अम्बर जन्मेको दिन अस्ताए भक्तराज, नारायण गोपालसँग थियो अर्को दुखद संयोग – Nepal Press

अम्बर जन्मेको दिन अस्ताए भक्तराज, नारायण गोपालसँग थियो अर्को दुखद संयोग

काठमाडौं । वि.सं. १९९९ सालमा जन्मिएका वरिष्ठ गायक भक्तराज आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भयो । जम्मा १६ वर्ष मात्रै सांगीतिक जीवनमा सक्रिय रहेका भक्तराज आचार्यका जम्मा साढे चार सय हाराहारी गीत मात्रै रेकर्ड भएको छ । तर, उनका कालजयी गीतहरूको सूचि भने निकै लामो छ ।

‘हजार सपनाहरूको माया लागेर आउँछ’, जति चोट दिन्छौ देऊ मायालु’, हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘मुटु जलिरहेछ’, ‘जीवन भनूँ त’ लगायत दर्जनौँ कालजयी गीतहरू छन् । यसका साथै ‘भजन शिरोमणि’ उपाधि पाएका उनका भजनहरूदेखि आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत थुप्रो विधामा उनी पोख्त थिए ।

भक्तराजका दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य पनि सुगम संगीतका परिचित नाम हुन् । सानैमा बाबु गुमाएका उनी दार्जिलिङको डुवर्समा हुर्किएका थिए । अम्बर गुरुङ, गोपाल योन्जन जस्ता संगीतकारले समृद्ध बनाएको भूगोलमा हुर्किएका भक्तराजले संगीतमा ‘संगीत प्रभाकर’सम्मको अध्ययन समेत गरेका छन् ।

नेपाली संगीत क्षेत्रले पाएको सबैभन्दा ठूला नाम हुन् नारायण गोपाल र भक्तराज आचार्य ! नेपाली संगीत क्षेत्रमा बेग्लै छाप छाडेर आफ्नो भविष्य अज्माउन काठमाडौं आएको वेला संगीतको क्षेत्रमा स्थापित भइसकेका थिए नारायण गोपाल । यो कुरा २०३० सालको हो, जति वेला भक्तराज ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा प्रतिस्पर्धी थिए । नारायण गोपाल जजको भूमिकामा थिए । २०१९ सालमै कोलकत्तामा आधा दर्जन गीत रेकर्ड गराएर चर्चामा आइसकेका नारायण गोपाल यसवेलासम्म प्रसिद्धिको शिखरमा थिए ।

त्यसवेला भक्तराजले गाएको ‘होसियार यस बखत समयको मुखलाई चिन…’ बोलको गीत गाएका भक्तराजलाई जजहरू बच्चु कैलाश र नारायणगोपालले प्रथम घोषणा गरेका थिए । र उनले स्वर्णपदक प्राप्त गरेका थिए ।

राष्ट्रव्यापी गीत प्रतियोगितामा स्वर्णपदक प्राप्त भक्तराजको स्वर्ण युग त्यही सालबाट सुरु भएको थियो । सुर र तालमा राम्रो पकड राख्ने भक्तराज तत्सम र तद्भव शब्दहरूको राम्रोसँग उच्चारण गर्थे । उनले गीतहरूमा शब्दलाई न्याय गरेर यति शुद्ध उच्चारण गर्थे कि अन्य गायक गायिकाहरूमा दुर्लभ रूपमा मात्रै पाइने संगीतकर्मीहरु नै बताउने गर्छन् । अहिलेका गायक, गायिका मात्रै होइन, भक्तराजभन्दा सिनियर गायक नारायण गोपाल स्वयंका गीतहरूमा पनि शब्द उच्चारणमा धेरै गल्ती भेटिन्छन् । तर, भक्तराज भने यसमा सचेत थिए ।

तर, नेपाली गायन क्षेत्रले पाएको यी दुई प्रतिभावान् नक्षत्रहरुबीच दुःखान्त संयोग भने मंसिर १९ हो । २०४६ साल मंसिर १९ मा भक्तराजमाथि बौद्धको ‘छिरिङ रेस्टुरेन्ट’मा संघातीक हमला भयो । टाउकोमा गहिरो चोट लागेका उनलाई वीर अस्पताल पुर्‍याइयो । उनको टाउकोमा मात्रै सयभन्दा बढी टाँका लगाइयो । सात महिनासम्म अस्पतालमै बसे ।

यसको ठिक एक वर्षपछि नारायण गोपालको २०४७ साल मंसिर १९ मै निधन भयो । उता सांघातीक हमलाका कारण भक्तराजले आफ्नो सुर र ताल गुमाए । २०५० सालमा क्यान्सरका कारण उनको जिब्रो नै काट्नुपर्‍यो । यसपछि त झनै न उनले गाउन नै सके, न राम्रोसँग बोल्न नै । आफ्नो कुरा भन्नका लागि पनि उनले अरूको सहारा लिन सुरु गर्नुपर्‍यो ।

यसपछि स्वरविहीन बनेका भक्तराज २०४६ सालदेखि २०८० सालसम्म ३४ वर्ष आवाजविहीन बनेर अस्ताए । तर, बौद्धमा उनलाई हमला गर्नेहरू बौद्धका नामुद गुन्डाहरू सूर्यमान श्रेष्ठ र सूर्य मानन्धर रहेको भक्तराजले भूपेन्द्र खड्कासँग गरिएको एक अन्तर्वार्तामा खुलाएका छन् । तर, उक्त हमलापछि उनीहरू भागे । ती गुन्डाका बाउहरू र होटल सञ्चालक छिरिङले भक्तराजको उपचारमा खर्च गरे । त्यसवेला सत्यराज र स्वरूपराज जम्मा १३ र ११ वर्षका मात्रै थिए । र भक्तराजकी श्रीमती थिइन् । नाबालक छोरा र श्रीमतीले गुन्डाहरू खोज्नेभन्दा पनि प्रमुख कुरा थियो, जीवन गुजारा चलाउने । त्यसैले उनीहरू कानुनी बाटोमा राम्रोसँग लाग्न सकेनन् । भक्तराज त ओछ्यान नै परेका थिए । त्यसवेलाका गवाही पूर्ण नेपाली (जसले भक्तराजलाई उक्त रेस्टुरेन्टमा पुर्‍याएका थिए) र गुन्डाहरू फरार भए । म्याद सकिएपछि प्रहरीले खोजतलास पनि गरेन ।

अपराधीहरू थाहा पाउँदा पाउँदै पनि सजायको भागिदार नबनाएर यो घटनालाई रहस्यमै राखियो । अहिलेसम्म पनि रहस्यमै छ । यसपछि पूर्ण नेपाली कहिल्यै पनि भक्तराजको सम्पर्कमा आएनन् । झनै उनीमाथि हमला भएपछि १२ दिनसम्म अप्रेसन नै नगरिएको संगीतका जानकारहरू बताउँछन् । यो आफैँमा अर्को ठूलो रहस्य हो । यसमाथि न अनुसन्धान भयो, न सोधखोज नै । आफूमाथि भएको हमलाको सत्यतथ्य नै थाहा नपाई भक्तराज सदाका लागि अस्ताए ।

भक्तराजको निधन भएको दिन अर्को संयोग के हो भने प्रसिद्ध भारतीय गजल गायक पंकज उदासको आजै निधन भयो । मंसिर १९ मा नारायण गोपाल बित्नु र भक्तराजमाथि संघातीक हमला हुनु त एउटा संयोग भइहाल्यो, सँगै आजको दिन वरिष्ठ संगीतकार तथा गायक अम्बर गुरुङको जन्मजयन्ती पनि हो । अम्बर गुरुङको जन्म १९९४ साल फागुन १४ गते भएको थियो । आज कलंकीको एलआआई स्कुलमा गुरुङको जन्मोत्सव मनाइँदै गर्दा भक्तराजको निधन भयो । भक्तराजले अम्बर गुरुङकै शब्द र संगीतमा ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा स्वर्ण पदक जितेका थिए २०३० सालमा । यसपछि नेपाली संगीतमा भक्तराज युग सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *