दादुरा-रुबेला खोप अभियान सुरू (भिडिओ) – Nepal Press

दादुरा-रुबेला खोप अभियान सुरू (भिडिओ)

काठमाडौं । आजबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् । स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन बक्स हस्तान्तरण गरेर अभियान थालिएको हो । मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्न प्रतिवद्व रहेको बताए ।

गत वर्षसमेत दादुराको महामारी देखिएको स्मरण गर्दै उनले एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप दिइने बताइन् । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले साढे ५७ लाख बालबालिकालाई यो अभियानअन्तर्गत खोप लगाइने बताए ।

डा. लालका अनुसार देशभरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयंसेविका र ४४ हजार स्वास्थ्यकर्मीमार्फत खोप अभियान सञ्चालन हुनेछ । यो अभियान सञ्चालनमा १ अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिशत रकम (ग्लोवल भ्याक्सिनेशन अलाइन्स) गाभीले अनुदान दिएको छ । बाँकी नेपाल सरकारले बेहोर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *