नेपाल-भारत सीमा पदयात्रामा सुरक्षा प्रमुख: स्थानीयले सुनाए एसएसबीको ज्यादतीको बेलिबिस्तार – Nepal Press

नेपाल-भारत सीमा पदयात्रामा सुरक्षा प्रमुख: स्थानीयले सुनाए एसएसबीको ज्यादतीको बेलिबिस्तार

विराटनगर । सुनसरीको ६१ किलोमिटर सीमा भारतसँग जोडिएको छ । सीमाका समस्या, पिलरहरूको अवस्था र स्थानीयको गुनासो सुन्न सुनसरीमा रहेका सुरक्षा निकायका प्रमुखहरू अहिले पदयात्रामा छन् । उनीहरूमाझ स्थानीयको गुनासो छ, ‘एसएसबीले दु:ख दिएर हैरान पार्‍यो । गाउँमा बस्न नसकिने भयो ।’

फागुन १२ गतेबाट सुरू पदयात्राका क्रममा सुरक्षा निकायले आइतबार हरिनगरमा स्थानीयसँग अन्तरक्रिया आयोजना गरेको थियो । स्थानीय कसिम मियाँले गाउँमै पसेर भारतीय सीमा सुरक्षा बलका जवानहरूले नेपालीलाई कुटपिट गरेको दु:खेसो पोखे ।

उनले भने, ‘नेपालतिरै पसेर श्रीमती र छोराछोरीलाई कुटपिट गरियो । सँगै रहेका सशस्त्र प्रहरीलाई खबर गर्दा पनि सहयोग भएन ।’

उनले विनाकारण गाउँमै आएर श्रीमती र छोरालाई कुटपिट गरेपनि कसैले सहयोग नगरेको बताए । उनले गुनासो गरिरहँदा सशस्त्र प्रहरी बल पकली वाहीनीका प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरी कोशी प्रदेशका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङ्ग उपस्थित थिए ।

स्थानीय मोहम्मद सहवाज आलमले एसएसबीको दुर्व्यवहार र ज्यादतीले घरै छोड्नुपर्ने अवस्था सिर्जना हुने गरेको बताए ।

उनले भने, ‘सिमानामा घर छ । सिमानामा भएपछि खेतीपातीका लागि नेपाली भारततिर भारतीय नेपालतिर नआई हुँदैन । देश फरक भए पनि खेती किसानीको काम गर्न वारी पारी नगरी हुन्न । तर, अब हामीले खेती गर्न नसक्ने भयौं ।’

पहिलेदेखि नै यो चलन रहेको भन्दै भारतीय सुरक्षाकर्मीले खेती नै गर्न नदिएपछि कसरी गरी खाने ? भन्दै सहवाजले प्रश्न गरे ।

अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, हरिनगरमा भने भारतीय पक्षले पूर्वाधार बनाउने गरेको स्थानीयले बताए ।

अताउल अन्सारीले भने, ‘भारतीय पक्षले दशगजा क्षेत्रमा अनधिकृतरूपमा बनाएको संरचनाका कारण मलमूत्रसमेत नेपालतर्फको ढलमा मिसाइदिएका छन् । यसो नगर भन्दा कुटाइ खानुपर्छ । भारतीयको मलमूत्रको दुर्गन्धका कारण गाउँमा बस्न सक्ने अवस्था छैन ।’

उनले आफूहरूले भारतीय ज्यादती रोक्न केन्द्रीयस्तरबाटै पहल गरिदिन वर्षौंदेखि माग गरेको बताए ।

दुई देशको सीमा नाका खुल्ला भएका कारण नेपाली रोजगार र किनमेलका लागि नाकामा पुग्ने गरेका छन् । तर, नाकामा भारतीय सुरक्षा बल एसएसबीले दुर्व्यवहार गर्ने क्रम नरोकिएको भन्दै स्थानीयले सुरक्षा माग गरेका छन् । कार्यक्रममा स्थानीयको गुनासो सुनिसकेपछि सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले सीमा समस्या र विवाद विवादको व्यवहारिक पाटो नसुल्झिँदा समस्या भएको बताएका छन् ।

उनले भौतिक र मानसिक दुवै हिसाबले तनाव खेप्नुपरेको स्वीकार्दै यसका लागि सबैले समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरीले सीमित श्रोत र साधनका बाबजुद सुरक्षा प्रदान गरिरहेकाले यसका स्थानीयको पनि उत्तिकै साथ चाहिएको उनले बताए । कतिपय घटना स्थानीय तहबाटै आफूकहाँ आइ नपुग्ने भएकाले निराकरणको लागि समय लाग्ने गरेको उनको भनाई छ ।

दुई देशका सुरक्षा अधिकारीबीच हुने नियमित बैठकमा स्थानीयको समस्या राखेर समाधान निकाल्ने पोखरेलले आश्वासन दिए ।

पाँच दिनसम्म चल्ने सीमा पैदल यात्रा तथा अन्तरक्रियामा प्राप्त सुझावलाई कार्यान्वयनका लागि पहल गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा हुने चोरी तस्करी र आपराधिक गतिविधि रोक्न यो कार्यक्रमले सहयोग पुग्ने आचार्यको भनाई छ । यसका साथै सुनसरी प्रशासनले सीमा क्षेत्रको नियमित अनुगमन, समन्वयात्मक छलफल र प्रचारप्रसारलगायतका कार्यक्रमलाई समेत तीव्रता दिएको आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *