प्रधानमन्त्री उपस्थित हुने र्‍यालीमा आउन विद्यार्थी-शिक्षकलाई भरतपुर महानगरको उर्दी – Nepal Press

प्रधानमन्त्री उपस्थित हुने र्‍यालीमा आउन विद्यार्थी-शिक्षकलाई भरतपुर महानगरको उर्दी

चितवन । फागुन १८ गते शुक्रबार तामझामसहति उद्घाटन गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ को बिहान हुने र्‍यालीमा महानगरभरीका विद्यालयलाई विद्यार्थी र शिक्षक ल्याउन पत्र काटेको छ ।

भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले पत्र पठाएर नगरपालिका भरिका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९ देखि १२ सम्मका विद्यार्थी र माध्यामिक तहमा पढाउनेलाई र्‍यालीमा सहभागी गराउन सम्बन्धित विद्यालयलाई पत्राचार गरेका हुन् ।

पत्रमा विद्यालय बन्द गराउनु भन्ने शब्द नै नभएपनि माध्यामिक तहका शिक्षक र ९ कक्षामाथिका विद्यार्थीसहित आउनु भन्नुले माध्यामिक तहको पढाइ बन्द गरेर आउनु भनेको बुझिन्छ । जसका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि महानगरले २९ वटै वडाका विभिन्न स्थानमा भेला भएर झाँकी र्‍यालीसहित दिउँसो हुने उद्घाटनमा सहभागी हुन आह्वान गर्नुका साथै तयारी पनि गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार १ बजे नारायणी किनारामा भरतपुर भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महानगरले भ्रमण वर्षलाई भव्य बनाउन भन्दै नारयणी नदी किनाराको बालुवामा दुबो रोप्ने, रंगरोगन गर्ने लगायतका काम गरेर नदी किनार श्रृङ्गार गरेको छ भने निजी संघ संस्थाहरुसँग पनि समन्वय गरेर भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

महानगर भित्रका पर्यटकीय स्थलहरु पहिचान गरी भ्रमण वर्ष सफल बनाउन तयारी गरिएको पत्रकार सम्मेलनमार्फत पनि महानगरले जानकारी गराइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर