भारती मानन्धरको स्वास्थ्यमा सुधार – Nepal Press

भारती मानन्धरको स्वास्थ्यमा सुधार

रुपन्देही । मंगलबार विष सेवनपछि गम्भीर अवस्थामा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको भारती मानन्धरको स्वास्थ्यमा सुधार आएको छ ।

गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले आफ्नो ९ वर्षीय छोरालाई पटक पटक परिवारले भेट्न नदिएको भन्दै विष सेवन गरेको उनी निकटकाले जनाएका छन् । मंगलबार दिउसो १ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीको सक्रियताका अस्पताल पुराइएको हो ।

मंगलबार गम्भीर अवस्थामा अस्पताल पुराइएको भएपनि बुधबार स्वास्थ्यमा धेरै सुधार आएको उनको उपचारमा समन्वय गरेका पत्रकार आशिष मल्लले नेपाल प्रेसलाई बताए । ‘हिजोभन्दा धेरै सुधार भएको छ, आज होसमा आएर चिया पनि पिउनुभयो, आफन्तलाई चिन्न थाल्नुभयो’ उनले भने । घटनाको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

राष्ट्रपतिबाट आममाफी पाएका रिगललाई लामो समय आन्दोलन गरेर पुनः जेल पठाएर चर्चामा आएकी भारती पारिवारिक रुपमा समस्यामा पर्दै आएको जनाउँदै आएकी थिइन् । उनले छोरालाई आफैले राख्नुपर्ने चाहना गर्दै आएको भएपनि चेतनका बुबाआमाले भने नातीलाई आफैले राखेर पढाएका छन् ।

छोरालाई दिउसो खाजा दिन उनी पढ्ने स्कुलमा गएपनि भेट्न नपाएपछि घरमा आएर उनले विष सेवन गरेको सुनिएको उनको विषयमा जानकार रहेका पत्रकार मल्लले जानकारी दिएका छन् ।

मानन्धर परिवारले भारतीको विवाह नेपालगन्जकै निमा शेर्पासँग गरिदिएका थिए । अहिले भारती शेर्पासँगै रहेपनि ९ वर्षको छोरालाई निकै माया गर्दछिन् । स्थानीय क्रिष्टल बोर्डिङमा पढ्ने भारतीका ९ वर्षका छोरालाई भेट्न उनी स्कुलमै पुग्ने गर्दछिन् । तर मंगलबार विद्यालयमा पनि भेट्न नपाएको गुनासो गर्दै फर्केकी थिइन् । चेतन मानन्धरसँग विवाह गरेपनि उनको परिवारले त्यो विवाह स्वीकार गरेको थिएन ।

चेतनको हत्यापछि उनी थप विछिप्त भइन् । उनी दलित भएकै कारण परिवारले राम्रो व्यवहार नगरेको गुनासो पटक पटक गर्दै आएकी थिइन् । पछिल्लो विवाह भएका निमा शेर्पासँग सम्बन्ध राम्रो भएपनि च्तनको घटनापछि मानसिक तनाबमा रहेकाले उनको स्वास्थ्य त्यति राम्रो छैन । उनका श्रीमानले अटोरिक्सा चलाउएर जीविकापार्जन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर