धितोपत्र बोर्ड अध्यक्षको आवेदन आह्वान गर्ने बाटो खुल्यो, क-कसले दिन पाउँछन् दर्खास्त ? – Nepal Press

धितोपत्र बोर्ड अध्यक्षको आवेदन आह्वान गर्ने बाटो खुल्यो, क-कसले दिन पाउँछन् दर्खास्त ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदको लागि नयाँ आवेदन खुला गर्न अर्थ मन्त्रालयले कार्यविधि बनाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना बढेको छ ।

बोर्डको अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधि बनाएपछि मात्र सो पदका लागि आवेदन खुला गर्न पाइने व्यवस्था छ । अब १५ दिनको म्याद दिएर राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी दर्खास्त आह्वान हुनेछ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको प्रतिष्ठित व्यक्तिले अध्यक्षमा आवेदन दिन पाउनेछन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

समितिले आवेदन खुला गरेपछि मात्रै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । प्राप्त आवेदनबाट समितिले कम्तीमा ३ जनाको नाम छनोट गरी अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ । त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ३ मध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

यदि तीन जनाभन्दा कम आवेदन परेको अवस्थामा भने पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत राखी थप आवेदनको लागि सात दिनको म्याद दिई पुनः दर्खास्त आह्वान हुनेछ । नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सिफारिस समितिको सचिवालयको रूपमा काम गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर