एमाले दस्तावेज बहस: प्रविधिको तिलस्मी जमानामा पार्टी विस्तारका कुरा – Nepal Press

एमाले दस्तावेज बहस: प्रविधिको तिलस्मी जमानामा पार्टी विस्तारका कुरा

हाल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पनि जारी छ । बैठकले नेता र संगठनभित्र कार्यगत र व्यवहारिकतामा फेरबदल गर्नुपर्ने बहस चलिरहेको छ । अहिले नै जिल्ला तहमा नयाँ नेतृत्व चयनका कार्यहरू भैरहेका छन् । यस सन्दर्भमा दोलखा अधिवेशनबाट पारित दस्तावेज सन्दर्भ सामग्री हुनसक्ने अपेक्षासहित यहाँ चर्चा गर्न खोजिएको छ ।

एमाले दोलखा अधिवेशनले पारित गरेको राजनीतिक र सांगठनिक दस्तावेज दोलखाको बिरामी संगठनहरूको लागि ‘एन्टिबायोटिक’ हुनसक्ने ठानिएको छ । चुस्त दुरूस्त संगठनलाई अझ चलायमान गराउने ‘भिटामिन’ सावित हुने अपेक्षा छ । गुटिया र अराजक सांगठनिक क्यान्सर निको पार्ने ‘किमोथेरापी’ हुने आशा गरिएको छ ।

खासगरी दोलखा अधिवेशनले सांगठनिक कामबाट ‘गैरराजनीतिक गुटबन्दी’लाई अलग गर्न शल्यक्रिया गर्नुपर्ने पहिचान गरेको छ । प्रतिनिधिहरूले अनुमोदन गरेको दस्तावेज कार्यान्वयन भयो भने गुटबन्दीलाई अलग गरेर पार्टी हाँक्न सकिने कार्यकर्ताहरूको विशेष जोड रहेको पाइयो । त्यसका लागि छानिएका नेतृत्व पंक्ति नै जिम्मेवार हुनुपर्ने दबाब कार्यकर्ताले दिइरहेका छन् । जीतको माला, अविर लगाएर फोन र फेसबुकबाट आएको बधाईमा मात्र रमाउन प्रतिनिधिले नेतृत्वमा पुर्‍याएको हैन, पार्टीभित्र मौलाएको विकृति अन्त्यका पहेरेदार पनि बनाएको हो । त्यसैले कुनै न कुनै कोणबाट पार्टी काम र जनताको सेवामा समर्पित हुन अधिवेशन हलको आवाजलाई नेतृत्व पंक्तिले मनन गर्दै क्रियाशील हुनुपर्ने अहिलेको आवश्यकता हो । यसका लागि नेतृत्वले त्याग गर्ने अठोट र पार्टी काम गर्ने आत्मविश्वास जगाउनुपर्छ । त्यसो हुँदा तल्लो तह (ग्रासरूट)मा ताकत भरिन्छ र आत्मविश्वास पनि बढ्छ ।

नेकपा एमालेको मजबुत र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो । इमानदार र दक्ष कार्यकर्ताहरुको शक्ति नै एमालेको शक्ति हो । चलायमान जनवर्गीय संगठन नै एमालेको ताकत हो । त्यसैले नेकपा एमालेलाई आजको दिनसम्म जनताको पहिलो पार्टी हुने हैसियतमा राखिराख्ने दोलखाली जनताको सर्वोपरि हितका खातिर संगठनहरु निर्माण र परिचालित हुनुपर्छ । त्यसका लागि नेकपा एमालेको १०औं जिल्ला अधिवेशनले दोलखामा नेकपा एमाले सधैं जितिरहने, सधैं श्रमजीवी, सर्वहारा वर्गको पक्षमा लडिरहने, समग्र राजनीति, आर्थिक, भौतिक र सामाजिक विकासमा अगुवाइ गरिरहने पार्टी संगठन निर्माण गर्न केही फैसला गरेको छ ।

नेकपा एमालेको मजबुत र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो । इमानदार र दक्ष कार्यकर्ताहरुको शक्ति नै एमालेको शक्ति हो । चलायमान जनवर्गीय संगठन नै एमालेको ताकत हो । त्यसैले नेकपा एमालेलाई आजको दिनसम्म जनताको पहिलो पार्टी हुने हैसियतमा राखिराख्ने दोलखाली जनताको सर्वोपरि हितका खातिर संगठनहरु निर्माण र परिचालित हुनुपर्छ ।

अधिवेशन हलभित्र प्रतिनिधिले ताली ठोक्दै अनुमोदन गरेका आदेशहरू नै नेतृत्वलाई निर्देशित गरेको फैसला हुन्, मिसन-८४ को ‘रोडम्याप’ हुन् । त्यसलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने नेतृत्वले कसम खानुपर्छ ।

एमाले दोलखाले पारित गरेको सांगठनिक दस्तावेजले संगठन विस्तारका लागि केही नवीन बाटाहरू तय गरेको छ । पारित प्रतिवेदनका महत्त्वपूर्ण बुँदा यहाँ प्रस्तुत गरिएको छ:

‘अति कडा वा अति झल्लु’ पद्धतिको विकल्प खोजौं

दोलखा एमालेमा सङ्गठनभित्र मौलाएको गुटगत अराजकता आजको प्रमुख समस्या हो । व्यक्तिगत अवसरवादी चरित्रहरु हावी हुँदा सङ्गठनभित्र क्रान्ति, आन्दोलन र लेलिनवादी सङ्गठनात्मक सिद्धान्तको ऐतिहासिक पक्ष छायाँमा पर्दैछ । कमिटीहरु साङ्गठनिक अराजकताको शिकार हुँदैछन् र ऊर्जावान नौजवानहरुमा राजनीतिक निराशा र वितृष्णा जाग्दैछ । सङ्गठनभित्र बैठक बस्ने तरिका र निर्णय प्रक्रियाहरु फितलो हुँदै गएका छन् । पार्टी सङ्गठनका सवालमा फौजी ढाँचाको सङ्गठन, अत्यधिक केन्द्रीकृत कार्यशैली असान्दर्भिक भैसकेका छन् । ‘अति नै अधिनायकवादी वा कडा र अति नै फितलो वा झल्लु’ सङ्गठनात्मक शैली नेकपा एमालेका सन्दर्भमा अव्यवहारिक मात्र होइन, कार्यकर्ताले नरुचाइरहेको अवस्था छ । त्यसैले दोलखाको सङ्गठन विस्तारको आगामी कार्ययोजना निर्माण गर्दा अति नै कडा या अति नै झल्लु दुवै पद्धतिका बीचबाट नवीन अभ्याससहितको सूचना प्रविधिमा निपुण मध्यमार्गी तरिकाहरु खोजिनुपर्छ ।

अहिले डिजिटल जमानाको तिलस्मी युगमा मानिसहरू यात्रा गरिरहेका छन् । छनोटका अत्याधुनिक राजनीतिक अवसरहरूमा युवा पुस्तालाई आकर्षित गर्ने सांगठनिक ढाँचाहरू निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । यसमा पार्टी केन्द्रले विशेष महत्त्वसाथ काम गरिरहेको छ र परिणामहरू पनि देखिँदैछ । दोलखा कमिटीले पनि त्यसतर्फ ध्यान दिनुपर्ने अधिवेशनले निर्देशन गरेको छ ।

अधिक केन्द्रीयता र सीमित जनवादको मनोविज्ञान बदलौं

नेकपा एमालेको संगठन विस्तारको आधार लेलिनवादी संगठनात्मक सिद्धान्त नै हो । प्रविधिले राज गरिरहेको यो युगमा उक्त सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गर्दै आफ्नो ठाउँको विशिष्ट स्थितिअनुरुप लागू गर्दै जानुपर्ने केन्द्रीय महाधिवेशनले स्पष्ट पारेको छ । हामीले पनि दोलखाको सन्दर्भमा जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक फ्युजनको मर्मअनुरुप संगठन विस्तार गर्नुपर्ने अधिवेशनमा पारित दस्तावेजले भन्छ ।

नेकपा एमालेले हालै सम्पन्न गरेको शुद्धीकरण तथा सुदृढीकरण अभियान, मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग अभियानबाट निस्केको निष्कर्षका आधारमा एमालेको संगठन विस्तारका आधारहरु तय गर्नुपर्छ । पार्टीका तहगत कमिटीहरु कसरी मजबुत र चलायमान हुनसक्छन् भन्ने ज्ञान उक्त अभियानहरुले दिएकै छ । त्यसैका आधारमा जनवाद र केन्द्रीयताको समायोजन गर्दै तल्ला कमिटीहरुलाई जिम्मेवारीका साथै अधिकारहरु पनि प्रत्यायोजन गर्नसके पार्टीका ग्रासरुट अझ सशस्त हुनसक्छ । त्यसैले दोलखामा पार्टी संगठन विस्तार गर्दा अधिकतम केन्द्रीयता र सीमित जनवादको मनोविज्ञानबाट नेतृत्व पंक्ति रुपान्तरित हुन सक्नुपर्छ । यसको मतलब हामी काम गर्नेले निर्णय लिने र अधिकार पनि खोज्ने युगमा छौं । हातहातमा भएको डिभाइसले दिइरहेका सूचना र ज्ञानले प्रत्येक नेता, कार्यकर्ता काम र अधिकार दुवै खोज्ने हैसियतमा छन् । त्यसैले जनवादलाई आजको दिनको सोचबाट प्रयोग गरिनुपर्छ भन्ने हो ।

नेकपा एमालेले हालै सम्पन्न गरेको शुद्धीकरण तथा सुदृढीकरण अभियान, मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग अभियानबाट निस्केको निष्कर्षका आधारमा एमालेको संगठन विस्तारका आधारहरु तय गर्नुपर्छ । पार्टीका तहगत कमिटीहरु कसरी मजबुत र चलायमान हुनसक्छन् भन्ने ज्ञान उक्त अभियानहरुले दिएकै छ ।

उक्त विचारहरू मनन गर्दै नेतृत्व पंक्ति रुपान्तरित हुँदामात्रै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता परास्त हुनसक्छ र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार चाँडै निर्माण हुनसक्छ भन्ने दोलखा अधिवेशनको दस्तावेजले बोल्छ ।

जनआधारित संगठन विस्तारमा जोड दिऔं

आवधिक संसदीय, प्रदेश र स्थानीय तहका निर्वाचनलाई ध्यान दिँदै जनआधारित पार्टी संगठन विस्तारमा ध्यान दिनु आवश्यक छ । नेतृत्वको वरपर सेल्फी खिच्दै घुम्ने, फोन गरेर खुशी पारिरहने, नानाथरि कुरा लगाएर नेतृत्वको दिमाग बदल्न खोज्ने र सोसल मिडियामा काम देखाउने नेता कार्यकर्तालाई नेतृत्वले पहिचान गर्न नसक्नु कमजोरी हो । नेतासँग भन्दा जनतासँग सरोकार राख्ने पार्टी र संगठनहरूमा समय बिताउने नेता, कार्यकर्ताको मूल्याङ्कन हुनुपर्छ ।

जनताको बीचमा रहने, जनसरोकारको मुद्दामा दिनहुँ नेतृत्व लिँदै जनताको मन जित्नसक्ने पार्टी संगठन विस्तार हुन जरुरी छ । जिल्ला अधिवेशनपछि हुने पालिका, वडा र टोलसम्मका कमिटीहरु चयन गर्दा स्थानीय राजनीति, विकास र सामाजिक नेतृत्व लिन तयार हुनेहरुको पहिचान गरिनुपर्छ र तिनै व्यक्तिहरुलाई चयन गर्ने कार्ययोजना पारित भएको छ ।

निष्ठाको राजनीति र समृद्ध जनताको परिकल्पना गरौं

एमाले दोलखाले यो अधिवेशनदेखि ‘समृद्ध दोलखा, सुखी दोलखाली’लाई बहसमा ल्याएको छ । निष्ठाको राजनीति, कुशल सांगठनिक व्यवस्था र जनताका समृद्धिमा आधारित आर्थिक प्रतिवेदनहरू अधिवेशनको हलले पास गरेको छ । परम्परागत प्रतिवेदनहरूमा यस पटकबाट आर्थिक समृद्धिको प्रतिवेदन पनि थप गरिएको छ । अब एमालेले राजनीतिको हर एजेन्डामा जनताको समृद्धिका योजना साथै लाने म्यान्डेट अधिवेशनले दिएको छ । त्यसैले निष्ठाको राजनीतमा जनता समृद्धिको दृष्टिकोण अबको लक्ष्य हुनुपर्छ ।

आधा पार्टी काम हुने उपत्यका र प्रवासमा संगठन विस्तार गरौं

राजधानी रहेको उपत्यका र प्रवास यस्तो ठाउँ हो, जहाँ हरेक जिल्लाको आधा पार्टी काम हुन्छ । जिल्लामा हुने हरेक राजनीतिक कामको बागडोर उपत्यका र प्रवासमा हुन्छ । स्रोत व्यवस्थापनको रूपमा मात्र हेरिने ती ठाउँले जिल्लामा हुने राजनीतिक लयमै फेरबदल ल्याएका उदाहरणहरू छन् । निर्वाचनमा मतदान गर्नेदेखि राजनीति कता लाने भन्ने साँचो उपत्यका र प्रवासमा रहेका दोलखालीको हातमा देखियो ।

निष्ठाको राजनीति, कुशल सांगठनिक व्यवस्था र जनताका समृद्धिमा आधारित आर्थिक प्रतिवेदनहरू अधिवेशनको हलले पास गरेको छ । परम्परागत प्रतिवेदनहरूमा यस पटकबाट आर्थिक समृद्धिको प्रतिवेदन पनि थप गरिएको छ । अब एमालेले राजनीतिको हर एजेन्डामा जनताको समृद्धिका योजना साथै लाने म्यान्डेट अधिवेशनले दिएको छ ।

त्यसैगरी उपत्यकाको पार्टी विशेष ढंगले चलायमान गराउनु पर्छ । त्यसको कार्ययोजना बनाउन त्यताकै कमिटीलाई सघाउनुपर्छ । विदेशमा रहेका दोलखालीलाई आकर्षित गर्ने र पार्टी राजनीतिमा जोड्नुपर्छ । राजनीतिमा नयाँपन नदेख्दा विदेशमा रहेकाहरूले नयाँ र स्वतन्त्रहरू रोज्ने अस्थायी र विचलित नयाँ पुस्ताको राजनीतिक चिन्तनलाई बदल्ने योजना खोज्न अधिवेशनले म्यान्डेट दिएको छ ।

विधानअनुसार राजधानीमा सम्पर्क मञ्च र प्रदेशमा कमिटी निर्माण भै परिचालित छ । तर, कमिटीको भूगोलसँग जोडिने खास नीति छैन । केन्द्रीय कमिटीले जिल्ला बाहिर क्रियाशील कमिटीलाई भूगोलसँग जोड्न विधि तय गर्नुपर्छ । जिल्ला अधिवेशनहरूमा सम्पर्क कमिटी र प्रवास कमिटीलाई प्रतिनिधित्व गराउने सवालमा वैधानिक व्यवस्था नहुँदा अन्योल कायम छ र ती कमिटीहरूमा निरासा छाएको छ ।

पार्टी सदस्यता, दोब्बर विस्तार गरौं

दोलखामा हाल भएको पार्टी सदस्य संख्यालाई मिसन-८४ सम्म दोब्बर बनाउने प्रस्ताव स्वीकृत भएको छ । त्यसो गर्दा जनसंख्याको आधा नेकपा एमालेमा समाहित गर्ने हाम्रो पार्टीको रणनीतिक लक्ष्य परिपूर्ति गर्न सकिन्छ । जनसंख्याको अनुपातमा अति नै कम पार्टी सदस्य भएका पालिकाहरुले सदस्य विस्तारमा विशेष योजना बनाउनु आवश्यक देखिन्छ । नेकपा एमाले दोलखाले पार्टीभित्र छिर्न सजिलो ढोका बनाउनुपर्छ । अधिकतम व्यक्तिका लागि पार्टीभित्र प्रवेश गर्ने सबै स्वागतद्वार खुला हुनुपर्छ । प्रवेश गरेपछि सहजतापूर्वक राजनीतिक भविष्य निर्माणको वातावरण बनाइदिनु पर्छ । पार्टीभित्र कसले प्रवेश गराएको हो, त्यहीअनुसार भेदभाव र व्यवहार गर्ने संकीर्णता पनि देखिन्छ । त्यस्तो विकृतिको अन्त्य गरेर नव र प्रवेशी नेताहरूलाई विभिन्न जिम्मेवारी दिएर पार्टीभित्रबाट बाहिर निस्कनै नसक्ने स्वस्थ र सम्भावनायुक्त राजनीतिक वातावरण निर्माण गर्न अभियान सञ्चालन गर्नु अधिवेशनले भनेको छ ।

जसले जे भने पनि नेपालीले राजनीतिक प्लेटफर्ममा हालसम्म सर्वाधिक रूचाइएको दल नेकपा एमाले नै हो भन्ने निर्वाचनको परीक्षणले देखाएको छ । सबैभन्दा विश्वास र भरोसा नेकपा एमालेलाई नै गरेको देखाएको छ । समकालीन नेताहरूमध्ये अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नेपाली जनताले ठानेको अवस्था छ । त्यसैले देश सुधार्ने, पार्टी र नेता सुध्रेर धमिलो राजनीतिलाई कञ्चन बनाउने खास जिम्मेवारी पनि एमालेका अध्यक्ष र शीर्ष नेताहरूलाई नै छ । जारी केन्द्रीय बैठकले नेपालीलाई आशा जगाउने, पार्टीको आन्तरिक पक्ष सुधार गर्ने सन्देश दिन सकोस् भन्ने कामना गर्छु ।

(मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *