नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य – Nepal Press

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।

नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन-तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।

कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। तर लगातार विकेट गुमाएर नेपाल ५४-३ को स्थितीमा पुगेको थियो। त्यसपछि कुशल र कप्तान रोहित पौडेलबीच ३३ रनको साझेदारी भयो।

आउट हुनुअघि कुशलले आरिफ शेखसँग सातौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए। अन्तिम समयमा आरिफ र कुशलबीच नवौँ विकेटका लागि ३६ रनको साझेदारी भएको थियो ।

विश्वकप लिग-२ को आफ्नो पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो। जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो ।

डच बलर आर्यनले १० ओभरमा २ मेडन राखेर १६ रन खर्चिए। उनले कप्तान रोहित, कुशल मल्ल र गुल्सनलाई आउट गरेका थिए। किङ्माले १० ओभरमा एक मेडन राखेर ३९ रन खर्चिए।

नेपालले नवौँ ओभरको तेस्रो बलमा पहिलो विकेटका रूपमा आसिफलाई गुमाएको थियो। उनलाई किङ्माले आउट गरेका थिए।

११ औँ ओभरको अन्तिम बलमा अनिललाई किङ्माले बोल्ड गरेका थिए। १३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ललाई दत्तले एलबीडब्लु धरापमा पारेका थिए।

त्यसपछि रोहित र कुशलको साझेदारी दत्तले नै तोडेका थिए। नेपाल एकाएक ९६-६ को स्थितिमा पुगेको थियो।

पाँचौँ विकेटका रूपमा दीपेन्द्र रन आउट भएका थिए भने बास डे लिडेले भीमलाई बोल्ड आउट गरेपछि नेपालले सय रन नपुग्दै भरपर्दा ६ ब्याट्सम्यान गुमाएको थियो।

नेपालले एक सय २२ रन जोड्दा कुशल भुर्तेल भान डर मार्वेको बलमा उनैबाट क्याच आउट भएका थिए। आरिफ र कुशलबीच भएको साझेदारी किङ्माले तोडेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर