म्याकुरी, सुम्निमा, रीतु, देवान मामा र शर्मिला वाइबा ! – Nepal Press

म्याकुरी, सुम्निमा, रीतु, देवान मामा र शर्मिला वाइबा !

सुम्निमाका मामा जनवादी गायक प्रदीप देवान पहिलो पटक मिडियामा, खुलाए यस्तो रहस्य !

काठमाडौं । कृष्ण कँडेल र इन्द्रेणीको काण्डलाई ओझेलमा पार्दै पवन खतिवडा उर्फ म्याकुरीको गृह कलहले युट्युबको नेपाली आकाशलाई छपक्कै ढाकेको छ ।

‘फलानो रुँदै मिडियामा’, ‘ढिस्कानोले खोले नयाँ रहस्य’, ‘चिलानोले पहिलो पटक मुख खोले, यतिसम्म भएको रहेछ’ जस्ता सनसनीपूर्ण कन्टेन्टहरूको युट्युबमा ओभरफ्लो हुँदा कुन हेर्ने कुन नहेर्ने भनेर दर्शक नै आत्तिएका छन् ।

‘म्याकुरी’ अहिलेको पुस्ताका एक प्रतिभाशाली र सृजनशील कमेडियन हुन् । उनको कमिक टाइमिङ निकै राम्रो छ । तर, निजी जीवनको टाइमिङ भने ठीक चलिरहेको छैन । आफ्ना व्यक्तिगत र पारिवारिक मामिलाहरूको राम्ररी व्यवस्थापन राम्ररी गर्न नसक्दा आफैँले बनाएको जालमा माकुरा फसेँझैं फसिरहेका छन् म्याकुरी । शर्मिला वाइवा, रीतु बस्नेतजस्ता एटेन्सनसिकरहरुसँगको हिमचिम र संगतले उनको व्यक्तिगत प्रतिष्ठालाई धुमिल बनाएको छ । आफ्नो शुक्रकीटले बच्चा जन्माउनै नसक्ने जस्ता अत्यन्तै निजी विषय सञ्चारमाध्यममा छताछुल्ल बनाउनुपर्ने विवशतामा उनी पुगेका छन् ।

पवन र सुम्निमाको वैवाहिक सम्बन्ध ठिकठाक चलिरहेको छैन भन्ने उनीहरूका निकटस्थ सबैलाई पहिल्यैबाट थाहा थियो । खासमा पवनले आफैँद्वारा निर्मित परिबन्दमा परेर सुम्निमासँग बिहे गरेका थिए । कथा यसरी सुरु हुन्छ ः

प्राङ्कस्टर एलिस राईमार्फत पवनको सुम्निमासँग चिनजान भएको थियो २०७५/७६ सालतिर । सिक्किमबाट आएर काठमाडौंमा ‘मामा’ सँग बसिरहेकी सुम्निमालाई कलाकारितामा रुचि थियो । एलिसको एउटा म्युजिक भिडियोमा उनले अभिनय गर्ने अवसर पाइन् । त्यसबेला ‘म्याकुरी’ सामाजिक सञ्जालमा हिट थिए । सुम्निमा म्याकुरीकी फ्यान थिइन् ।

कोटेश्वरमा भएको पहिलो भेटमा नै सुम्निमानले म्याकुरीसँग उनको भिडियोमा खेल्ने इच्छा देखाइन् । म्याकुरीले पनि खेलाइहाले । बिस्तारै उनीहरू नजिक भए । सुम्निमा म्याकुरीको टिममा स्थायीरुपमा समावेश भइन् । उनका भिडियोहरू नियमित खेलिन् । दर्शकले पनि चिन्न थाले ।

पवन र सुम्निमा प्रेममा परे । प्रेम प्रस्ताव पवनले राखेका थिए । केही समय लिभिङ टुगेदरमा बसे । त्यस क्रममा नै पवन र सुम्निमाबीच झैंझगडा हुन थालिसकेको थियो । सुम्निमाको आक्रामक व्यवहारबाट पवन आजित हुँदै गएका थिए । उनले सम्बन्ध तोड्ने प्रयास पनि गरे । तर, सकेनन् । एकपटक काठमाडौं छोडेर धनकुटा गएर बसे । सुम्निमाले विष खाएको भन्दै मामाले फेक फोटो पठाएपछि दौडिएर आए । तर, सुम्निमा सद्दे थिइन् ।

लिभिङमा बसेर पवनले छोड्न खोजेको भन्दै सुम्निमा पटक–पटक प्रहरीमा पुगिन् । मामाले पनि उनीहरूको सम्बन्ध मिडियामा ल्याइदिने भनेर धम्क्याए । अन्ततः पवन विवाह गर्न राजी भए ।

उनीहरूले २०७८ साल असोज २८ गते उनीहरुबीच परम्परागतरुपमा विवाह भयो । विवाहमा सुम्निमाको परिवारका कोही पनि उपस्थित थिएनन् । उनीहरू सिक्किमबाट आएनन् । मामाले नै सुम्निमाको कन्यादान गरिदिएका थिए । पवनको परिवारले बुहारीका रूपमा सुम्निमालाई भित्र्याए ।

अन्तरजातीय र अन्तर्राष्ट्रिय विवाह भनेर खुब चर्चा भयो । विवाहपछि पवन र सुम्निमाका अन्तरवार्ता युट्युब च्यानलमा छ्यापछ्याप्ती भएका थिए । ती अन्तरवार्ता अहिले पनि भेटिन्छन्, जसमा दुवैले एक–अर्काको बयान गरेर थाकेका छैनन् ।

तर, उनीहरूको दाम्पत्य जीवन भने सुखद रहन सकेन । सुम्निमामा पहिल्यैबाट मानसिक समस्या थियो । उनी एन्जाइटीबाट पीडित थिइन् । बेलाबेला असामान्य उग्रता देखाउने गर्थिन् । रक्सी पिएको बेलामा उनको व्यवहार थामिनसक्नु हुन्थ्यो । खासगर पवनले अन्य युवतीहरूसँग हिमचिम गरेको भनेर सुम्निमाले झगडा गर्ने गरेको निकटस्थहरू बताउँछन् ।

पटक पटक उग्र विवाद र हात हालाहाल भएपछि पवनले सुम्निमासँग डिभोर्स माग्न थाले । सुम्निमा त्यसका लागि तयार थिइनन् । अन्ततः ११ महिना अगाडि पवनले सुम्निमालाई एउटा रिह्याभ सेन्टरमा लगेर राखिदिए । करिब १० महिनासम्म सुम्निमा रिह्याबमा रहिन् । यसबीचमा पवनको निकटता भाइरल ‘ल्याप डान्सर’ रीतु बस्नेतसँग बढिरहेको थियो । उनी जसरी पनि सुम्निमासँग छुट्टिने मनस्थितिमा पुगिसकेका थिए ।

सुम्निमा करिब एक महिना अगाडि रिह्याबको झ्याल फोडेर भागिन् । त्यसपछि कथामा शर्मिला वाइवाको इन्ट्री भयो । शर्मिलाको नेतृत्वमा तीन जनाले पवन बसेको घरमा मध्यरात गएर उनीमाथि हमला गरे । त्यसको भोलिपल्ट युट्यूवर सम्मेलन गर्दै सुम्निमाले सबै कुरा छताछुल्ल बनाइन् । त्यसको काउन्टरमा पवनले पनि युट्युबर सम्मेलन गरे । दुवैले एक अर्कामाथि गम्भीर आरोपहरू लगाएका छन् ।

पवनमाथि सुम्निमाका मुख्य आरोप

  • बाहिर युवतीहरूसँग मोजमस्त गरेर आफूलाई अवहेलना गरेको
  • अर्को विवाहको बाटो क्लियर गर्न आफूसँग डिभोर्स मागेको
  • एउटा गाडीसहित आफ्नो ४० लाख रुपैयाँ सम्पत्ति खाइदिएको
  • आफूलाई जबरजस्ती रिह्यावमा लगेर राखेको र त्यहाँबाट कहिल्यै निस्किन नदिने प्रपञ्च रचेको
  • मोडल रीतु बस्नेतसँग होटलमा रात बिताएको र उनलाई गर्भवतीसमेत बनाएको

सुम्निमामाथि पवनका आरोप

  • उद्दण्ड व्यवहार देखाउने र बारम्बार आफूलाई कुटपिटसमेत गर्ने गरेको
  • अनेकन झुटहरू बोलेर आफूलाई भुलभुलैयामा पारेको
  • मामासितको सम्बन्ध शंकाष्पद, सिक्किममा पहिल्यै विवाहित रहेको कुरा लुकाएको
  • आफू कुनै युवतीसँग नजिक हुनासाथ अनावश्यक शंका गर्ने गरेको
  • आफ्नो पोल खुल्ने डरले ससुरालीमा कहिल्यै नलगेको

सुम्निमासँग अफेयरमा बस्दा नै उनको उग्र स्वभाव बुझेर विवाह नगर्ने मनस्थितिमा पुगेको पवन बताउँछन् । तर, मामाले गरेको ब्ल्याकमेलिङ र डाक्टरले पनि विवाहपछि सुम्निमाको एन्जाइटी ठिक हुन सक्ने भनेर दिएको सल्लाहले विवाह गर्न तयार रहेको उनको भनाइ छ । विवाहपछि सुम्निमाका एक पछि अर्को झूट खुल्दै गएपछि आफू विस्मित भएको पवनले बताए ।

उनले भने, ‘सस्पेन्स फिल्ममा झैँ एकपछि अर्को नयाँ रहस्य खुल्दै गए । आफूले बोलेको झूट खुल्ने डरले नै उनको एन्जाइटी बढिरहेको रहेछ ।’

पवनका अनुसार एक पटक सुम्निमाको तिनै ‘मामा’ सँग पनि लफडा परेको थियो । सुम्निमाले मामालाई खुकुरी नै ताकेकी थिइन् । त्यस क्रममा घम्साघम्सी हुँदा सुम्निमाको एउटा दाँत नै भुईँमा खस्यो ।

उनी भन्छन्, ‘दाँत भुईँमा खस्दा पनि एक थोपा रगत थिएन । त्यसपछि पो थाहा भयो अगाडिको दाँत नै नक्कली रहेछ ।’

सानैमा मामाले नै पिटेर आफ्नो दाँत खुस्काइदिएपछि नक्कली हालेको भनेर सुम्निमाले स्वीकारेको पवनको दाबी छ ।

पवनको अर्को आरोप छ कि सुम्निमाले उनीसँग सुन किन्न भनेर पैसा लिइन्, तर नक्कली सुन किनेर पारिवारिक भ्रष्टाचार गरिन् । उनले पत्रकार सम्मेलनमा नक्कली सुनको बालासमेत देखाएका थिए ।

पवनले मामासँग सुम्निमाका सम्बन्ध नै सन्दिग्ध रहेको दाबी गरेका छन् । सुरुमा आफ्नै मामा भनेर चिनाएको तर पछि ‘मामा’ साइनो मात्र लगाएको आफूले थाहा पाएको उनको भनाइ छ ।

‘मामा भन्नेले उनलाई सानैमा सिक्किमबाट काठमाडौं ल्याएर श्रम शोषण र शारीरिक शोषणसमेत गरेको रहेछ । खासमा मलाई भेट्दासम्म उनीहरू लिभिङ टुगेदरमा बसिरहेका थिए भन्ने सूचना मलाई आयो । त्यसपछि म छाँगाबाट खसेझैँ भएँ,’ पवनको दाबी छ, ‘अब यो केटीसँग एउटै छानोमुनि बस्न सक्दिनँ भन्ने निष्कर्षमा पुगेँ ।’

पवन र सुम्निमाको विवाद अदालतमा पुगेर ‘सेफ ल्यान्डिङ’ हुन सक्थ्यो होला । पवनले अदालत जाने तयारी गरिरहेका थिए । तर, जब उनीहरूको बीचमा कथित अभियन्ता शर्मिला वाइवाको इन्ट्रीपछि विवाद गहिरिएको छ । सुम्निमालाई अदालत जान नदिएर ‘मिडिया’ मा धकेल्ने वाइवा नै हुन् । सुरुमा पवनसित मिलेकी उनी अहिले सुम्निमातिर लागेर पवनमाथि निसाना साँधिरहेकी छन् ।

गल्ती त पवनकै हो । सुरुमा उनले नै शर्मिलालाई आफ्नी पत्नी सुम्निमाविरुद्ध प्रयोग गर्न खोजेका थिए ।

पवन भन्छन्, ‘सुम्निमाबाट बारम्बार कुटाइखानु पर्दा म आफैँले प्रतिवाद गर्न सक्ने स्थिति भएन । पुरुषले महिलामाथि हात हाल्दा यहाँ ठूलो इस्यू बन्छ । त्यसैले शर्मिलाको सहयोग मागेको हुँ । तर, उनले उल्टै सुम्निमासित मिलेर मलाई ब्ल्याकमेलिङ गर्न थालिन् ।’

पवनको गर्लफ्रेन्ड भनिएकी रीतु शर्मिलाकै घरमा भाडामा बस्छिन् । उनको भाडा पवनले नै तिरिदिने गरेको बताइन्छ । युट्युबर सम्मेलन गर्नुअघि शर्मिलाले रीतुको एउटा भिडियोसमेत बनाइन् । भिडियोमा रीतुले आफ्नो पेटमा पवनको बच्चा रहेको बताएकी छन् । यसले पवनमाथि गम्भीर प्रश्न खडा भयो नै ।

पवन र सुम्निमाको अढाई वर्षसम्म कुनै पनि सन्तान भएका छैनन् । तर, रीतुलाई पेट बोकाएको आरोपपछि पवन स्पष्टीकरण दिन बाध्य भए । आफ्नो शुक्रकीटमै खराबी रहेकाले डाक्टरले बच्चा पाउन नसक्ने बताएको उनको भनाइ छ । तर, सुम्निमाले भने पवनबाट आफ्नो गर्भमा बच्चा बसेको तर दुई जनाको सहमतिमा नै एबोर्सन गराएको दाबी गरेकी छन् । रीतुले अर्को एउटा अन्तरवार्तामा आफू गर्भवती नरहेको बताएकी छन् । शर्मिलाले प्राङ्क भिडियो बनाउने भनेपछि पवनको बच्चा बसेको भनेर बोलेको उनको प्रतिक्रिया छ ।

शर्मिलाकै सक्रियतामा पवनको एउटा सीसीटीभी फुटेज पनि बाहिर ल्याइएको छ, जसमा उनी मोडल रीतुसँग होटलबाट हात समातेर निस्किरहेको देखिन्छन् । अर्को एउटा फुटेजमा पवन ओछ्यानमा एक्लै लडिबुडी गरिरहेको देखिएको छ, जुन दृश्य रीतुको कोठाभित्रको हो भनेर पवन स्वयम्ले स्वीकारेका छन् । त्यसैले रीतुले पेट बोकेको होइन भने पनि रीतुसित आफ्नो अफेयर छैन भनेर पवनले कन्फिडेन्ससाथ भन्न सक्ने स्थिति छैन ।

रीतुको विषयमा कुरा गर्नुपर्दा उनी खासै गतिलो छवि भएकी युवती होइनन् । कोरियोग्राफर बद्री विष्टसँग अश्लील डान्स गरेर उनी भाइरल भएकी थिइन् । त्यसपछि पनि उनका अनेक भद्दा हाउभाउ र संवादहरू सामाजिक सञ्जालमा आइरहेका छन् । एउटा विवाहित पुरुषको बच्चा आफ्नो पेटमा छ भनेर हाँस्दै भिडियो बनाउनुले पनि उनको चारित्रिक हैसियत उजागर हुन्छ ।

पवन र सुम्निमा दुवैका निकटस्थहरूको कुरा सुन्दा दुवैका पर्याप्त कमी–कमजोरी देखिन्छन् । पवन एक प्रतिभाशाली कलाकार हुनुका साथै सुशिक्षित व्यक्ति पनि हुन् । उनले एमएस्सीसम्मको अध्ययन गरेका छन् । पत्नीमा मानसिक समस्या छ भन्ने पहिल्यै थाहा पाएर पनि पवनले उनलाई श्रीमतीका रूपमा सहर्ष स्वीकारेका हुन् । तर, हाउडे स्वभावका पवनले विवाहपछि एउटा मानसिक रोगीलाई डील गर्ने परिपक्वता देखाउन सकेनन् । उनले सुम्निमाको उपचारका लागि मातादेखि डाक्टर सबैतिर धाएको बताएका छन् । तर, सुम्निमाका लागि सबैभन्दा ठूलो ‘डाक्टर’ उनी आफैँ हुन सक्थे । सुम्निमाले केही झूट नै बोलेकी थिइन् भने पनि अतीतका कुराहरूलाई वर्तमानमा इस्यू बनाउनु ठिक थिएन ।

मामा मिडियामा ! भन्छन्- सुम्निमाको शरीरमा देउताको बास छ

पवन र सुम्निमाको विवादमा जोडिएका एकपछि अर्को पात्रहरू भटाभट मिडियामा आइरहेका छन् । अहिलेसम्म मिडियामा नआएका मात्र होइन कि पहिचानसमेत नभएका पात्र हुन् सुम्निमाका ‘मामा’ । को हुन् उनी र अहिले किन मौन छन् ?

अलिकति खोजीनिती गर्दा थाहा भयो, पुराना जनवादी गायक प्रदीप देवान रहेछन् सुम्निमाका मामा । उनी माओवादी जनयुद्धमा भूमिगतसमेत भएका थिए । २०६४ देखि ६७ सालसम्म उनी नेपाल टेलिभिजनमा आस्थाका स्वरहरू भन्ने कार्यक्रम चलाउँथे । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सहसचिव थिए । तर, अहिले गुमनाम छन् ।

हामीसँगको फोन सम्पर्कमा देवानले सुम्निमाका विषयमा केही रोचक कुरा सुनाए । सुम्निमा आफ्नो लागि ‘भगवान् सरह’ भएको देवानले बताए । आफू सुम्निमाको खाँटी मामा भने नभएको उनको स्वीकारोक्ति छ ।

‘म नाताको मामा होइन, त्यो साइनो मात्र लगाएको हो,’ उनले भने, ‘तर, सुम्निमालाई मैले छोरीजस्तो मानेको छु ।’

देवानको भनाइ अनुसार उनले १२/१३ वर्षको उमेरमा सुम्निमालाई सिक्किमबाट नेपाल ल्याएका हुन् । सुम्निमाको कलाकारितातर्फ झुकाव देखेर ल्याएको उनी बताउँछन् ।

सुम्निमाको शारीरिक शोषण गरेको लिभिङ टुगेदरमा बसेको जस्ता पवनले लगाएका आरोपलाई उनले अस्वीकार गरे ।

‘ती कुराहरू मेरो कल्पनाभन्दा पनि बाहिरका हुन् । सुम्निमालाई म भगवान् मान्छु,’ उनले भने, ‘म जस्तो भौतिकवादी व्यक्तिलाई उनले नै आध्यात्मिकतातर्फ ढल्काएकी हुन् । उनको शरीरमा अदृश्य शक्तिको बास छ, त्यो मैले प्रत्यक्ष देखेको छु ।’

सुम्निमासँग आफ्नो सम्बन्धलाई उनले यसरी वर्णन गरे:

मेरो छिमेकीहरूमार्फत यो नानीसँग चिनजान भएको हो । छरछिमेक भइसकेपछि एउटा एउटा साइनो लगाएर बोलाइन्छ । उनले मलाई सुरुदेखि मामा भन्छिन् । तर, नाताको मामा चाहिँ होइन ।

म गीतसंगीतमा सक्रिय भएकाले मसित केही सिक्छु भनेर सुम्निमा काठमाडौं आइन् । मैले आफ्नै परिवारसँग उनलाई राखेँ । पढाई लेखाइ भन्दा पनि उनको कलाकारितामा नै रुचि थियो । त्यसैले मैले त्यसमा सहयोग गरे । पवनसित भेट भएपछि उनको कलाकारिताले उडान लिएको हो ।

सुम्निमा पहिल्यैबाट एन्जाइटीको बिरामी थिइन् । पवनले भनेजस्तै डाक्टरले उनको विवाहपछि बिमारी ठिक हुन सक्छ भनेर सुझाव दिएका थिए । त्यसैले उनीहरूले विवाह गरे । मैले पनि विवाह गर्न भनिरहेकै थिएँ । तर, ब्ल्याकमेलिङ गरेको भन्ने आरोप झुट्टा हो ।

नानी सानैबाट मसित हुँदा भगवानको कुराहरू गर्ने गर्थिन् । महाभारत, रामायण, शिव पार्वतीका प्रसंगहरु सुनाउँथिन् । उनको हातमा जहिले पनि एउटा न एउटा भगवानको फोटो हुन्थ्यो । उनको शरीरमा अदृश्य शक्ति थियो । अदृश्य शक्ति नेगेटिभ र पोजेटिभ दुवै थियो । त्यो मैले महसुस गरेको मात्र होइन, प्रत्यक्ष देखेको छु । पोजेटिभ आउँदा त्यो शक्तिसँग मैले संवाद गर्थेँ । उसको बहिनी, आमा हुन्थे, तर उनीहरूसँग त्यो शक्तिले संवाद गर्थेन । केवल मसित गर्थ्यो । तिमी उसको बाबु हो, तिमीले उसलाई जन्म नदिए पनि कर्म दिएका छौ, राम्ररी हेरचाह गर्नु भन्थ्यो । त्यही अनुसार नै मैले उनलाई छोरीको स्थानमा राखेको हुँ ।

मलाई विश्वास छ, भोलि उनी संसारकै एक–दुई नम्बरको माता हुनेछिन् । केही वर्ष चाहिँ हुँदिनन् । अहिले उनी एउटा मनुष्य हो । त्यसैले उनको चाहना अरू नै छ । उनले रोजेको कुरा नै हामीले गरिदिनु पर्छ । पछि चाहिँ माता हुन्छिन् बालक भनेर मलाई त्यो अदृश्य शक्तिले भनेको छ । त्यस्तै नै भइरहेको छ ।

अहिले उ भक्ति मार्गमा नलागीकन सांसारिकमा लागेकाले यो सबै लफडा भएको हो । पवन बाबु पनि नराम्रो मान्छे होइन जस्तो लाग्छ । तर पवनले सुधार गृहमा लगिसकेपछि गलत गर्‍यो कि जस्तो लागिरहेको छ । अर्को केटीसित चक्करको कुरा आएको छ । पहिले चाहिँ उसको यस्तो स्वभाव थिएन ।

सुम्निमाले हिंसा र कुटपिट गर्थ्यो भनेर पवनले भनेको छ । यसमा पवनको पनि गल्ती छ नि । एन्जाइटीको औषधी खाइरहेको व्यक्तिले अल्कोहल त सुँघ्नै हुँदैन । रक्सी खुवाएपछि त्यस्तो गर्‍यो होला । अरू बेला त्यस्तो असामान्य मैले देखेको छैन ।

पछिल्लो पटक सुधार गृहबाट निस्किसकेपछि नानी कहाँ कसरी बसेकी छिन् भन्ने पवनले ध्यान दिएको छैन । उसलाई लगाउने कपडा चाहिएला, मोबाइल चाहिएला, कहाँ खाएको छ कहाँ बसेको छ । प्रहरीले पनि भनिरहेको छ पवनलाई । अति नै भएपछि मिडियामा आएर बोलेको हो ।

मलाई थाहा भएसम्म त्यो गाडी चाहिँ सुम्निमाले नै १८ लाख हालेर किनेको हो । उसलाई सिक्किमबाट पनि सहयोग आउँथ्यो । कलाकारिताबाट पनि कमाइरहेकी थिइन् । त्यही पैसा जोगाएर राखेको होला । सुन नक्कली किनेको भन्ने कुरा चाहिँ मलाई जानकारी भएन । नक्कली दाँतको कुरा पनि थाहा छैन ।

पवनबाबुले ममाथि झूटा आरोपहरू लगाउनुभएको छ । म आफ्नो श्रीमती र छोरासँग बस्छु । सानोमा सुम्निमा र मेरो छोरा दिदीभाइजसरी मिलेर बस्थे । सुम्निमालाई अहिले पनि छोरी नै मान्छु । अन्तर आत्माबाट मलाई भोलि मर्ने बेलामा मेरो छोराभन्दा पनि छोरी (सुम्निमा)ले हेर्छिन् भन्ने आशा लाग्छ । सुम्निमाकै प्रेरणाले म पछि भजनहरू गाउन थालेँ । सुरुमा क्रान्तिकारी गीत गाउने व्यक्ति धार्मिक गीत गाउनुमा आएको ठूलो परिवर्तन हो । यसमा सुम्निमाको ठूलो हात छ । उनीप्रति मैे कसरी गलत दृष्टि राख्ने राख्न सक्छु ?

सुम्निमा नर्मल मान्छे नै होइन । अबको ५–७ वर्षपछि थाहा पाउनुहुन्छ, सुम्निमा को हो भन्ने कुरा । अहिले चाहिँ उसको शरीरमा अदृश्य शक्ति आएर बोल्दैन, तर उनलाई कुनै पनि कुराको पूर्वाभास दिन्छ । भोलि के हुँदैछ भन्ने चेतना आउँछ । उनी सांसारिकमा लागेका कारण लोभ, क्रोध, घमन्ड, इर्ष्या कुराहरू देखिएका हुन् । केही समयपछि यो सबै समाप्त हुन्छ र भक्ति मार्गमा लाग्छिन् । मसित भेटमा उनले पवनसित लफडा सकिएपछि, आफ्नो सम्पत्ति फिर्ता पाएपछि अध्यात्ममा लाग्ने बताएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *