राष्ट्रियसभा अध्यक्ष नछाड्ने माओवादीको अडानपछि कांग्रेसको प्रतिक्रिया- त्यो अन्तिम निर्णय होइन – Nepal Press

राष्ट्रियसभा अध्यक्ष नछाड्ने माओवादीको अडानपछि कांग्रेसको प्रतिक्रिया- त्यो अन्तिम निर्णय होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने निर्णय लिएपछि नेपाली कांग्रेस झस्किएको छ । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको चर्चा छ ।

तर, अध्यक्ष छाड्न नहुने भन्दै बैठकमा नेताहरुले चर्को दबाब बढाएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै सहमति नभएको प्रष्टीकरण दिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरुले अध्यक्षलाई भन्नुभएको छ । नेताहरुको दबाबपछि उहाँले सहमति भएको छैन भन्नुभयो । त्यसो त भएको सहमतिमा पनि कांग्रेसबाट हामीले विगतमा धोका खाने गरेका छौं । त्यसैले हामीले नछाड्ने अडान लिएका हौं ।’

बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि राष्ट्रियसभाको अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय भएको बताए । उनले अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नपर्नेसमेत बताए ।

माओवादीको निर्णयपछि कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले माओवादीले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने भनेर निर्णय गर्नु स्वाभाविक भएको बताए ।

उनले भने, ‘त्यही निर्णय अन्तिम होइन । त्यो एक दलको निर्णय हो । अब गठबन्धनको निर्णय के हुन्छ भन्नेमा भरपर्छ । त्यसैले अहिले माओवादी र कांग्रेसले एक्लाएक्लै गरेको निर्णयले गठबन्धनमा प्रभाव पार्दैन ।’

उनले अब कांग्रेसले चाँडै नै कार्यसम्पादन वा पदाधिकारीको बैठक बसेर कांग्रेसको तर्फबाट निर्णय लिने सुनाए ।

प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘अहिले नै कांग्रेसको उम्मेदवारलाई मान्ने निर्णय लिन उहाँहरुलाई पनि हतारो हुने भएकाले आफ्नो उम्मेदवार उठाउने कुरा गर्नुभएको हो । कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउन प्रयत्न गर्ने र उहाँहरुले पनि गर्नुहुन्छ । तर, गठबन्धनको साझा उम्मेदवार नै हुन्छ ।’

राष्ट्रियसभाको अध्यक्षका कारणले गठबन्धन नै फेरिने तहमा नपुग्ने उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर