संसदमा कविता सुनाउँदै ज्ञानेन्द्र शाहीको गर्जन- अपराधीलाई कारबाही गर भन्दा मेरो राजीनामा माग्ने ? (भिडिओ) – Nepal Press

संसदमा कविता सुनाउँदै ज्ञानेन्द्र शाहीको गर्जन- अपराधीलाई कारबाही गर भन्दा मेरो राजीनामा माग्ने ? (भिडिओ)

काठमाडौं । राप्रपा प्रवक्ता तथा जुम्ली सांसद ज्ञानेन्द्र शाहीले संसदमा आफ्नो राजीनामा माग्ने सत्तारुढ सांसदहरूलाई संसदबाटै कडा जवाफ फर्काएका छन् ।

जनताको आशीर्वाद लिएर आएको जन निर्वाचित सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको उनले बताए ।

शाहीले संसदमा एउटा सानो कविता पनि सुनाएका थिए । बालकुमारी घटनालाई टेकेर लेखेको उनको कविता यस्तो थियोः

फक्रक्क फुल्न नपाउँदै कोपीला मै चुँडाइदियौ

दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ

थिए होला तिनीहरूका सपना न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भए पछि सम्माननीय सभामुख महोदय न्याय खोज्न हामी कहाँ जाने ?

आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् उनकी आमा

अपराधीलाई कारबाही गर भनी आवाज उठाउँदा माग्छौ मेरो राजीनामा ?

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जति दबाउन सक्छौ दबाऊ

दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्नेछन्

र भन्नेछन् भ्रष्टाचारी र देशद्रोहीलाई देशबाटै भगाऊ

शाहीले संविधानको धारा २७४ लाई उद्धृत गर्दै संसदभित्र व्यवस्था परिवर्तनको आवाज पनि उठाउन पाइने बताए ।

उनले भने, ‘यो व्यवस्था अपरिवर्तनीय होइन । कसैसँग विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न पाइँदैन । ज्ञान छैन भने संविधान पढ्ने, पढ्न आउँदैन भने हामीसित सिकाइ माग्नुपर्‍यो ।’

नेपालको संविधानको धारा १०३ ले संविधानभित्रका कुनै पनि सांसदले वाक स्वतन्त्रता र बोल्न पाउने अधिकार सुनिश्चित गरेको शाहीले उल्लेख गरे ।

‘म जन निर्वाचित सांसद हुँ । गोबर र आलुको गठबन्धनलाई हराएर आएको हो । जुम्लाका जनताले आशीर्वाद दिएर पठाएका हुन् । मैले राजीनामा किन दिने ? म ८–९ वर्षका बच्चा बच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेका बसमा बम हानेर आएको हो ? जातजाति र धर्मका नाममा हिंसा गरेको छु ?’ उनले प्रश्न गरे ।


प्रतिक्रिया

One thought on “संसदमा कविता सुनाउँदै ज्ञानेन्द्र शाहीको गर्जन- अपराधीलाई कारबाही गर भन्दा मेरो राजीनामा माग्ने ? (भिडिओ)

  1. राम्रो प्रस्तुती र सशक्त भुमिका छ, धन्यबाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर