छात्रावासमा मृत भेटिएकी विद्यार्थीका परिवारले दिए प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध जाहेरी – Nepal Press

छात्रावासमा मृत भेटिएकी विद्यार्थीका परिवारले दिए प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध जाहेरी

चितवन । जिल्लास्थित रत्ननगर नगरपालिका- १० मा रहेको एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएर मृत भेटिएकी विद्यार्थीका परिवारले विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध हत्या अभियोगमा जाहेरी दर्ता गरेका छन् ।

गोरखा घर भइ रत्ननगर- १५ मामाघरमा बसी अध्ययन गर्दै आएकी १४ वर्षीया सालिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिइन् । छात्राबासमा रहेको आफू बस्ने कोठाको सिलिङ फ्यानमा स्काउटको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको परिवारले छोरीको हत्या भएको आरोप लगाएका थिए ।

दुई वर्षअघि विद्यालयमा भर्ना भएकी उनी कक्षा ८ की छात्रा हुन् । उनलाई विद्यालयकै शिक्षकले हत्या गरेर झुण्ड्याएको दाबी गर्दै अभिभावकले शव बुझ्न मानेका थिएनन् । उनीहरुले आज सोही आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा विद्यालयका प्राचार्यसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालका अनुसार ज्यान अभियोगमा मृतककी बाबु दीपेन्द्र पोखरेलले जाहेरी दर्खास्त दिएका छन् । किटानी जाहेरीमा विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक र छात्रावास वार्डेनलाई विपक्षी बनाइएको उनले बताए । उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक बालिकाकी काका महेश पोखरेलका अनुसार बालिकाको आमा र बुबाबीच दश वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । बाबु दीपेन्द्रले दोस्रो विवाह गरिसकेका छन् । आमा सगुन अधिकारीले पनि अर्को विवाह गरिसकेकी छन् । बालिकाकी आमाबुबा दुबैजना रोजगारीको लागि विदेश बस्छन् । आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्ध विच्छेदको आदेश गरेका कारण उनी आमाको संरक्षणमा मामाघरमा बसेकी थिइन् ।

विद्यालयको लापरबाहीका कारण आफ्नो छोरीको ज्यान गएको भन्दै उनीहरुले विद्यालयको पठनपाठन पनि रोकेका छन् । किटानी जाहेरी दर्ता भएपछि शव जिम्मा लिएर पोष्टमार्टम र अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *