ईपीजी प्रतिवेदन सहमतिमा बुझ्ने अवस्था नभए हामी आफ्नो निर्णय गर्छौं : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

ईपीजी प्रतिवेदन सहमतिमा बुझ्ने अवस्था नभए हामी आफ्नो निर्णय गर्छौं : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको बताए ।

उनले दुवै देशको सहमतीमा प्रतिवेदन बुझ्ने अवस्था नभए नेपालले आफ्नो निर्णय गर्ने बताए । त्यस्तै, प्रधानमन्त्री दाहालले गोर्खा भर्तीको समस्या समाधानका लागि ब्रिटिश सरकारसँग कुराकानी भइरहेको बताउनु भयो । उहाँले समस्या समाधानको अन्तिम चरणमा रहेको पनि बताए ।

‘दुवै देशले सहमतीबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुवै सरकारले एकैचोटी सहमति बाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिराखेको जानकारी गराउन चाहन्छु । यदी त्यो हुनै सकेन भने के गर्ने भन्ने बारेमा माननीय सदस्यहरुले भनेको जस्तो, नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ भन्ने मलाई पनि लागेको छ । लामो समयदेखि नेपाली गोरखाहरुले आन्दोलन गरिराखेका छन्’, उनले भने, ‘गोर्खाली प्रतिनिधि र ब्रिटिश सरकारका बीचमा वार्ता र संवाद पनि भइराखेको छ र नेपाल सरकार र ब्रिटिश सरकारका बीचमा द्विपक्षिय सम्झौताको सन्दर्भ र त्रिपक्षिय सम्झौताको सन्दर्भमा कुराकानी भइपनि राखेको छ । केही दिन अगाडी मात्रै ब्रिटिशबाट आएका एकजना माननीय मन्त्रीले यो समस्या समाधानको अन्तिम चरणमा छ भनेर भन्नुभएको छ र हामीले जतिसके छिटो यो समस्याको समाधान हुनुप¥यो भनेका छौँ ।’

गोर्खा भर्तीको समस्यालाई छिटो समाधान गर्नका लागि नेपाल सरकारले ब्रिटिश सरकारलाई आग्रह गरेको उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *