बहुदलीय विकासको भव्य ‘विम्ब’ हुनेछ फास्ट ट्रयाक: द्रुत  बनाऔं, दर्शनीय बनाऔं – Nepal Press
ब्लग

बहुदलीय विकासको भव्य ‘विम्ब’ हुनेछ फास्ट ट्रयाक: द्रुत  बनाऔं, दर्शनीय बनाऔं

हामी महादेवटारको तीन किलोमिटर लामा जुम्ल्याहा सुरुङको मुखैमा थियौं । हामीलाई सम्बोधन गर्दै कोरियाली पुल इन्जिनियर दोहोन किमले भने, ‘लेडिज एण्ड जेन्टलम्यान….’ यति भनेर एक फेरो आँखा डुलाएर उनले फेरि आफ्नो भनाइ फिर्ता लिँदै भने, ‘ओ नोर लेडिज.. जस्ट जेन्टलम्यान.. ।’

हामी उनको यो कुरा सुनेर मज्जाले हाँस्यौं । काठमाडौं-तराई द्रुतमार्गको सुरुङ अवलोकनमा पुगेका पत्रकारदेखि त्यहाँ उभिएका प्राविधिकसम्म, श्रमिकदेखि सैनिकसम्म कुनै अनुहार नभएको कुरामा कोरियाली इन्जिनियरको मीठो व्यङ्ग्यले हामी लज्जित हाँसो हास्न बाध्य भयौं । किमले हामीलाई लज्जितमात्रै बनाएनन्, उत्साहित पनि बनाए । उनले भने, ‘अहिले तपाईंहरु भएको ठाउँमा काठमाडौंबाट आउँदा दुई घण्टा लाग्यो । यो द्रुतमार्ग बनेपछि यसको दूरी १५ मिनेटको हुनेछ ।’

२ घण्टाको दूरी १५ मिनेटमा पार गर्ने काठमाडौं-तराई द्रुतमार्गको काम हेर्दा नेपालीले अचम्म मान्ने खालका नजिता देखिँदैछन् । जस्तै: निजगढबाट हेटौंडा १० मिनेटमा आइपुग्नेछ । ७०.९७७ किलोमिटरको निजगढदेखि काठमाडौंसम्मको यात्रा एक घण्टाको हुनेछ । अर्थात, अब काठमाडौंबाट भारतीय सीमा पुग्न साढे एक घण्टामात्र लाग्नेछ । अझ रोचक कुरा द्रुतमार्गमा आउने पहाडलाई छेडेर सुरुङ बनाइएका छन् । सुरुङको लम्बाइमात्रै १०.०५५ किलोमिटर हुनेछ । यो भनेको कुल लम्बाइको झण्डै १५ प्रतिशत भाग सुरुङकै हुनेछ । सुरुङ आधा दर्जन बन्नेछन् । थोरै मिटरको फरकमा आउने र जाने फरक फरक सुरुङ बन्ने भएकोले तिनलाई ६ सुरुङ भन्नमात्रै भएन, ती त दर्जन सुरुङ भए ।

यो एक विशाल क्रान्तिकारी छलाङ किन पनि हो भने चन्द्रशमशेर कालमा हेटौंडा-अमलेखगञ्ज ५०० मिटर लामो सुरुङमार्ग बनाएपछि यातायात चलाउने अर्को सुरुङ जापानी सहयोगमा नागढुङ्गा-नौबीसेको सुरुङमार्ग निर्माण १०१ वर्षपछि २०७६ मा आएरमात्रै सुरु भयो । त्योभन्दा अर्को सुरुङ अहिले सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबामा बन्दैछ । भेरी-बबई डाइभर्सनदेखि विभिन्न जलविद्युत गृहमा सुरुङ बने पनि यातायातका क्रममा निर्माण भएका नेपालमा सुरुङ १०६ वर्षको अन्तरमा यिनै तीन बन्ने क्रममा छन् ।

द्रुतमार्गमा एकैलटमा आधा दर्जन सुरुङ बन्दैछन् । दशैँ अगाडि नै यी तीन सुरुङ वारपार हुँदैछन् । वारपार हुनेहरुमा लेनडाँडाको १.६३० किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र महादेवटारको ३.५५ किलोमिटरका सुरुङ भएको द्रुतमार्गका सुरुङ हेर्ने नेपाली इन्जिनियर विनायक शर्मा बताउँछन् ।

देशमा १०६ वर्षको अन्तरालमा तीन सुरुङ बन्दैगर्दा सेनाले द्रुतमार्ग व्यवस्थापनको जिम्मा २०७४ वैशाख २१ मा लिएपछिका ६ वर्षमै तयार हुने देखिएको छ । यो चानचुने कुरा होइन । ठेक्का लाउन सकस नभएको भए बाँकी तीन सुरुङका काम पनि धमाधम हुने नेपाली सेना बताउँछ । ठेक्का लगाउन कानूनी झमेला आएकोले चन्द्राम भिरको २.२५ किलोमिटर, सिसौटारको ०.३९ किलोमिटर र देवी चौरको १ किलोमिटरका सुरुङको काम प्रारम्भ नै भएको छैन ।

२ घण्टाको दूरी १५ मिनेटमा पार गर्ने काठमाडौं-तराई द्रुतमार्गको काम हेर्दा नेपालीले अचम्म मान्ने खालका नजिता देखिँदैछन् । जस्तै: निजगढबाट हेटौंडा १० मिनेटमा आइपुग्नेछ । ७०.९७७ किलोमिटरको निजगढदेखि काठमाडौंसम्मको यात्रा एक घण्टाको हुनेछ । अर्थात, अब काठमाडौंबाट भारतीय सीमा पुग्न साढे एक घण्टामात्र लाग्नेछ । अझ रोचक कुरा द्रुतमार्गमा आउने पहाडलाई छेडेर सुरुङ बनाइएका छन् ।

सुरुङ क्षेत्रमा खटिएका नेपाली इन्जिनियर, सेनाका प्राविधिक, नेपाली ठेकेदारहरु सबै अहिले उत्साहित देखिए । पंक्तिकारले राखेको जिज्ञासामा उनीहरु भन्दै थिए- ‘अब देशभर सुरुङ बनाउने कुरामा आत्मविश्वास आएको छ ।’

उनीहरुले देशभर सुरुङ बनाउने कुरामा आत्मविश्वास राख्नुको कारण द्रुतमार्गमा नेपालको महाभारत पहाडदेखि चुरे श्रृङ्खलासम्म सुरुङ बन्ने काम भएर आएको रैछ । चुरे र महाभारतमा सुरुङ बनाउने दक्षताले देशभर काम लाग्छ भन्ने उनीहरुको विश्वासमा बल देखिन्छ । चिनियाँ ठेकेदार, कोरियाली प्राविधिक, भारतीय डिजाइन र सवारी प्रयोग भएर बन्दै गरेका सुरुङको प्राविधिक दक्षता नेपालीहरुमा सर्दैछ । यो सीप हस्तान्तरणले नेपालमा देखिने प्रभाव पार्नेछ । जस्तो प्रभाव नेपाल अरब बैंक लिमिटेड आएर बैंकिङ क्षेत्रमा पर्‍यो । जस्तो जिम्मी रोबर्टसले खोलेको ट्रेकिङ कम्पनीले नेपाली ट्रेकिङ विकासमा सकारात्मक प्रभाव पर्‍यो । जस्तो मिसिनरी स्कुलहरु आएर अरु निजी स्कुलहरुमा प्रभाव पर्‍यो ।

पुलहरु निर्माणमा पनि द्रुतमार्गमा उस्तै रोचक र नयाँ कथाहरु बन्दैछन् । कतिपय पुल नेपालमै पहिलो पटक त कतिपय पुल धरहराभन्दा अग्ला बन्दैछन् । उदाहरणका लागि मकवानपुरको बकैयामा बन्ने पुललाई आइकोनिक पुल मानिएको छ । कर्णाली पुल जस्तै बन्ने यो पुल त्योभन्दा ठूलो हुनेछ । दुई पिलर प्रयोग हुने आयोजनामा खटिएका नेपाली इन्जिनियर सहदेव भण्डारी भन्दै थिए ।

मकवारपुरको जीतपुर खोलामा बन्ने अर्को पुल उत्तिकै रोचक हुनेछ । भारतीय र तिब्बती प्लेटहरु घर्षण हुने क्षेत्रमा बन्ने पुलले आठ रेक्टरको भूकम्प थाम्ने खालको बन्ने बताउँदै थिए कोरियाली पुल इन्जिनियर किम । किमका अनुसार पुलको माथिल्लो भागको भार तल र तलको भार माथि नपर्ने गरी बनाइँदैछ । यो पुल ८० मिटरभन्दा अग्लो हुने किम बताउँछन् । जुन धरहराभन्दा अग्लो हुनेछ ।

बकैया र जीतपुरका जस्ता पुलहरु द्रुतमार्गमा ८९ वटा बन्नेछन् । जसको एकमुष्ट लम्बाइ १२.८८५ किलोमिटर हुन्छ । यो भनेको द्रुतमार्गको कुल लम्बाइको १७ प्रतिशत बढी क्षेत्र पुलले ओगट्नेछ । द्रुतमार्गको यो अर्को रोचक पक्ष हो ।

द्रुतमार्ग बनेपछि भारतबाट राजधानीमा आउने आयात खर्च कम हुनेछ । एकातिर आयातित इन्धनको मात्रा कम भएर वैदेशिक मुद्रा सञ्चितीमा कमी हुन्न भने अर्कोतर्फ यो रुटमा व्यापक मात्रामा विद्युतीय सवारी चलेर जलविद्युतको आन्तरिक बजार पनि बलियो बन्नेछ ।

निजगढबाट काठमाडौं आउने हरेक सवारीको घण्टौंको समय र हजारौंको इन्धन लागत घट्नेछ । त्यसको अगाडि अहिले प्रस्ताव गरिएको निजगढ-खोकना टोल शुल्क कारलाई ९००, मिनि बस तथा ट्रकलाई १९०० र ठूला बस अनि ट्रकलाई २६०० रुपैयाँ धेरै होइन ।

तराईसँग काठमाडौं छिटो जोड्ने परियोजनामात्रै नभएर द्रुतमार्ग नेपाली लगानीमा बहुदलीय व्यवस्था आएपछिको देखाउन लायक दर्शनीय परियोजना हुनेछ । यदि बहुदलीय व्यवस्था आएपछि देशमा के बन्यो त्यस्तो भन्नेहरुलाई दिने एक सुन्दर उत्तर हुनेछ द्रुतमार्ग । देशको पहिलो बिजुली बत्ती चन्द्रज्योति, पहिलो कलेज त्रिचन्द्र र पहिलो सुरुङ हेटौंडा भीमफेदी चन्द्रशमशेर अर्थात राणा युगले बनायो ।

भारतीय र तिब्बती प्लेटहरु घर्षण हुने क्षेत्रमा बन्ने पुलले आठ रेक्टरको भूकम्प थाम्ने खालको बन्ने बताउँदै थिए कोरियाली पुल इन्जिनियर किम । किमका अनुसार पुलको माथिल्लो भागको भार तल र तलको भार माथि नपर्ने गरी बनाइँदैछ । यो पुल ८० मिटरभन्दा अग्लो हुने किम बताउँछन् । जुन धरहराभन्दा अग्लो हुनेछ ।

कुलेखानी जस्ता जलाशययुक्त आयोजना र देशलाई वारपार जोड्ने राजमार्ग महेन्द्र राजमार्ग पञ्चायतमा बन्यो । विश्वविद्यालयकै कुरा गर्दा पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय २०१५ असार शुक्ल नवमीमा त्रिभुवनको जन्मोत्सवको अवसरमा राजाकालमै शिलान्यास भएको थियो ।

देशका धेरै पायोनियरिङ कामहरु बहुदलीय सत्ता वा संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा अगाडि भएका छन् । काठमाडौं-तराई द्रुतमार्ग चैँ बहुदलीय व्यवस्था र त्योभन्दा अझ संघीय लोकतान्त्रिक राज्य बनेपछिको एक भव्य विकासे परियोजना हो । दुई खर्ब ११ अर्ब बढीको योजना बहुदलीय व्यवस्था आएपछिको भव्य विकासको एक विम्ब हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो आयोजना पटक पटक सरेर सम्पन्न मिति २०८२ चैत मसान्त तोकिएको छ । भौतिक प्रगति ३०.९६ प्रतिशत र वित्तीय प्रगति ३१.५७ प्रतिशत छ ।

आयोजनाका प्रमुख नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल परियोजनामा अदालती आदेश विलम्ब नहुने र समयमै ठेक्का लाग्ने हो भने आयोजना समयभन्दा अगाडि पनि सकिनसक्ने बताउँछन् । बजेट समयमै आउने, राष्ट्रिय गौरवको आयोजना भएकोले अदालती आदेश चाँडै आउने र ठेक्का समयमै लाग्न पाए राष्ट्रिय गौरवको काम द्रुत गतिमा हुने उनी बताउँछन् ।

पोखरेलको तर्कमा दम छ । नेपालमा हलो अड्कार गोरु चुट्ने उखान कतै सबैभन्दा धेरै चरितार्थ छ भने त्यो द्रुतमार्गमा छ । रुख काट्न बाधा, ठेक्का लाग्न अवरोध र अदालती मुद्दा मामिला हुँदै जग्गाको अधिग्रहणका तनाव बिछ्याएर सेनाले समयमै नसकेको होलसेल आरोप लाग्ने गरेको छ । सेनालाई काम गर्ने बाटो सहज गरिदिएर काम नभएमा प्रश्न र आलोचना गर्नुपर्नेमा काम गर्ने क्रममा गौंडागौंडामा अवरोध दिएर समयमै सकेन भन्ने सवाल मुखर गरिएको छ ।

हो, द्रुतमार्गमा २ खर्ब ११ अर्ब बढीको बजेट छ । त्यहाँ भ्रष्टाचार हुनसक्छ । तर, अख्तियार छ नि ! हो, द्रुतमार्गमा जोडिएका अधिकारीहरुले अकुत सम्पत्ति आर्जन गर्न सक्छन् । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ नि ! हो, द्रुतमार्गमा गुणस्तरीय सामान प्रयोग नहुन सक्छ । तर, सडक विभाग छ नि ! जहाँ कमजोरी छ, त्यहाँ चेकजाँच गर्ने निकाय छन् त !

सम्भावित वा भएका कमजोरीलाई त्यसैबाट चेक गर्नुपर्छ । तर, द्रुतमार्ग निर्माणलाई विलम्ब गर्नै हुन्न । किनभने यो राष्ट्रिय गौरवको आयोजना हो । बहुदलीय विकासको भव्य विम्ब हो । द्रुतमार्गलाई द्रुत बनाऔं, दर्शनीय बनाऔं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *