लिग-२ शृङ्खला सोचेजस्तो भएन, हार स्वीकार्न पनि हिम्मत चाहिन्छ : कप्तान पौडेल – Nepal Press

लिग-२ शृङ्खला सोचेजस्तो भएन, हार स्वीकार्न पनि हिम्मत चाहिन्छ : कप्तान पौडेल

प्रशिक्षक देसाईँ भन्छन्- खेलाडीले बाहिरको हल्लाबाट बच्नुपर्छ

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले भर्खरै सकिएको विश्वकप लिग २ को पहिलो शृङ्खला नेपालका लागि सोचेजस्तो हुन नसकेको स्वीकारोक्ति गरेका छन् । एकदिवसीयमा भएका गल्तीहरू सच्याएर अब टी–२० मा फोकस्ड हुने उनले बताए ।

नेपालले आजबाट नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० शृङ्खला खेल्दैछ । त्यसको पूर्वसन्ध्यानमा नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान पौडेल र प्रशिक्षक मोन्टी देसाईँको भिडियो सन्देश सार्वजनिक गरेको हो ।

भिडिओमा पौडेल भन्छन्, ‘ओडीआइमा जेजस्ता गल्तीहरू भए, त्यसलाई सच्याएर टी-२० मा राम्रो क्रिकेट खेल्नेछौँ । एउटा टीमको रूपमा हाम्रो विश्वास र भरोसा अहिले पनि कायम छ । टीमको वातावरण पनि सकारात्मक रहेको छ । यसलाई लिएर म एकदम खुशी छु ।’

हारका बाबजुद टिमका सबै जना सकारात्मक रहेको उनको भनाइ छ । फ्यानहरू निराश भए पनि खेलको सुन्दरता नै जित र हार रहेको पौडेलले बताउँछन् ।

‘खेलमा जित र हार भइरहेको हुन्छ । मलाई फिल हुन्छ कि खेलको सुन्दरता नै यही हो । हार स्वीकार गर्न पनि ठूलो हिम्मत चाहिन्छ । खेलाडीका रूपमा हामीले यो कुराहरू सिकेका छौँ । जित्दा मात्र रमाउने होइन हामीले असफलतालाई पनि स्वीकार्न सक्नुपर्छ ।

पौडेलले दर्शकको निरन्तर समर्थनका लागि आभार प्रकट गरेका छन् । कुनै पनि एसोसिएट्स राष्ट्रमा नेपालमाजस्तो समर्थन नपाइने उनी बताउँछन् ।

‘तपाईँहरूले आएर समर्थन गर्नुभएकोमा मलगायत सिंगो टीमका तर्फबाट हार्दिक धन्यवाद । आउँदो खेलमा हामी सबैले आफ्नो पूरा प्रयास लगाउनेछौँ । आफ्नो देश र फ्यानका लागि खेल्नेछौँ । सबैलाई गौरवान्वित गराउनेछौँ ।’

प्रशिक्षक देसाईँले सबैभन्दा ठूलो कुरा भरोसा भएको बताएका छन् । बाहिरको हल्लाबाट खेलाडीहरू टाढा बस्नुपर्ने उनको सुझाव छ । उनले मैदानमा ठूलो संख्यामा दर्शकहरू आएर टीमको हौसला बढाउने आशा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर