लुम्बिनी प्रादेशिक अस्पतालको ११४ वर्षे यात्रा – Nepal Press

लुम्बिनी प्रादेशिक अस्पतालको ११४ वर्षे यात्रा

पश्चिम क्षेत्रकै विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने प्रतिवद्धता

रुपन्देही । ११४ वर्ष पुगेको पश्चिम क्षेत्रको पुरानो लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउने प्रतिवद्धता गरिएको छ । तत्कालीन राणाप्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवल फूलवारीपार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो ।

वि.स.१९९८ सालमा रक्तसंचार गृह रहेको स्थान हुँदै बुटवल उपमहानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा चिकित्सक (विशेषज्ञं मेडिकल अधिकृत) १२७ जना, नर्सिङ्ग कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आई टी) २८ जना, कार्यालय सहयोगी÷सरसफाईकर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

मंगलबार आयोजना गरिएको वार्षिकउत्सव समारोहमा सरोकारवालाले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउने प्रतिवद्धता गरेका हुन् । लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्नसक्ने अस्पतालको रुपमा बिकास गरिने प्रतिवद्धता जनाएका छन् । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उनले निर्माण कम्पनीबाट प्रतिवद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गरे ।

मंगलबारको मूल समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडि बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको उल्लेख गरे । ‘हाम्रा आवश्यकताहरु धेरै छन्, यसको गुणस्तर वृद्धि गरेर जान सकेनौं, जनशक्ति र उपकरण दिन सक्दैनौं भने जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन सक्दैनौं’–मन्त्री खनालले भने–‘आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले पहल गर्छ । अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन दिइने छैन ।’

मन्त्री खनालले नेपाली मात्र नभई विदेशीहरु समेत उपचार गर्न आउने थलोको रुपमा अस्पताललाई विकास गरिने बताए । मंगलबारै अस्पतालमा क्याथल्यावको उद्घाटन उनले गरे । प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बरालले अस्पतालको विकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको बताउँदै विगतका प्रतिवद्धता सरकारले पालना गर्नुपर्ने सुझाए ।

अस्पतालको नियमित आर्थिक स्रोतको रुपमा रहेको व्यवसायिक सटरहरु भत्काएर गुरुयोजना अनुसार काम अघि बढेको अवस्थामा त्यसबापतको शोधभर्ना प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आफू मन्त्री हुँदासम्म अस्पतालले शोधभर्ना बापत पाउनुपर्ने वार्षिक ६ करोड आर्थिक अनुदान उपलब्ध गराउँदै आएको भएपनि हाल आएर उक्त रकम रोकिनु गलत भएको उनले उल्लेख गरे । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीलगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्ने विषयमा सचेत गराए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अस्पतालप्रति जनताको चासो, भरोसा र आकर्षण बढी रहेका कारण सोही अनुसार गुनासो र प्रतिक्रियाहरु आउनु स्वभाविक भएको उल्लेख गर्दै सकेसम्म गुनासो नआउनेगरी सेवा प्रवाह गरिने बताए । अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको उनले बताए ।

१५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना र अनलाइन टिकटको तयारी भएको मेसु थापाले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *