साउनयता विद्युत वितरणतर्फ ९ सबस्टेसन सञ्चालनमा – Nepal Press

साउनयता विद्युत वितरणतर्फ ९ सबस्टेसन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको साउनयता विद्युत वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा ल्याइएकोका सबस्टेसनबाट निर्माण क्षेत्रको विद्युत आपूर्तिमा सुधार र चुहावट पनि घटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत उपलब्ध गराउन देशभरि वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रुपमा चलिरहेको बताए ।

‘विद्युत नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रुपमा गरिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरु तथा औद्योगिक क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५० को समयसीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरु चरणबद्ध रुपमा निर्माण अगाडि बढाइसकेका छौं ।’

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत आपूर्तिका लागि क्षतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत देशभर २५ नयाँ सबस्टेसन निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु, ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरुसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत आपूर्तिका लागि लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर