निफको ओपनिङ फिल्ममा आनीको ‘आनी छोइङ डोल्मा–मिसन इम्पोसिबल’ – Nepal Press

निफको ओपनिङ फिल्ममा आनीको ‘आनी छोइङ डोल्मा–मिसन इम्पोसिबल’

काठमाडौं । आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा–मिसन इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ ।

फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रूपमा रहने जानकारी गराएका छन् ।

डकुमेन्ट्रीमा आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र उनले गरेको समाजसेवा समावेश छ।

हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन।

सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र त्यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वार्ताहरुमा बताएकी छिन् ।

सात वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका चलचित्र फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ । डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवाडसमेर्त जितेको थियो।

डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा १० देश १३ वटा डकुमेन्ट्रीहरू प्रतिस्पर्धामा रहेका छन् । विजेता चलचित्रले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन् ।

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ चलचित्रहरू प्रदर्शन हुँँदैछन् । प्रतिस्पर्धामा रहेका चलचित्रको प्रदर्शनसँगै महोत्सव अवधिभर चलचित्र निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *