माधव लक्षित ओलीको टिप्पणी- राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कुन बाटोबाट प्रधानमन्त्री ? (भिडिओ) – Nepal Press

माधव लक्षित ओलीको टिप्पणी- राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कुन बाटोबाट प्रधानमन्त्री ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लक्षित गर्दै प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताए । संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भन्दै ओलीले प्रश्न गरेका छन् ।

उनले भने, ‘कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ- म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरू हो हो भनेर ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ-म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन ।’

आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने ओलीले दोहोर्‍याए ।

सरकारको असफलताले देश, राजनीति र अर्थतन्त्र असफलतातिर गएको र समाज अराजक बनेको उनको जिकिर छ ।

उनले थपे, ‘जनता कतै उत्साहित हुने ठाउँ नपाएर, मन अड्याउने ठाउँ नपाएर निराशामा छन । यस अवस्थाको फाइदा लिएर विभिन्न प्रकारका प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर केही सडकमै उपद्रव मच्याउन निस्केका छन । एकखालको परीक्षण गरिरहेका छन उनीहरु यतिबेला । यस खालको स्थिति छ । र, त्यसबाट प्रयोगात्मक ढंगले केही शक्तिहरु लोकतन्त्र विरुद्ध, लोकतान्त्रिक गणतन्त्रविरुद्ध केही शक्तिहरु यही मौका हो कि आयो कि पालो भनेर कस्सिएका छन । देशमा ग्रहण लागेको होला कहिले कहिले । तर नेकपा एमाले छँदाछँदै यस देशको सार्वभौमसत्तालाई, स्वाधीनतालाई, स्वतन्त्रतालाई, भौगोलिक अखण्डतालाई कसैले पनि तलमाथि गर्न सक्नैछैन । किनभने यस देशमा नेकपा एमाले छ । यस देशको भविष्य कसैले पनि अन्धकार बनाउन सक्नेछैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर