झोलुंगे पुल उद्घाटन गर्न प्रधानमन्त्री हेलिकोप्टरबाट जनकपुर आउँदै – Nepal Press

झोलुंगे पुल उद्घाटन गर्न प्रधानमन्त्री हेलिकोप्टरबाट जनकपुर आउँदै

जनकपुरधाम । धनुषा-सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन र अर्काे पक्की पुलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेका छन् ।

आज विहान ११:३० बजे प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम आउन लागेका हुन् । उनी आएलगत्तै हुलाकी सडकको निरीक्षण गर्दै जनकनन्दनी गाउँपालिका पुग्ने कार्यक्रम छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठाल र सिरहा नगरपालिका १३ मल्हनिया जोड्ने कमला नदीमा झोलुङ्गे पुल बनेको छ । साढे २५ करोडको लागतमा बनेको उक्त पुल संचालनमा आइसकेको छ । तर आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् ।

झोलुङ्गे पुलको उद्घाटन पश्चात उनी धनुषाको सबैला नगरपालिका ४ पटेर्वा पुगेर कमला नदीमा पक्की पुलको शिलान्यास गर्ने कार्यक्रम छ । पटेर्वा घाट र सिरहाको कल्याणपुर नगरपालिका ५ चिकना घाट जोड्ने करिब ५ सय मिटरको पुल निर्माण हुनेछ ।

पुल निर्माणका ठेक्का लागिसकेको छ । उक्त पुल १ अरब ११ करोडको लागतमा निर्माण हुनेछ ।

हुलाकी सडकको दक्षिणतर्फ झोलुङ्गे पुल बनेको छ भने उत्तरतर्फ पक्की पुलको शिलान्यास गरिदैछ । तर हुलाकी सडक अन्तर्गत १२ वर्षमा बनेर भासिएको पुलको पुनः निर्माण अबिलम्ब गर्नुपर्नेमा सरकारको ध्यान गएको छैन् ।

धनुषामा झोलुङ्गे पुलको उद्घाटन र अर्को पक्की पुलको शिलान्यासपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो सर्लाही पुग्ने बुझिएको छ । सर्लाहीको बागमती नगरपालिकामा खेलकुद मैदानको समुद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं प्रस्थान गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर