२२ वर्षदेखि विद्यालयको जग्गा प्रतिष्ठितहरूकै कब्जामा, १ करोड बढी नतिरेपछि डोजर चलाउने तयारी – Nepal Press

२२ वर्षदेखि विद्यालयको जग्गा प्रतिष्ठितहरूकै कब्जामा, १ करोड बढी नतिरेपछि डोजर चलाउने तयारी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको करिब २ बिघा जग्गा २२ वर्ष प्रतिष्ठितहरूले कब्जा गरिरहेका छन् ।

विद्यालयको नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ र २५१ को जग्गामा व्यापारिक प्रयोजनका लागी भन्दै २०५८ सालदेखि विभिन्न मितिमा विद्यालयसँग सम्झौता गरेका व्यापारी शिक्षक राजनैतिक दलका केही व्यक्तिहरूले अहिलेसम्म न भाडा दिएका छन् नत जग्गा फिर्ता गरेका छन् ।

२०५५ सालमा नाप जाँच भएको विद्यालयको जग्गा भाडामा लिई हाल १ सय ६६ जना बसोबास गरिरहेका छन् । त्यस मध्ये १ सय ११ जनाको अभिलेख विद्यालय सँग सुरक्षित रहेको छ । सम्झौता पत्रमा हस्ताक्षर गरेकाहरूले समेत हालसम्म भाडा रकम विद्यालयलाई बुझाएका छैनन् बरु सो जग्गा आफ्नै भएको भन्दै भाडा सङ्कलनमा अवरोध गरिरहेका छन् ।

हाल घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका लक्ष्मी प्रसाद भट्टराईले २०६६ साल माघ २७ गते विद्यालयसँग जग्गा भाडाको सम्झौता गरेका थिए । यसै विद्यालयका पूर्व प्रधानाध्यापक खेमराज जोशी र होमकान्त आचार्यले समेत जग्गा भाडामा लिएको विद्यालयको अभिलेखले जनाएको छ । जोशीले २०५८ माघ ३० गते र आचार्यले २०५८ माघ २५ गते भाडाको सम्झौता गरेका थिए । तर उनीहरूले हाल सो जग्गा अन्यलाई बिक्री गरिसकेको श्रोतको दाबी छ ।

विद्यालयको जग्गा भाडा सम्झौता गर्नेमा स्थानीय तिलक प्रसाद भट्टराईले २०५८ साल माघ २५ मा, मानबहादुर मल्लले २०६३ माघ २८ गते, शिवप्रसाद सापकोटाले २०६३ माग २८ गते, स्थानीय हिमाल ज्ञवालीले २०६३ माघ २१ गते विद्यालयसँग सम्झौता गरेका थिए । उनीहरूसहित १ सय ११ जनाको अभिलेख विद्यालयमा सुरक्षित छ । घोडाघोडी क्षेत्रकै प्रभुत्व राख्ने व्यक्तिहरूले विद्यालयको जग्गामा रजगज चलाई रहेको विद्यालयको भनाई छ ।

‘यो ठाउँका लागि महत्त्वपूर्ण योगदान गरेका, ठाउँका लागि आवश्यक र प्रभावशाली व्यक्तिहरूले नै विद्यालयको जग्गा कब्जा गरेका छन् । अनि कसरी बन्छ ठाउँ ?’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले भने ।

रोकियो विशेष विद्यालयको काम

फरक क्षमता भएका विद्यार्थीहरूका लागि छुट्टै सुविधा सम्पन्न विद्यालय स्थापना गर्ने सरकारको नीति अनुसार सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय निर्माण तथा सञ्चालनका लागि २०७५ सालमा घोडाघोडी छनौट भई योजना आएको थियो ।

स्थानीय डोडानदी किनारको जमिन देखाउँदै तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलबाट शिलान्यासको कर्मकाण्ड पुरा गरे पनि अन्ततः त्यो ठाउँ भवन निर्माण लागी उपयुक्त भएन । विद्यालयका अनुसार सो भवन निर्माणका लागी २०७५ सालमै करिब एक करोड रकम आएको थियो ।

भवन निर्माणका लागि नदी किनारको जग्गा उपयुक्त नहुने र विद्यालयको आफ्नो जग्गा अरूको कब्जामा रहेपछि हालसम्म पनि विशेष विद्यालयको काम अघि बढ्न सकेको छैन । वर्तमान व्यवस्थापन समितिले सो भवन निर्माण गर्न स्थानीयको कब्जामा रहेको कित्ता ९७ र २५१ नम्बरको आफ्नै जग्गा खाली गराउने अभियान थालेको छ । तर सरोकारवाला निकाय र व्यक्तिहरूले यस्तै असहयोग गर्ने हो भने जग्गा खाली गर्ने काम विद्यालयलाई फलामको चिउरा पचाउनु सरह हुने देखिएको छ ।

जग्गा खाली गराउने तयारी

विगत २२ वर्षदेखि प्रतिष्ठित व्यक्तिहरूबाटै कब्जामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा खाली गराउने तयारी गरिएको छ । यसअघि ३५ दिनको सूचना सार्वजनिक गरेको विद्यालय प्रशासनले सोमबार अर्को एक साताको लागि सूचना जारी गरिएको छ । एक सातामा पनि जग्गा खाली नगरे बल प्रयोग गरेर खाली गरिने सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

निमित्त प्रधानाध्यापक राम प्रसाद गौतमले जारी गरेको सूचनामा २१ गते सम्म जग्गा खाली गरिदिन र त्यस बेला सम्म जग्गा खालि नभए बल प्रयोग गरिने जानकारी गराइएको छ ।

२२ वर्ष देखि यहाँ बसेका प्रतिष्ठित व्यक्तिहरूबाटै १ करोड ३७ लाख बढी रकम उठान बाँकी रहेको जनाएको छ । २०८० मङ्सिर मसान्त सम्मको जग्गा भाडाबाट उठ्न बाँकी रकम जम्मा १ करोड ३७ लाख ९० हजार १ सय १८ रहेको कुरा खुल्न आएको छ । कतिपयहरूले विद्यालय सँगको सम्झौता अनुसार मासिक भाडा तिर्दै आएका छन् भने केहीले विगत २२ वर्षदेखि भाडा समेत दिएका छैनन् ।

२०५८ साल देखि विभिन्न मितिमा विद्यालय सँग सम्झौतामा मासिक भाडा तिर्ने गरेर जग्गा लिएका उनीहरूले भाडा दिन समेत आनाकानी गर्दै आएका छन् । सम्झौता पत्रमा हस्ताक्षर गरेकाहरूले समेत हालसम्म भाडा रकम विद्यालयलाई बुझाएका छैनन् बरु सो जग्गा आफ्नै भएको भन्दै भाडा सङ्कलनमा अवरोध गरिरहेका छन् ।

‘हामीले विद्यालयको जग्गा खाली गराउने सूचना जारी गरिसकेका छौँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालले भने, ‘सबैमा विद्यालयको सूचना अनुसार जग्गा खालि गरेर सहयोग गरिदिन अनुरोध गरिएको छ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विद्यालय खालि गर्ने विषयमा सुरक्षा माग गरिए सुरक्षा दिने बताए । ‘हामीले खालि गर्ने भन्ने होइन उहाँहरूले सरकारी वा सामुदायीक जग्गा खालि गराउँदा सुरक्षा माग गर्नु भयो भने हामी सुरक्षा व्यवस्था गर्छौ ’ प्रजिअ मिश्रले भने ।

कसको कति छ तिर्न ?

राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा भाडामा बसेर सबै भन्दा बढी भाडा नतिर्नेमा शान्ता रिजालको नाम रहेको छ । उनले विद्यालयलाई करिब ६ लाख ६१ हजार ७ सय ३५ रुपैयाँ भाडा बुझाउन बाँकी रहेको छ । विद्यालयको दिएको विवरण अनुसार त्यस पछि जियालाल आचार्यले विद्यालयलाई करिब ५ लाख ७४ हजार २ सय ५२ रुपैयाँ भाडा तिर्न बाँकी रहेको छ ।

त्यस्तै मिरा ज्ञवालीले ४ लाख ८७ हजार २ सय २५, शिव राज सापकोटाले ४ लाख ७ हजार ९ सय ७५, रमेश ऐरले ३ लाख ८ हजार ५ सय ६२, प्रदीप सुनारले ३ लाख ६ हजार, यम लाल अधिकारीले २ लाख ८० हजार २ सय ५०, गणेश भट्टराईले २ लाख ७७ हजार २६, डी।एस फर्निचरले २ लाख २१ हजार, लक्ष्मी भट्टराई २ लाख ११ हजार ६ सय र राजेन्द्र अधिकारीले २ लाख ७ हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको विद्यालयको विवरणमा रहेको छ ।

विद्यालयले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी मल्लले १ लाख ७७ हजार १ सय ७८, सुप्रिया ग्लास हाउसले १ लाख ७४ हजार ३ सय ७५, सागर अधिकारीले १ लाख ७३ हजार ६ सय ९, हिरा बुढाले १ लाख ७३ हजार ८ सय १२, नपुर झाले १ लाख ७१ हजार ४५ र टेकेन्द्र सापकोटाले १ लाख ७० हजार ३ सय ४० रुपैयाँ भाडा तिर्न बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर