जनप्रतिनिधिकाे सद्बुद्धि आओस् भन्दै युवाहरूले गराए स्वस्ति शान्ति – Nepal Press

जनप्रतिनिधिकाे सद्बुद्धि आओस् भन्दै युवाहरूले गराए स्वस्ति शान्ति

चितवन । पूर्वी चितवनमा पर्ने राप्ती नगरपालिकाको युवाहरुले आज अनौठो कार्यक्रम गरेर यहाँका जनप्रतिनिधिको सद्बुद्धिको कामना गरेका छन् ।

राप्ती नगरपालिका ४ का युवाहरुको संस्था शिवपुरी युवा क्लबका युवाहरुले नगरपालिका परिसरमा स्वस्ती शान्ति, होम तथा लामाहरुबाट पाठ गराएर जनप्रतिनिधिको असल बुद्धिको कामना गरेका हुन् ।

क्लबका सचिव जयाराम बास्तोलाका अनुसार नगरपालिकामा जनप्रतिनिधिको लामो समयदेखिको बेमेलका कारण नागरिकहरुले हैरानी खेपेका छन् ।

त्यसैले सबै राजनीतिक दलमा आवद्ध युवाहरु मिलेर सद्बुद्धिको कामना गर्दै जनप्रतिनिधिबीचको बेमेल समाप्तीको कामना गरेका हुन् । उनीहरुले मेयर, उपमेयर, १३ वटै वडाका अध्यक्षका नाममा पनि स्वस्ती शान्ती गराएका थिए ।

उनीहरुले आज दिउँसो नगरकार्यपालिकाको कार्यालय भन्दा दुई सय मिटर टाढा भण्डारा चोकबाट र्यालीसहित नगरपालिकाको गेटमा पुगि रेखी हालेर होम तथा स्वस्ती पाठ गरेका थिए । त्यसपछि नगरपापलिका भवनमा गएर लामाले पाठ गरेर, पण्डितले शंख घण्ट बजाएर स्वस्ती शान्ती गर्दै नगरकार्यपालिकाको भवनको माथिल्लो तला परिक्रमा गरेका थिए ।

राप्ती नगरपालिकामा एक सातादेखि ६० जनाभन्दा बढी जनप्रतिनि मिलेर नगरप्रमुख, उपप्रमुख र प्रमुख कार्यकारीको कार्यालयमा ताला लगाएका छन् । त्यसअघि उनीहरुले हस्ताक्षर सहित ८ महिनायता नबसेको नगरको कार्यपालिका बैठक बसाउन समेत माग गरेका थिए ।

नगरपालिकामा एकीकृत समाजवादी पार्टीका मेयर, नेपाली काँग्रेसबाट उपमेयर निर्वाचित छन् भने १३ वटा वडाका अधिकांश वडामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । उनीहरु बीचमा पटक पटक विवादहरु छताछुल्ल हुने गरेको छ । यहि कारणले नगरपरिषद् समेत भएको छैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *