३४ विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाई उपलब्ध हुने – Nepal Press

३४ विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाई उपलब्ध हुने

काठमाडौं । नेपाल टेलिकमले देशका ३४ विमानस्थलमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

ती ३४ विमानस्थलमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहमति गरेको हो ।

नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ । अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्ने टेलिकमले जनाएको छ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष स्थापना गरिनेछ ।

फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउनेछ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्री वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ । अब छिट्टै विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर