स्ट्रेचरमा निकालिएकी प्रितीलाई ५ मिनेटसम्म कुरेको थियो नेपालले, गाेल खाँदा १० जनामात्रै थिए मैदानमा – Nepal Press

स्ट्रेचरमा निकालिएकी प्रितीलाई ५ मिनेटसम्म कुरेको थियो नेपालले, गाेल खाँदा १० जनामात्रै थिए मैदानमा

काठमाडौं । साउदी अरबमा बिहीबार राति सम्पन्न वेस्ट एसियन फुटबल फेडेरेसन-वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनका लागि सबैभन्दा टाउको दुखाई बनिरहेकी थिइन् मिडफिल्डर प्रिती राई ।
मध्यभागबाट अग्रपंक्तिका लागि कलात्मक ढंगले अवसर सृजना गर्दै उनले जोर्डनमाथि दबाब बढाएकी थिइन् ।

२९औँ मिनेटमा गोल व्यहोरेपछि खेलमा पछाडि परेको जोर्डनलाई पुनरागमन गर्न सजिलो देखिएको थिएन । तर, ५५ औँ मिनेटमा उनै प्रिती भुइँमा पल्टिएर खुट्टा समाउँदै छटपटाएपछि नेपालका लागि राम्रो संकेत देखिएन । फिजियोको सहयोगमा मैदानबाहिर गएर तुरुन्तै फर्किएकी उनी पुन ६८औँ मिनेटमा लडिन् ।

विपक्षी खेलाडीलाई पछाडिबाट ट्याकल गर्दै बल खोस्न खोज्दा उनी हुत्तिँदै लडेकी थिइन् । यसपटक उनी उठ्न सकिनन् । मैदानमै स्ट्रेचर ल्याउनुपर्‍यो । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ उनको ठाउँमा खेलाडी परिवर्तन गर्नुपर्छ कि पर्दैन ? भनेर सोधिरहँदा फिजियोले केही समय कुर्न संकेत गरेकी थिइन् ।

उनलाई मैदान बाहिर लगेर उपचार भइरहेको थियो, ५ मिनेट बितिसक्दा पनि नेपालले उनलाई कुरिरहेको थियो । तर, ७३ औँ मिनेटमा नेपालले गोल व्यहोर्न पुग्यो । जोर्डनका खेलाडीले अफसाइड ट्रयाप बिट गर्दै नेपाललाई जिल्याएका थिए ।

लामो पासमा लेबनानी खेलाडी अफसाइडमा रहेको देखिएपछि नेपाली डिफेन्डरहरू लाइन्स म्यानले झन्डा उठाउने अपेक्षा गर्दै बललाई छाड्न पुगेका थिए । तर, अफसाइडमा रहेकी लेबनानी खेलाडी बलतर्फ लागिनन् बरु पछिबाट गति बढाउँदै दुई खेलाडी नेपाली गोलकिपरसँग वान भर्सेस वान हुन पुगेका थिए ।

नेपालले गोल खाएलगत्तै नेपालले प्रितीको ठाउँमा अर्को खेलाडीलाई पठाएको थियो । प्रतियोगिताकै सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीपछि अनुपस्थितिपछि केही दबाब महसुस गरेको नेपाल प्रिती मैदानमा नभएपछि लगातार आक्रमणहरू झेल्न पुगेको थियो ।

८८औँ मिनेटमा नेपाली डिफेन्डरको गम्भीर गल्तीको फाइदा उठाउँदै जोर्डनले अग्रता लिएको थियो । इन्जुरी समयमा नेपालले पेनाल्टी पाएपछि गीता रानाले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याएकी थिइन् । तर, चौथो प्रहारमा अमृता जैसी चुकेपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली महिला फुटबलको सपना अधुरै रह्यो ।

सेमिफाइनलमा लेबनानलाई हराउँदा साम्बा र प्रितीले गोल गरेका थिए । तर, टोलीका दुई खम्बाहरू निर्णायक बेला नहुँदाको असर नेपाली टोलीमा प्रशस्त देखिन पुग्यो । कप्तानसमेत रहेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले टाइब्रेकरमा ५ वटै प्रहारमा गोल व्यहोर्दा उनको प्रदर्शन स्तरीय देखिएन । उनी टाइब्रेकरका लागि तयार नै नभएको जस्तो देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर