गीत-संगीतको क्षेत्रमा आचार्यको योगदानले लामो समयसम्म उत्प्रेरणा दिनेछ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

गीत-संगीतको क्षेत्रमा आचार्यको योगदानले लामो समयसम्म उत्प्रेरणा दिनेछ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।

आज नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जली अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-संगीत क्षेत्रमै छन् ।

१९९९ मा धनकुटामा जन्मिएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका छन् । नेपाली सुगम संगीतमा उनको महत्वपूर्ण योगदान छ ।

तस्बिर : गाैरव पाैडेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर