सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुला, सर्वोत्तम कस्तो कम्पनी हो ? – Nepal Press

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुला, सर्वोत्तम कस्तो कम्पनी हो ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो ।

आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

कस्तो छ कम्पनीको वित्तिय अवस्था ?

यसको प्रतिसेयर नेटवर्थ चालु आर्थिक वर्ष २०७.२२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । कम्पनीको आ.व.२०७९/०८० को वित्तीय विवरण अनुसार निर्माण अवधिको ब्याज सहित जम्मा लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार २०९ रुपैयाँ रहेको छ । नवलपरासीको सुनवल नगरपालिका ११ मा उद्योग रहेको सर्वोत्तमको प्रति दिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट (प्रति बोरा ५० के.जी.को दरले ६० हजार बोरा) उत्पादन क्षमता रहेको छ । गत आर्थिक वर्षमा ४ लाख ८५ हजार ८०२.४९ टन सिमेन्ट बिक्री गरेको थियो ।

सिमेन्टको वार्षिक उत्पादन क्षमता ९ लाख ९० हजार मेट्रिक टन रहेको कम्पनीले सार्वजनिक गरेको प्रवन्ध पत्रमा उल्लेख छ । कम्पनीको अधिकृत पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी चार अर्ब पैंसठ्ठी करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी चार अर्ब पाँच करोड रुपैयाँ रहेको छ । योग्य संस्थागत लगानीकर्तालाई छुट्टाइएको २४ लाख कित्ता सेयर बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी ४ अब २९ करोड रुपैयाँ र सर्वसाधारण (उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) लाई छुट्टाइएको ३६ लाख कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात्कम्पनीको चुक्ता पूँजी चार अर्ब पैंसठ्ठी करोड रुपैयाँ हुनेछ । पछिल्लो वित्तीय विवरणको लेखापरीक्षण भए पश्चात् संगठित संस्थाको कारोबार, नाफा नोक्सान, सम्पत्तिको मुल्य वा आगामी १२ महिनाको दायित्व भुक्तानीमा असर पर्ने गरी कुनै अवस्था सिर्जना नभएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर