गठबन्धन सरकारकै कारण देश असफल भयो: पौडेल – Nepal Press

गठबन्धन सरकारकै कारण देश असफल भयो: पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएको बताएका छन् । यसअघि सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पारेको, आन्तरिक सुशासनलाई पूरै बेवास्ता गरेको उनकाे आराेप छ ।

बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको आइतबार उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खबरदारी गर्नुको विकल्प नभएको बताए ।

‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएकाे छ’, पौडेलले भने, ‘राष्ट्रियता अत्यन्त कमजोर, सुशासन कमजोर छ । विकासप्रति सरकारकाे चासो नै छैन । चालू भएका आयोजनामा बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् । यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खबरदारी गर्छ ।’

बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने पौडेलको भनाइ छ ।

उनले भने, ‘बुटवल-नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खबरदारी गर्नु छ । बुटवल-चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस् भन्ने हाम्रो चाहना हो ।’

पौडेलसँगै भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर