मैदानमा गोल रोक्दै, युट्युबमा भ्युज र सब्स्क्राइबर बढाउँदै नेपालकी कप्तान एञ्जिला – Nepal Press

मैदानमा गोल रोक्दै, युट्युबमा भ्युज र सब्स्क्राइबर बढाउँदै नेपालकी कप्तान एञ्जिला

काठमाडौं । साउदी अरबमा जारी वाफ वुमन्स फुटबल च्याम्पियनशिपको सेमिफाइनलमा मंगलबार राति लेबनानमाथि रोमाञ्चक जीत हात पारेपछि नेपाली टोलीका खेलाडीहरु ड्रेसिङ रुममा राहतको सास फेर्दै र खुसियाली साटासाट गर्दै थिए ।

कप्तान एञ्जिला तुम्बापो सुब्बा भने मोबाइल निकालेर यिनै स्मरणीय क्षणहरु क्यामरामा कैद गर्नतर्फ लागिन् । चारैतिर घुम्दै सहकर्मीको जीतको अनुभव सुन्न थालिन् । त्यसलाई काँटछाँट गरेर आफ्नो युट्युब च्यानल एञ्जिला तुम्बापो सुब्बा ह्यासट्याग एटीएस१६ मा हालिन् ।

भिडियो अपलोड भएको एक दिनमा करिब दुई लाख पटक हेरिएको छ । यो भिडियो उक्त च्यानलमा राखिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी पटक हेरिएको भिडियो बनेको छ । यो भिडियोले सस्क्राइबरको संख्या पनि उल्लेख्य बढाएको छ । यो समाचार तयार पार्दासम्म एञ्जिलाका युट्युब सस्क्राइबर १८ हजार ६०० पुगेका छन् ।

सन् २०१७ डिसेम्बर २० मा च्यानल खोलेकी एञ्जिलाले हालसम्म ८४ वटा भिडियो पोस्ट गरेकी छन् । पछिल्ला तीन सातामा हालिएका चार वटा भिडियोमात्र करिब साढे ३ लाख पटक हेरिएको छ ।

पछिल्लो समय युट्युब च्यानल खोल्ने एञ्जिला पहिलो खेलाडी भने होइनन् । क्रिकेटर सोमपाल कामीको आफ्नै युट्युब च्यानलमा ५६ हजार ८०० सस्क्राइबर छन् । अन्य खेलाडीले पनि आफ्नो नाममा युट्युब च्यानल बनाएर भिडियोहरु अपलोड गर्न थालेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर