ठूला सहकारीको अनुगमनमा निस्कियो विभाग, राष्ट्र बैंकका प्रतिनिधि पनि सँगै – Nepal Press

ठूला सहकारीको अनुगमनमा निस्कियो विभाग, राष्ट्र बैंकका प्रतिनिधि पनि सँगै

काठमाडौं । सहकारी विभागले नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुसँग मिलेर आजदेखि ठूला सहकारी संस्थाहरुको अनुगमन सुरु गरेको छ । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा तीनवटा समूहले अनुगमन सुरु गरेको हो ।

समस्यामा परेका र सञ्चालमा रहेका करिब १ दर्जन सहकारी संस्थाहरुको सो टोलीले अनुगमन गर्नेछ । सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा.रमेश चौलागाईं, लघुवित्त विभागका रमेश पौडेल र गैरबैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई रहेका छन् ।

विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार आज काठमाडौं उपत्यकामा भएका सहकारी संस्थाहरुको अनुगमन हुनेछ र भोलिबाट उपत्यका बाहिर रहेका सहकारी संस्थाहरुको समेत अनुगमन हुनेछ ।

उक्त टोलीले गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतम श्री बहुउद्देश्यीय, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लगायतको अनुगमन गर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि सहयोग गर्न भन्दै केही समय अघि राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

तर राष्ट्र बैंकले आफुले छुट्टै अनुगमन गर्ने नभइ प्रतिनिधी पठाएर सहयोग गर्ने बताएको थियो । सहकारी संस्थाहरुमा समस्या देखिन थालेपछि ठुला सहकारीको अनुगमनको जिम्मा पनि केन्द्रिय बैंकले नै लिनुपर्ने आवाज उठ्दै आएको छ । तर बैंकका अधिकारीहरु भने राष्ट्र बैंक ऐनले सहकारी नचिन्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर