एक खालको भाष्य छ, उनीहरु पियक्कड हुन्छन्, घरव्यवहार सम्हाल्न नसक्ने, लथालिंग हुन्छन् । तपाईंको चाहिँ कविहरुमाथिको बुझाइ कस्तो छ ?

म कहिल्यै पनि जजमेन्टल हुने खालको व्यक्ति नै होइन । एकदुई उदाहरणको भरमा कुनै कुरालाई सामान्यीकरण गर्नुहुन्न भन्ने मान्छे हो म । कुनै पनि क्षेत्रलाई व्यक्तिवादी भएर सोच्नु नै हुँदैन । भन्नलाई त कति कलाकारलाई पनि एडिक्सन हुन्छ भनिन्छ । संसारभर सेलिब्रेटी भएर त्यहाँबाट निस्कन गाह्रो भएर कोही न कोही कुलतमा लाग्छन् भन्ने खालका कुरा आउँछन् । तर, हामीले त्योभन्दा माथि उठेर हेर्न सक्नुपर्छ ।

पोएट आइडलमा युवा कविहरु ऊर्जाशील हुनुहुन्छ । उहाँहरु नयाँ विचार र भाव लिएर आउनुभएको छ । मजाले कविता प्रस्तुत गर्नसक्ने, एकदमै ठूलो आत्मविश्वास लिएर आउनुभएका कविहरुको अगाडि यस्ता भाष्यलाई केन्द्रमा राख्दा राम्रो प्रभाव पर्दैन । हामीले त उदाहरण सेट गर्दै जानुपर्छ । राम्रो व्यक्ति बन्न खोज्नुपर्छ । जुन पेशामा हुनुहुन्छ, त्यहाँ दक्ष बन्न सक्नुपर्‍यो । हाम्रो एउटामात्रै उद्देश्य यही हो ।

– तपाईं स्वयं भीमनिधि तिवारीको एक कथामा आधारित ‘झिंगे दाउ’को कलाकार । सार्वजनिक बहसहरुमा साहित्य र सिनेमा एक अर्काको परिपूरक भनिए पनि ठूलो दूरी देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

हामीले सिनेमाको माध्यमबाट साहित्यलाई कति नजिकबाट छुन सक्थ्यौं, छोएका छैनौं । सायद अझै पनि हाम्रो रिसर्च नै पुगेको छैन । सँगै स्रोतको पनि ठूलो भूमिका हुन्छ । कृतिमा कुनै कुरालाई जसरी वर्णन गरिएको हुन्छ, त्योअनुसार हामीले सिनेमामा न्याय गर्न सकेका छैनौं ।

कृति पढिसकेपछि पाठकहरु एउटा संसारमा गइसक्नु भएको हुन्छ । त्यो संसारको केही हदसम्म नजिक पुग्नु नै सिनेमाको मुख्य उद्देश्य हुनुपर्थ्यो । नत्र सिनेमा असफल हुन्छ । यसमा अध्ययनको कमी हो । स्रोतको पनि कमी हो । केही कालसम्म अनुसन्धान गर्न मान्छे बाँच्नुपर्‍यो पहिला त !

हामीले सिनेमाको माध्यमबाट साहित्यलाई कति नजिकबाट छुन सक्थ्यौं, छोएका छैनौं । सायद अझै पनि हाम्रो रिसर्च नै पुगेको छैन । सँगै स्रोतको पनि ठूलो भूमिका हुन्छ । कृतिमा कुनै कुरालाई जसरी वर्णन गरिएको हुन्छ, त्योअनुसार हामीले सिनेमामा न्याय गर्न सकेका छैनौं ।

साथै सिनेमा क्षेत्रमा केही हदसम्म प्राविधिक कमजोरी छ, भिजनमा पनि कमजोरी छ । कलाकारको रुपमा हाम्रो पनि कमजोरी होला । हामी समय नै दिन सक्दैनौं । एक वर्ष लगाएर एउटा फिल्म गर्न पायो भने त्यो पात्रमा कति धेरै मेहनत गर्न सकिन्थ्यो होला ! त्यो खालको अवस्था नै छैन हाम्रो ।

– ‘झोला’, ‘सेतो बाघ’, ‘वसन्ती’, ‘मसान’, ‘समर लभ’ जस्ता कृतिहरुमाथि बनेका सिनेमा छन् । यी सिनेमामा कृतिलाई कतिको न्याय गरिएका छन् ?

सकारात्मक रुपमा कोसिस हुनु ठूलो कुरा हो । कठोर भएर भन्नुपर्दा कृतिको एक छेउ पनि पुग्न सकिएको छैन । हाम्रो आफ्नै धेरै प्राविधिक कमजोरी पनि छन् । कृति पढेको वेलाको जस्तो अनुभव चाहिँ सिनेमाले दिन सकेका छैनन् ।

– पोएट आइडलको जज पनि हुनुहुन्छ । कविता पनि लेख्नुहुन्छ । तपाईं पाठक कि कवि ?

म त पाठक हो । श्रवण गर्ने स्रोता हो । पोएट आइडल व्युटीफुल शो हो, त्यस शोको एक सदस्य हुन पाएकोमा एकदमै कृतज्ञ छु ।

– अनुप बराल, विप्लव प्रतीक र उपेन्द्र सुब्बाको बीचमा उभिएर कविताको नम्बरिङ गर्न त गाह्रो महसुस भएको छैन ?

मलाई उहाँहरुले पनि धेरै हदसम्म कविताको बहुआयामिक पक्ष पनि हेर्नु है भनेर सल्लाह, सुझाव दिनुहुन्छ । त्यहाँ मलाई विशेष गरेर इमानदार भएर भाव प्रस्तुत भएको छ कि छैन भन्ने जिम्मेवारी पनि छ । त्यसैले विशेष ध्यान दिनुपर्ने पाटोलाई केन्द्रमा राखेर मार्किङ गर्ने गरेकी छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर