अगस्त्य रिलिजअघि नै निर्देशकले गरे सिक्वेलको घोषणा, फिल्मबारे के भन्छन् प्रमुख कलाकार ? – Nepal Press

अगस्त्य रिलिजअघि नै निर्देशकले गरे सिक्वेलको घोषणा, फिल्मबारे के भन्छन् प्रमुख कलाकार ?

काठमाडौं । यही फागुन १८ गते रिलिज हुने चलचित्र हो, ‘अगस्त्य च्याप्टर १’। रिलिज डेट नजिकिएसँगै यतिबेला चलचित्रका निर्देशक र कलाकारहरु प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । यसै क्रममा निर्माण टीमले बिहीबार काठमाडौंमा सीमित पत्रकारमाझ कार्यक्रम राखेको थियो । कार्यक्रममा चलचित्रका सम्पूर्ण टीमको उपस्थिति थियो ।

चलचित्रका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए । उक्त घटना लकडाउन अघि र लकडाउनको समयको रहेको उनको भनाइ छ ।

‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो चलचित्र दर्शकका लागि सिनेमाटिक छ । उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो चलचित्रमा पाउनुहुनेछ’, निर्देशक चौधरीले सुनाए, ‘चलचित्र हेरिसकेपछि कथालाई जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।’

सौरभले आफूले अलिक फरक किसिमको कथामा काम गर्न चाहेको बताउँदै त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ले पुरा गरेको दाबी गरे ।

‘आजको दिनसम्म नेपाली दर्शकले राम्रो चलचित्रलाई साथ दिनुभएको छ। त्यसैगरी उहाँहरुले हाम्रो चलचित्रलाई पनि न्याय दिनुहुनेछ भन्नेमा म ढुक्क छु । अर्को कुरा, हामीले स्क्रिप्टको मागअनुसार नै यसको दोस्रो भाग निर्माणको तयारी गरिरहेका छौं’, उनले जोडे ।

चलचित्रको ट्रेलर र टिजर हेर्दा मधेशको कथा जस्तो देखिए तापनि यो मधेशको कथा नभई समग्र देशको कथा रहेको उनले बताए ।

चलचित्रमा अभिनेता सौगात मल्लको अभिनय देख्न सकिनेछ । मल्लले चलचित्रमा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए ।

‘म आफैं पनि झण्डै झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ’, उनले भने, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अप्ठेरो हुन्छ ।’

चलचित्रमा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५-२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको सुनाए ।

चलचित्रका अर्का नायक हुन्, नाजिर हुसेन । अधिकांश चलचित्रमा रोम-कमको भूमिकामा देखिएका अभिनेता हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । आफूले चलचित्रमा फरक फरक इमोसनमा काम गरेकाले एउटै कलाकारले धेरै वटा पात्रमा काम गर्न चाहेको रहरलाई ‘अगस्त्य: च्याप्टर १’ले पूरा गरेको उनले सुनाए ।

चलचित्रकी अभिनेत्री भने मलिका महत हुन् । उनले आफूभन्दा अग्रज कलाकारसँग काम गर्दा दबाबको महसुस भए पनि उनीहरुबाट धेरै सिकेको बताइन् । ‘अग्रज कलाकारबाट आफूले शक्ति पाएको आभाष भयो’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर