कांग्रेस महासमितिको ‘साइड इफेक्ट’ नेविसंघमा, वहिष्कारपछि कुन नेताको के स्वार्थ ? – Nepal Press

कांग्रेस महासमितिको ‘साइड इफेक्ट’ नेविसंघमा, वहिष्कारपछि कुन नेताको के स्वार्थ ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको ‘साइड इफेक्ट’ नेपाल विद्यार्थी संघमा देखिएको छ । एक दशकदेखि नियमित महाधिवेशन गर्न नसक्दा तदर्थवादमा चल्दै आएको नेविसंघमा कांग्रेस महासमिति बैठकको ‘साइड इफेक्ट’ का कारण केन्द्रीय समितिको बैठकका विषयमा समेत विवाद भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापननिकट संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका विद्यार्थी नेताहरूले मंगलबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक वहिष्कार गरे । इतर पक्षका विद्यार्थी नेताले अलग्गै भेला र पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको बैठक वहिष्कार गरेका हुन् ।

केही जिल्लामा सभापति चयन र अध्यक्ष दुजाङ शेर्पाले एकलौटी गरेको आरोप इतर समूहले लगाउँदै आएको थियो । विवाद भएपछि इतर समूहका केन्द्रीय सदस्यले मंगलबार सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझेपछि देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई फोन गरी विवाद मिलाएर मात्रै बैठक गर्न निर्देशन दिएका थिए । तर, पूर्वनिर्धारित तालिकाअनुसार प्रज्ञा भवनमा कमलादीमा अध्यक्ष शेर्पाले बैठकको उद्घाटन गराए ।

नेपाल विद्यार्थी संघका एक पूर्वमहामन्त्रीले नेपाल विद्यार्थी संघमा पार्टीमा देखिएको गुटको छायाले काम गरेको बताए । उनले महासमिति बैठकमा देखिएको ध्रुविकरणलाई नेपाल विद्यार्थी संघमार्फत नेताहरूले मुखरित गर्न लागेका बताए ।

उनले भने, ‘पार्टीको महासमितिमा देखिएको ध्रुवीकरण नेताहरूले नेपाल विद्यार्थी संघमार्फत मुखरित गरेका छन् । विगतमा पनि नेपाल विद्यार्थी संघलाई नेताहरूले यसैगरि प्रयोग गर्थे । नेतृत्वले एक-अर्कालाई दबाबमा राख्नका लागि नेपाल विद्यार्थी संघलाई प्रयो गरेका छन् ।’

शेर्पाले असारमा महाधिवेशन गर्ने कार्यतालिका महासमितिको बैठकमा पेश गरेका थिए । बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुने भनिएको थियो । तर, शेर्पाले बोलाएको केन्द्रीय समितिको बैठक उद्घाटन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले गरे । पूर्वअध्यक्ष मध्ये धेरै केन्द्रीय सदस्य भएपनि नैनसिंह महर मात्र उपस्थित थिए ।

महासमितिको बैठकमा महामन्त्री गगन थापाको विपक्षमा सभापति देउवा मात्र होइन अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि देखिए । सभापति देउवानिकट रहेका नेपाल विद्यार्थी संघका एक पूर्वपदाधिकारीका अनुसार नेपाल विद्यार्थी संघमा अहिले देखिएको विवाद सभापति र महामन्त्रीका बीचमा मात्र नभएर दुई महामन्त्रीका बीचको द्धन्दको पनि उपज हो ।

निर्वाचनपूर्व गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा दुई महामन्त्रीमा फरक फरक प्रस्ताव महासमिति बैठकमा पेश भएका थिए ।

ती पूर्वपदाधिकारीले भने, ‘नेविसंघ केन्द्रीय समितिको बैठकको उद्घाटन महामन्त्री शर्माले गर्ने भएपछि महामन्त्री थापाले शर्मालाई काउन्टर दिनका लागि र सभापति देउवालाई दबाबमा राख्नका लागि नेविसंघमा रडाको मच्चाएका हुन् । यो महासमिति बैठकको साइड इफेक्ट हो ।’

मुख्यगरी अध्यक्ष शेर्पाले बारा, सुनसरी, दोलखा, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासीसहितका जिल्लामा अध्यक्ष चयन गर्दा एकलौटी गरेको आरोप इतर पक्षले लगाएको छ ।

सभापति देउवाले गत साउनमा ७१० सदस्यीय तदर्थ समिति गठन गरेका थिए । तदर्थ समितिका अध्यक्ष शेर्पालाई छिटो छिटो १२ औं महाधिवेशन गर्ने जिम्मा शेर्पालाई दिइएको छ । संगठन विस्तारसहितका कामका लागि भन्दै बोलाइएको संघको केन्द्रीय समितिको बैठक आजपनि बस्नेछ ।

दुजाङ शेर्पाको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि पहिलो पटक मंगलबार नेपाल प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठक आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा दिउँसो १ बजेदेखि सुरू हुने बताइएको छ । संस्थापनइतर समूहका नेविसंघ केन्द्रीय सदस्यहरूले बहिष्कार गरीरहेका छन् । बैठकमा छलफलका लागि १२ औं महाधिवेशन मिति तय र कार्यतालिकासहित १५ एजेन्डा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर