संघीय संसदको ओझ र गरिमा घटेको छ : पूर्वसभामुख सापकोटा – Nepal Press

संघीय संसदको ओझ र गरिमा घटेको छ : पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताए । उनले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

उनले संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भएपनि संसदको त्यो प्रकारको गाम्भियर्ता कायम हुन नसकेको बताए ।

उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्ने बताए । उनले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पारे ।

उनले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए । विचारको शुन्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ छ ।

पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताए । उनले त्यसप्रकारको साजिसका बिरुद्धमा अभियान छेड्नुपर्ने बताए ।

उनले देशमा जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने गलत भाष्य सिर्जना गरेर लोकप्रियतावाद र अराजकतावादतिर लान खोजिएको बताए । उनले गणतन्त्रको नेतृत्वको विरुद्धमा अफवाह फैलाइएको पनि बताए ।

उनले वर्तमान परिवर्तनहरु र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

यस्तो छ सापकोटा भनाइः

अहिले विचारको शुन्यता छ । विचारको रिक्तता छ । त्यसै भएर जताजतै अराजकता छ । संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसदको । संसद त हाम्रो धमनी हो नि । हाम्रो आत्मा हो नि । सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि । संसद आफैँमा सार्वभौम सत्ता सम्पन्न हो । संघीय संसद कति माथि छ ।

त्यहाँ त्यही ओझ र गरिमा कायम छ ? छैन । त्यहाँ चयन गर्ने शब्द, त्यहाँका वाक्य गठनहरु, त्यहाँको स्तर, त्यहाँको ओझ, गरिमा, त्यहाँ बोल्ने कुरा संसारको कुनै अदालतमा मुद्दा लाग्दैन । भनेपछि त्यो विशेषाधिकारले स्वतः के माग गर्छ भने त्यही स्तरको गाम्भियर्ता, त्यही स्तरको ओझ, गरिमा कायम हुनुपर्ने । तर त्यो भइराखेको छैन ।

म संसदको खास–खास नेतृत्व र त्यहाँका सांसदहरुलाई मात्रै दोष दिन्न । किन त्यस्तो भइरहेको छ भने, मेरो निष्कर्ष के छ भने विचारको विकास भएको छैन । विचारको रिक्तता छ । विचारको शुन्यता छ । विचारको विकास नभइकन लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न सक्दैनौँ । पार्टी–पार्टीमा पनि लोकतन्त्र असाध्यै कमजोर छ । पार्टी, संसदमा लोकतन्त्र कमजोर हुनका पछाडी पनि, सिंगो राष्ट्रमा लोकतन्त्र कमजोर हुनका पछाडी पनि विचारको शुन्यता हो ।

अहिले यो संविधानका विरुद्धमा, यो तीनवटा आधारस्तम्भ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता । यि तीनवटा पिल्लरहरु भत्काउने एउटा ठूलो साजिस भइरहेको छ । त्यसकारण हामीले यसका बिरुद्धमा सचेत ढंगले अभियान छेड्नै पर्छ । आज यस्तो भाष्य निर्माण गर्न खोजिएको छ कि जनताले दर्शन चाहेका छैनन् । जनताले विचार चाहेका छैनन् । जनताले सिद्धान्त चाहेका छैनन् । भनेर प्रियतावाद यति धेरै फैलाइएको छ ।

एकातिर प्रियतावाद छ । अर्कातिर अराजकतावाद छ । यो प्रियतावाद र अराजकतावादलाई छ तर सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा यो अभिशाप पनि हुनसक्छ । सामाजिक सञ्जाल वरदान पनि हो । अहिले एउटा सडकको नागरिकले राष्ट्रपति, प्रधानमन्त्रीसम्मको आलोचना गर्नसक्छ यो सामान्य कुरा होइन । यो गणतन्त्रले नै दिएको सबभन्दा ठूलो वरदान हो ।

तर अभिशाप कहाँनिर छ भने अहिले छिनभरमा नकारात्मक कुराहरु गणतन्त्रको नेतृत्वको बिरुद्ध कहाँ के पाइन्छ भनेर यतिधेरै अफवाह फैलाइएको छ । यसलाई क्रस गर्नका लागि हामीले यस्तो जनमत बनाउनुपर्नेछ ।


प्रतिक्रिया

One thought on “संघीय संसदको ओझ र गरिमा घटेको छ : पूर्वसभामुख सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर