पक्लिहवा कृषि क्याम्पसका विद्यार्थी दुई सातादेखि आन्दोलनमा,पठनपाठन ठप्प – Nepal Press

पक्लिहवा कृषि क्याम्पसका विद्यार्थी दुई सातादेखि आन्दोलनमा,पठनपाठन ठप्प

रुपन्देही । शैक्षिक शुल्कमा गरेको वृद्धिको विरोधमा रुपन्देहीमा रहेको कृषि पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका विद्यार्थीहरु फागुन एक गतेदेखि आन्दोलनमा छन् ।

अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघ तीन वटै विद्यार्थी संगठनले १२ बुँदे माग राख्दै गरेको तालाबन्दीले क्याम्पसको पठनपाठन ठप्प छ । भर्ना शुल्कमा असमान वृद्धि गरेको, पुनः परिक्षामा चर्को शुल्क, पहिलो सत्रमा दिने परिचयपत्रका लागि अन्तिम सत्रसम्मै शुल्क बुझाइ राख्नुपर्ने, कक्षा कोठाको अभावसँगै जिर्ण भवनको जीर्णोद्धार नभएको लगायतका माग गर्दै विद्यार्थीहरु आन्दोलनमा रहेको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मदन कंडेलले बताए ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तरगत सञ्चालन भएका आंगिक क्याम्पसहरुको डीन कार्यालयले कायम गरेको शुल्कलाई नै नियमित सत्र शुल्क लिने गरि कायम गरिएको छ । तर, क्याम्पस पिच्छे फरक फरक शैक्षिक शुल्क उठाइएको विद्यार्थीको आरोप छ ।

अन्य आंगिक क्याम्पसको तुलनामा पक्लिहवा क्याम्पसमा पढ्ने एक विद्यार्थीले सातौँ सत्रान्तसम्म अतिरिक्त चार हजार चार सय ९६ रुपैँया बुझाएको दाबी गरेका छन् । यता क्याम्पस प्रशासनले भने डीन कार्यालयले कायम गरे अनुसार शुल्क लिएकोले पुनः शोधभर्ना गर्न नसकिने जनाएको छ । बरु डीन कार्यालयले निर्देशन दिए उक्त रकम बराबरको अनुसन्धान तथा प्रयोगात्मक शिक्षामा विद्यार्थीहरुलाई सहभागी गराउन सकिने क्याम्पस प्रमुख रामभजन मण्डलले जनाएका छन् ।

विसं २०६६ साल मंसिर १९ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०६६/२०६७ देखि विद्यार्थी भर्ना हुँदा लिने शिक्षण शुल्क, प्रवेश शुल्क लगायत अन्य निर्धारित शुल्कमा समयानुकुल परिमार्जन गर्दै लैजाने उल्लेख गरिएको छ । जसअनुसार प्रत्येक वर्षमा दश प्रतिशत स्वतः वृद्धि हुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *