किताबका कुरा : के पढ्ने, किन पढ्ने ? – Nepal Press

किताबका कुरा : के पढ्ने, किन पढ्ने ?

कसैले कतै लेखेको पढेको थिएँ, ‘किताब पढ्ने मानिसले हजारौं जीवन बाँचेको हुन्छ, कल्पनामा रमाउन र खुशी हुन जानेको हुन्छ’ धनले मानिसहरु कति खुशी हुन्छन् धनीहरुलाई सोध्दा थाहा होला, तर किताब पढ्नेहरु भने जिउने कला जानेका र आनन्दित पक्कै हुन्छन ।

किताबहरु कति लेखिए र कति लेखिनेछन् ? कति बेचिए र कति किनिए ? कति पढिए र कति पढाइए ? के किताब पढेर मानिस झन् झन् ज्ञानी भएको छ त ? कि पढ्नु भनेको डिग्री, जागिर वा नशा मात्रै हो ?

के ज्ञानको लागि किताब नै पढ्नु पर्छ र ? भनिन्छ, यो प्रकृति र यहाँका जीव–जीवात्माहरु ज्ञानका लागि खुला किताब सरह हुन् । मानिसका व्यवहार, अन्तर्किया, भावना, पीडा, संवेदना–वेदनाहरु ज्ञानका प्रत्यक्ष श्रोतहरु हुन् ? मानिसले देखाउने प्रेम र सहयोगी व्यवहार अनि धोका र पीडाले कति धेरै जीवनोपयोगी ज्ञान दिइराखेका हुन्छन् ?

बौद्ध दर्शन र ध्यानीहरुका कुरा सुन्ने हो भने सबैभन्दा गाह्रो त आफ्नै मनलाई बुझ्न र पढ्न रहेछ । आफ्ना मनका उब्जेका रिस, द्वेष, इर्ष्या, घमण्ड अनि भित्री र बाहिरी व्यवहारमा हुने द्वेधतालाई मिहिनरुपमा नियाल्न सक्ने मानिस नै सबैभन्दा ज्ञानी मानिस हो र उसलाई कुनै किताबको जरुरत नै पर्दैन ।

चित्रकला, वास्तुकला लगायतका कलाहरु, नाटक, चलचित्र, गीत–कविता, बैज्ञानिक आविस्कार, कार्टून जस्ता विभिन्न श्रीजनशील कामहरुले समेत मानिसमा गहिरो ज्ञानको संचार गरि राखेका हुन्छन् ।

यद्यपी मानवजीवनमा ज्ञान–शिप, रोजगारी, कला प्राप्त गर्नको लागि अझै पनि किताबको अपरिहार्यतालाइ स्वीकार गरिएको जस्तो देखिन्छ । किताबको सर्व–स्वीकार्यताको पछाडि कुन तत्व वा मनोवैज्ञानिकताले काम गरि राखेको होला ?

मानिस भावुक जीव हो । मानिसलाई कथा मन पर्छ । प्रख्यात लेखक युब्हल नोहा हरारी कतै भन्छन् कि यदि मानिसले कथा भन्न नजानेको भए उसले संवेज्ञानात्मक परिवर्तनमा यति ठूलो फड्को मार्न सक्ने थिएन र सायद अरु प्राणी जस्तै जीवन जिउने थियो ।

सन् ८६८ मा प्रकाशित बौद्ध धर्मको किताब ‘डायमण्ड सुत्र’ वा ‘डायमण्ड कटर सुत्र’ लाइ नै विश्वको पहिलो प्रकाशित किताब मानिन्छ । यो किताब ५ मिटर जति लामो र चिना खोले जस्तो गरि तलतिर खोल्दै जानु पर्ने गरि तयार गरिएको छ ।

खासमा यो किताब तयार गर्न पहिला हरेक पेजहरुलाई काठमा कुँदिएको थियो र ती काठका फ्रेमहरुमा मसि दलेर कागजमा थिची अक्षरहरु प्रिन्ट गरिएका थिए । तर धातुबाट बनेको पहिलो किताब भने आजभन्दा करिब २६७० वर्ष पुरानो ‘इत्रुस्क्यानको सुनौला किताब’ लाई मानिन्छ जसमा ६ वटा सुनका पृष्ठहरु छन् । यो किताब बुल्गेरियाको राष्ट्रिय ऐतिहासिक संग्रालयमा राखिएको छ ।

पहिलो किताब पसल सन् १५४५ मा फ्रान्समा खुलेको थियो । सन् १८१० मा फ्रान्सले पहिलो पटक किताब पसल खोल्नको लागि लाइसेन्स लिनुपर्ने कानून ल्याइयो । त्यतिखेर लाइसेन्स दिनुभन्दा पहिले निवेदकको क्षमता, नैतिकता र राज्यप्रतिको बफादारिताको परीक्षण गरेर मात्र पेरिसको मेयरले ओथ लिएर लाइसेन्स प्रदान गर्थे ।

त्यसो त अहिले अंग्रेजी साहित्यको नै विश्वभर रजगज छ तर फ्रान्सेलीहरुको साहित्यिक गहिराइ, उनीहरुको पढ्ने बानी (प्रायजसो फ्रान्सेली युवा–युवतीसमेत रेल–गाडीमा यात्रा गर्दा पनि किताब पढिराखेको देख्न सकिन्छ) अनि उनीहरुका हरेक घरमा हामीले भान्छा घरलाई महत्व दिएजस्तै महत्व दिएर बनाइएका लाइब्रेरी कक्ष देख्दा महुसस गर्न सकिन्छ कि उनीहरु पढ्नलाइ कति महत्व दिन्छन् भन्ने कुरा ।

धार्मिक ग्रन्थहरुका पुस्तकहरु हजारौं वर्ष पुराना हुन् भन्ने मान्यता छ र हिन्दु शास्त्रका रामायण–महाभारत लगायतका ग्रन्थहरु कम्तिमा पनि ३÷४ हजार वर्ष अघि लेखिएका हुन् भन्ने एक थरि विद्वानहरुको जिकिर छ । नेपालमा उन्नाइसौं शताब्दी (सन् १८१४–१८६८) मा आदिकवि भानुभक्तले भन्दा पहिला कसैले पनि नेपाली भाषामा किताब लेखेको प्रमाण भेटिदैन ।

आदिकविका कृति समेत मोतीराम भट्टले खोजेर तथा संकलन गरेर नेपाली पाठकसामू उजागर गरिदिएको देखिन्छ । नेपालको पहिलो उपन्यास भने गिरिश बल्लभ जोशीले लेख्नु भएको ‘बिर चरित्र’ हो जुन सन् १९०३ मा प्रकाशित भएको थियो तर राणा शासनले त्यतिखेर प्रकाशित भएको सबै किताब जफत गर्यो ।

त्यसैले त्यो बेला केही साहित्य अनुरागी तथा तत्कालीन व्यवस्था विरोधी पाठकहरुलाई हस्तलिखित कपीहरु तयार गरेर बाँडिएको थियो । बरु रुद्रराज पाण्डेको सन् १९३४ मा प्रकाशित ‘रूपमती’ नेपाली भाषाको पहिलो सबैभन्दा पढिएको उपन्यास बन्न पुग्यो किनकि ‘बीर चरित्र’ ले पूर्णरुपमा प्रकाशित हुन सन् १९६५ सम्म कुर्नु परेको थियो ।

अहिलेसम्म सबैभन्दा बढी पढिएको पुस्तक बाइबल नै हो तर यतिबेलाको विश्वको जनसंख्या, उच्चतम साक्षरता दर अनि विश्व भरि एकै पटक सयौं भाषामा प्रकाशित हुने अनि करोडौं कपी बिक्री हुने ट्रेन्डलाई साक्षी राख्ने हो भने युब्हल नोहा हरारीका ‘स्यापियन्स’ वा ‘होमो डिओस’ जस्ता किताबहरुले पो बाजी मार्छन् कि जस्तो पनि लाग्छ ।

चाहे जे होस्, हरारीका किताबहरुले हाम्रो विश्व दृस्टीकोणमाथि निकै तीक्ष्ण ढंगले धावा बोलेका छन् । अझ भनौ, यो आलेख तयार पार्ने लेखकको व्यक्तिगत अनुभवको आधारमा भन्ने हो भने युब्हल हरारीका किताबहरुले जस्तो फरक दृस्टीकोण र दर्शन अनि वैज्ञनिक संश्लेषण कुनै पुस्तकले पस्कन सकेका थिएनन् ।

त्यसो त ब्रिटिश लेखक केन फोलियटका ऐतिहासिक उपन्यासहरु र अमेरिकन लेखक जोन गृस्हमका अमेरिकी कानुन र राजनीतिक उपन्यासहरु पढेमा जोसुकै पनि कितावको नशाबाट कायल हुनसक्छ तरपनि ‘स्यापिएन्स’ र ‘हवाई नेसन्स फेल’, ’थेओरी अफ एभ्रीथिंग’, ’इनर्जी एंड सिभिलाइजेसनः अ हिस्ट्री’ जस्ता दार्शनिक पुस्तकहरुले मानिसका विचार निर्माणमा निकै ठूलो योगदान गरेका छन् ।

चाहे पाउलो कोहेलोका ‘अलकेमिस्ट’, ‘द पिल्ग्रिमेज’ जस्ता किताबहरु हुन्, चाहे चेतन भगतका ‘हाफ गर्लफ्रेन्ड’, ‘टु स्टेट्स’ वा चाहे सुबिन भट्टराईका ‘साया’, ‘डिएर सुफी’ नै किन नहुन ।

अहिलेको नेपाली युवा पाठकलाइ राम्रै खुराक मिलिनै राखेको छ । खासमा यी श्रष्टाहरुले नेपाली युवा पाठकलाई किताबप्रेमी बनाउन निकै ठूलो योगदान गरेका छन् । तर किताबको खास महत्व चाहिँ के हो त ? किताबले करिअरलाइ सघाउँछ कि, डिग्री र मान बढाउने हो कि वा किताब एउटा नशा मात्र हो ? संसारमा किताब पढ्नेहरुले के के गरे त ?

हामीले गान्धीको वा मण्डेला वा स्टिभ जब्सको जीवनी पढेर के पायौ ? गान्धीको जीवनी पढेर हामी कति जना अहिंस्रक सत्यका प्रयोगधर्मी, सादगी र सात्विक बन्यौ होला ? मण्डेलाको जीवनी पढेर हामी कति जना महान नेता बन्यौ होला र जब्सको जीवनी पढेर हामी कति जना महान व्यवसायी बन्यौ होला ? के हाम्रा कुनै नेताले ली क्यान यु को ‘तेश्रो विश्वबाट पहिलो विश्वतिर’ भन्ने किताब पढेका छैनन् होला ? छन् भने खोइ त किताब पढेको नतिजा ?

भारतीयहरुको कुरा सुन्ने हो भने जहवारलाल नेहरुको ’डिस्कभरी अफ इंडिया’ ले भारतबासीको आँखा नै खोलिदिएको थियो र भारतको विकासको नयाँ मोडेल र जग बसाल्न नया मार्ग प्रदर्शन गरेको थियो ।

दक्षिण एसियामा पाकिस्तानकी तसलिमा नसरिनको ‘लज्जा’ वा ‘नो कन्ट्री फर उमन’ र भारतकी कमला भासिनक ‘अन्डरस्ट्याण्डिङ जेण्डर’ वा ‘पितृसत्तात्मकता भनेको के हो’ जस्ता किताबहरुले महिला शसक्तिकरणको अभियानमा निकै महत्वपूर्ण भूमिका खेलेका छन् ।

कुनैबेला रसियन लेखक म्याक्सिम गोर्कीले लेखेको किताब ‘आमा’ लाई कम्युनिष्टहरुले सर्वहारा वर्गको आन्दोलनको लागि मार्गचित्र नै मानेका थिए । कार्ल मार्क्सले लेखेका ‘दास क्यापिटल’ र ‘कम्युनिष्ट मेनिफेस्टो’ त कम्युनिष्टहरुको भागवत गीता नै भइहाल्यो ।

फ्रेन्च लेखक जुल्स भर्नेको ‘असी दिनमा बिश्व यात्रा’ पनि कुनै बेला सबैभन्दा बढी पढिएको किताब थियो । यो किताबले अविचलित साहसिक यात्रा, प्रतिवद्धता र नविन खोजको बेजोड स्वाद पस्केको छ ।

हर्मन हेस्सेको ‘सिद्धार्थ’ मा आफैंभित्रको खोज र अध्यात्मिक प्रस्फुटन अनि सत्य र आत्मिक शान्तिको जुन यात्रा वर्णन गरिएको छ, त्यसले पाठकलाई बौद्ध दर्शनको वास्तविक मर्मको महशुस गराइदिएको झैँ लाग्छ । अनि पर्ल्स एस बकको ‘कल्याणी धर्ती’ पढ्दा चीनको पुरानो जीवनशैली र बाँच्नको लागि हरेक ठाउँका मानिसले गरेका संघर्षको बारेमा बुझ्न पाइन्छ । के यी रचनाहरुले मानव जीवनमा कुनै मुल्यको सृजना गरेनन होला ?

अब हेरौं हाम्रै नेपाली श्रष्टाका कृतिहरु । लक्ष्मी प्रसाद देवकोटा, बाल कृष्ण सम, सिद्धि चरण श्रेष्ठ, कवि शिरोमणि लेखनाथ पौडेल, डाइमण्ड शमशेर जबरा जस्ता लेखकहरुले आधुनिक नेपालको साहित्यलाई मलजल गरेका हुन् ।

भनिन्छ, देवकोटाको ‘मुनामदन’ ले नै नेपालीहरुलाई बुझाएको थियो कि भगवानका गाथा भएका मात्रै होइन, हाम्रा आफनै दुःख–सुखका कथाले लेखिएको सरल लोक भाका पनि किताब बन्दो रहेछ भन्ने कुरा ।

नेपालमा एउटा यस्तो पुस्ता पनि थियो जसले लेखनाथ पाैडलकाे ‘चरीकाे बिलाप’ र ‘नैतिक दृष्टान्त´ पढेर मात्र जीवनका दर्शनहरु पहिल्याउन सिक्यो । यदि नेपाली लेखकले अनुपम साहित्यिक गहिराइ र क्लिस्टता भएको रचना तयार पार्न सक्दैन भनेर भनेर कुनै पनि विद्वानले भन्छ भने उसलाई आदिकविको ‘शाकुन्तल’ थमाईदिए पुग्छ ।

नेपाली साहित्यको आकाशलाई राजनीति आफ्नो मूल कर्म मानेर हिँडेका बी. पी. कोइरालाले अर्को आयाम दिए भन्दा पक्कै अन्यथा हुनेछैन । त्यसो त उनका रचनालाई सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानबाट प्रभावित भन्नेहरु धेरै छन् तर उनका (नरेन्द्र दाइ, र ’बाबु, आमा र छोरा’ लाई छोडेर) ‘सुम्निमा’, ‘मोदी आइन’, ‘तीन घुम्ती’ जस्ता किताबहरुलाई तटस्थ भएर पढ्ने हो भने उनको प्रकृतिवाद, महिलालाई बुझ्ने र सम्मान गर्ने फरक दृष्टीकोण सजिलै परख गर्न सकिन्छ ।  ‘सुम्निमा’ बी. पी. कोइरालाको र यो जनराको सबैभन्दा उत्कृष्ट सृजना हो भन्दा अतिसयोक्ति हुने छैन ।

त्यसो त ‘शिरिषको फूल’ लाई अहिलेसम्मकै अब्बल नेपाली सृजना भन्दा नेपाली पाठकबीच कुनै मतभेद नहोला । पारिजातका किताबहरुले नेपालीलाई राजनीतिक चेतनाको लागि घच्घच्याएनन् होला भनेर कसरी ठोकुवा गर्न सकिन्छ र ? किन शंकर लामिछानेका समालोचनाको स्थान अरु लेखकका अन्य सृजनाको भन्दा माथि मानिन्थ्यो ? के खगेन्द्र संग्रौलाको ‘जुनकिरीको संगीत’ले पहाडमा कुनै बिगुल नै फुकेन होला ? अनि कुमार नगरकोटीका किताबले कौतुहलता र विरोधाभासपूर्ण विचारहरुको हल्ला मच्चाउँदैनन् र ? के यी सृजना र विचारहरुको कुनै मूल्य नै छैन ?

वास्तविक, दुःखद तर कलात्मक सृजना दिएका ध्रवचन्द्र गौतमको ‘अलिखित’ होस् वा आदर्श समाजको बेजोड प्रस्तुति पस्केका सरुभक्तको ‘पागलबस्ती’ होस्, नयाँ प्रस्तुतीकरण शैली लिएर आएका नारायण वाग्लेको ‘पल्पसा क्याफे’ भनौ वा अहिलेसम्म एउटा मात्रै सृजना पस्केका घनश्याम खड्काको ‘निर्वाण’ वा नेपाली साहित्यका कान्छा नक्षत्र विष्णु सापकोटाको ‘अड्किएका पाइलाहरु’ यी र यस्ता सयौं सृजनाहरुले नेपाली साहित्यिक आकाश निकै फराकिलो हुन लागेको सन्देश तरंगित गरिराखेका छैनन र ?

दौलत विक्रम बिष्टको ‘थाकेको आकाश’ र ‘चपाइएका अनुहारहरु’ डोर बहादुर बिष्टको ‘भाग्यावाद र विकास’, सोताला, मदन मणि दीक्षितको ‘माधवी’, जगदीश चन्द्र घिमिरेको ‘अन्तर्मनको यात्रा’, आहुतिको ‘स्खलन’, कृष्ण धारावाशीको ‘झोला’ बज्रेशको खनालको ‘जुनकिरी’, बुद्दिसागरको ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, राजन मुकारुंगको ‘दमिनी भिर’ जस्ता किताबहरु पढ्न नेपाली पाठकलाई समय निस्कियो भने नेपाल र नेपाली समाजलाई बुझ्न अरु ठूला–ठूला सैद्धान्तिक शास्त्र पढ्नै पर्ला झैँ लाग्दैन । नेपाल विदेशीको आँखामा कस्तो देखिन्छ त ? भारतका प्रख्यात विद्वान एस. डी. मुनी, पूर्व राजदुत रंजित रे जस्ता विद्वानहरुका कितावहरु पढदा पनि नेपालको बारेमा फरक ठाउँबाट दृष्टीगोचर गर्न सकिन्छ ।

यदि गुगल वा ‘एआई’ जस्ता कम्प्युटर निर्मित विद्वानहरुलाई किताबको महत्वको बारेमा सोध्ने हो भने निकै ‘फ्यान्सी’ उत्तरहरु पाइन्छ ।

जस्तोकि किताब हाम्रो सबैभन्दा निस्वार्थ साथी हो, यसले हाम्रो वरपर र विश्वलाई हेर्ने नयाँ नजरिया दिन्छ, आत्मविश्वास बढ्छ, अरुले बाँचेको जीवनको साक्षात्कार गर्न सकिन्छ, विद्यार्थी जीवनमा हुने तनाव घटाउने र स्मरण शक्ति बढाउने, अन्तरक्रिया र बोलीचाली कलामा सुधार, इतिहास र भूगोलको ज्ञान, अनुसन्धान र विश्लेषण गर्ने क्षमतामाको विकास, बहुविषयगत दृष्टिकोण, समुदायको विकासमा नयाँ–नयाँ योगदान जस्ता सयौं फाइदाहरु त्यहाँ भेट्न सकिन्छ ।

तरपनि किताबलाई अभिन्न अंग नै हो भनेर कसरी प्रमाणित गर्ने ? यदि किताव पढेरै जीवनको अधिकांश समय व्यतीत गर्ने हो भने यसको लगानी चाहिँ कहाँबाट उठछ ? किन कति मानिसहरु किताब पढ्न र लेख्नमै आफ्नो जीवनलाई आहुति दिइराखेका छन् ? उत्तर कोसँग होला ?

 


प्रतिक्रिया

2 thoughts on “किताबका कुरा : के पढ्ने, किन पढ्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *