कहिले बनिसक्छ भरतपुरको ६ लेन सडक ? – Nepal Press

कहिले बनिसक्छ भरतपुरको ६ लेन सडक ?

चितवन । भरतपुर महानगरपालिकाले गत जनवरी १ गते सुरु गर्ने भनेको भरतपुर भ्रमण वर्ष २०२४ स्थगित गरेपछि यही फागुन १८ गते धुमधाम उद्घाटन गर्ने मिति तय गरेको छ ।

महानगरको मूल सडक भरतपुरदेखि गोन्द्राङसम्म नै बाटो अस्तव्यस्त रहेको, नारायणगढ मुग्लिन सडक खण्ड दिनमा चार घण्टा बन्द गरेर काम गरेको र बुटवल नारायणगढ सडक पनि अस्तव्यस्त रहेको मूल कारण देखाउँदै महानगरले भ्रमण वर्ष स्थगित गरेको थियो ।

अझै पनि तीनतर्फ नै सडक निर्माण भने सम्पन्न भएको छैन । नारायणगढ मुग्लिन सडक खण्ड त फागुन १३ आइतबारदेखि बन्द नगर्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाइसकेको छ । तर, भरतपुर महानगरको मुख्य स्थान भरतपुर र नारायणगढ क्षेत्रको ६ लेन सडक अस्तव्यस्त छ ।

गोन्द्राङदेखि चौबीसकोठीसम्म कालोपत्रे सकिए पनि चौबीसकोठीदेखि पुल्चोकसम्मको बाटो अझै अस्तव्यस्त छ । भरतपुर महानगरले भने भ्रमण वर्ष २०२४ लाई मार्च १ अर्थात् फागुन १८ गते सुरु गर्नेगरी तयारी थालिसकेको छ ।

भ्रमण वर्ष केन्द्रित गतिविधिअन्तर्गत नारायणी किनारको बालुवामा दुबो बिछ्याउने, विभिन्न उपसमितिहरुको बैठक, छलफललगायतका काम गरेर सो दिन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने तयारीमा महानगर छ ।

तर, सडकको अस्तव्यस्तताले भ्रमण वर्ष सहज हुने अवस्था देखिँदैन । मुख्यगरी भरतपुर महानगरको मुख्य ६ लेनको बाटो आगामी सात दिनभित्र पूरा हुने देखिँदैन ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर अधिकारीले २०८१ साल भदौसम्ममा मात्रै भरतपुरभित्रको ६ लेनको सडक निर्माण पूरा हुने जानकारी दिए ।

अहिले वीरेन्द्र क्याम्पस गेटदेखि पुल्चोकसम्म सडकको बेस कम्प्रेसन कार्य भइरहेको छ । सामान्यतया सडक निर्माण गर्दा तीन तहसम्म पीच गर्नुपर्ने हुन्छ । उनका अनुसार अबको सातादिनमा पहिलो चरणको कालोपत्रेले धूलोमात्रै रोक्ने काम गर्न सकिन्छ ।

‘भ्रमण वर्षलाई लक्षित गरेर छिटो काम गर्न भनिरहेका छौं’, इन्जिनियर शाहले भने, ‘गिटी राखेर लोडरले थिचेर छोडिएको छ, एक सातासम्म पहिलो चरणको कालोपत्रे बिछ्याउनमात्रै भ्याइन्छ ।’

२०७७ साल असोज २६ गते सम्झौता गरी पुल्चोक गोन्द्राङ सडक खण्ड ६ लेन पीच थालनी भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी थालिएको सडकको कुल लागत १ अर्ब ३० करोड हो । तर, अझै ४५ करोडको काम बाँकी रहेको उनले जानकारी दिए ।

अहिले बजेट अभावका कारण पनि काम ढिला भइरहेको इन्जिनियर शाहले बताए । उनका अनुसार यस वर्ष ५ करोड रुपैयाँमात्रै उक्त सडकको लागि छुट्याइएको छ । तर, ५ करोड ठेकेदारले लगिसकेका छन् । करिब १० करोड रुपैयाँ भुक्तानी बाँकी रहेकोले पनि समयमै काम गराउन समस्या भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *