डा. शेखरले तोड्लान् त देउवाले बनाएको इतिहास ? – Nepal Press

डा. शेखरले तोड्लान् त देउवाले बनाएको इतिहास ?

नेपाली कांग्रेस नेपालमा अहिले भएका राजनीतिक दलहरुमध्ये सबैभन्दा पुरानो पार्टी हो । राणाशासनदेखि राजतन्त्र अन्त्यसम्मको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको पर्याय जस्तै छ । ७० वर्षभन्दा लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राख्ने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्ययन र बुझाइ अपुरो हुन्छ । कांग्रेसको राजनीतिमा अहिले पनि चार पुस्ताका प्रतिनिधिहरू सहभागी छन् ।

स्थापनाकालमै २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गरेको कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व गरेको छ । २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन होस् वा राणाविरोधी २००७ को क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन अनि २०६२/६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म कांग्रेसको विगत गर्विलो छ ।

यो गर्विलो इतिहास बनाउन नेपाली कांग्रेसका धेरै नेताहरूको त्याग र बलिदान छ । ७० वर्षभन्दा लामो इतिहास बोकेको कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा छन् । सभापतिको प्रतिस्पर्धामा उत्रिएका धेरै नेता कांग्रेसको सभापति बन्न पाएनन्, देउवामात्र दुई पटकको प्रतिस्पर्धापछि सभापति बन्न सफल भए ।

नेपाली कांग्रेसको सभापति बन्न बीपी कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवालाई समेत नेताहरुले चुनौती दिएका थिए । बीपी कोइरालालाई केदारमान व्यथितदेखि भूदेव राईसम्मले चुनौती दिए । तर, सभापति बीपी कोइराला नै भए । न केदारमान सभापति बन्न सके न त भूदेव राई ।

छैंटौ महाधिवेशनमा सुर्वणशमशेरसँग सभापतिमा प्रतिस्पर्धा गरेका गणेशमान पनि कांग्रेस पार्टीको सभापति कहिल्यै बन्न सकेनन् । सिंह कांग्रेसको सबैभन्दा ठूलो सर्वमान्य नेता बने तर सभापति बन्न सकेनन् ।

त्यसैगरी बीपी कोइरालाले २०३४ सालको पटना सम्मेलनबाट कार्यबाहकको जिम्मेवारी सुम्पेपछि कृष्णप्रसाद भट्टराईले लामो समय कार्यबाहक सभापतिकै रुपमा पार्टी सञ्चालन गरे । आठौं महाधिवेशनबाट उनी सर्वसम्मत सभापति बने ।

नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका चिरञ्जीवी वाग्ले र रामहरि जोशी पनि कहिल्यै सभापति बन्न सकेनन् । गिरिजाप्रसादसँगै प्रतिस्पर्धा गरेका भीमबहादुर तामाङ र नरहरि आचार्य पनि कहिल्यै सभापति बन्न सकेनन् ।

त्यस्तै शेरबहादुर देउवासँग १३औं महाधिवेशनमा सभापति प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेल पनि नेपाली कांग्रेसको सभापति भएनन् । पौडेल मुलुककै सर्वोच्च पद राष्ट्रपति भए । तर, कांग्रेसको सभापति बन्न सकेनन् । अहिलेसम्म शेरबहादुर देउवामात्रै एउटा यस्ता पात्र भएका छन्, जसले पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए । दुईदुई पटक सभापतिमा पराजित भएर पनि सिंगो कांग्रेसको दुईदुई पटक नै नेपाली कांग्रेसको सभापति बन्न सफल भए शेरबहादुर ।

सर्वसम्मत सभापति चुनेका ४ वटा महाधिवेशन

राष्ट्रिय कांग्रेसको रुपमा पहिलो महाधिवेशन २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ता भवानीपुरस्थित खालसा हाइस्कूलमा सम्पन्न भयो । तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङ्कप्रसाद आचार्य सभापतिमा र विश्वेश्वरप्रसाद कोइराला कार्यबाहक सभापतिमा निर्वाचित भएका थिए । सुरुमा कांग्रेसको अधिवेशन हरेक वर्ष हुन्थ्यो । फलस्वरुप २००४ साल माघ २० देखि २२ गतेसम्म भारतको बनारसमै कांग्रेसको महाधिवेशन भयो ।

यो महाधिवेशनले हिरासतमै रहेका बीपी कोइरालालाई सभापति निर्वाचित गर्‍यो । तर, उनी रिहा नभएसम्मका लागि डा. डिल्लीरमण रेग्मीलाई कार्यबाहक सभापति तोकियो । नेपालमा राणाविरोधी गतिविधि चलिरहेका बेला कांग्रेसको तेस्रो महाधिवेशन २००५ साल फागुन १८ गते भारत बिहारको दरभङ्गामा भयो । अघिल्लो महाधिवेशनले सभापति निर्वाचित गरे पनि हिरासतमै भएका कारण बीपी कोइरालाको ठाउँमा उनका दाइ मातृकाप्रसाद कोइरालालाई कार्यबाहक अध्यक्ष बनाइयो ।

नेपाली कांग्रेसको राजनीतिक जीवनमा चौंथो महाधिवेशनले ठूलो अर्थ र प्रभाव राख्छ । नेपाली राष्ट्रिय कांग्रेस र २००४ साल साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै एकीकृत पार्टीको नाम नेपाली कांग्रेस राखियो । दुई पार्टी एकीकरणपछि कलकत्ताको टाइगर हलमा पार्टीको चौंथो महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छान्यो । यही महाधिवेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गर्‍यो ।

पाँचौं महाधिवेशनमा बीपी र केदारमान व्यथितको प्रतिस्पर्धा

चौंथो महाधिवेशनपछि कांग्रेसजनले मुलुकभित्रै जनआन्दोलन थाले, जसको बलमा २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्र स्थापनापछिको संक्रमणकालीन समय र राजनीतिले निकास नपाइञ्जेल कांग्रेसको महाधिवेशन हुन सकेन । फलस्वरुप चौंथो महाधिवेशन गरेको ३ वर्षपछि नेपाली कांग्रेसले नेपाली भूमिमै पाँचौं महाधिवेशन गर्‍यो । नेपाली भूमिमा गरेको महाधिवेशन र खुला परिवेशमा गरेको महाधिवेशनमा बीपी कोइरालालाई केदारमान व्यथितले चुनौती दिएका थिए ।

२००९ साल जेठ १० देखि १३ गतेसम्म क्रान्तिको उपलब्धि रक्षार्थ जनचेतनाको अभियानको क्रममा जनकपुरमा नेपाली कांग्रेसको पाँचौं महाधिवेशन भएको थियो । नेपाली भूमिमा पहिलो पटक भएको सो महाधिवेशनबाट बीपी कोइराला सभापति चयन भए । उनले केदारमान व्यथितलाई पराजित गरेका थिए । केदारमान व्यथित पछि राजनीतिभन्दा साहित्यमा बढी केन्द्रित भए । बीपी कोइरालासँग कुरा नमिलेपछि वामपन्थी कांग्रेसको स्थापना गरे । अनि त्यसको पनि उनी आफै सभापति भए । तर, त्यो दल उनीभित्रै सीमित रहेर क्रमशः हराउँदै गयो । व्यथित स्वतन्त्रताका कट्टर पक्षपाती थिए ।

त्यसैले उनी राणाकालीन युगमा नागरिक हक खोज्दै हिँडे । अनि शुक्रराज शास्त्री सभापति र व्यथित सचिव भएर नेपाली नागरिक अधिकार समितिको स्थापना गरे । त्यसपछि उनी राणाका आँखे तारोमा दर्ता पनि भए र पक्राउ पनि परे । जेल बाहिर आएपछि व्यथित राणाका विरोधमा झन कुर्लन थाले । राणाको शिरोच्छेदन गर्ने बाटो खोज्दै उनी नेपाली राष्ट्रिय कांग्रेसमा पुगे । अनि त्यस संस्थाको केन्द्रीय संघर्ष समितिको उनी सदस्यमा मनोनीत भए ।

बीपी कोइराला र केदारमान व्यथितबीचको प्रतिस्पर्धाको असर पछि देखापर्‍यो । सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा २००९ साल साउन ८ देखि २३ सम्म चलेको पार्टीको विशेष महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेरलगायतका नेतालाई कारबाही गरेपछि कांग्रेस फेरि फुट्न पुग्यो ।

गणेशमान र सुर्वणशमशेरको प्रतिस्पर्धा

प्रजातान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्त मान्दै वीरगञ्जमा छैटौं महाधिवेशन भयो । २०१२ साल माघमा भएको अधिवेशनले सुवर्णशमशेर राणालाई पार्टी सभापति चयन गर्‍यो । यो महाधिवेशनमा सुर्वणशमशेर र गणेशमानका बीचमा प्रतिस्पर्धा भयो । त्यही कारणले यो महाधिवेशन किन रोचक भयो । सुवर्णशमशेरलाई बीपीको साथ थियो । तर, सुवर्णको विरुद्धमा उम्मेदवारी दिएका गणेशमानलाई गिरिजाप्रसाद कोइरालाले सघाएका थिए । सुवर्णशमशेर २३६ मत ल्याएर विजयी भए । गणेशमानले १७२ मत पाए ।

समय क्रमसँगै नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिन थाल्यो । फलस्वरुप २ वर्षपछि नै २०१४ सालमा विराटनगरमा पार्टीको विशेष महाधिवेशन बोलाइयो । विराटनगरको तुलाराम नगरमा बसेको विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गर्‍यो । मजदुर आन्दोलनका क्रममा कांग्रेस कार्यकर्ता तुलाराम तामाङ मारिएको स्थानलाई कांग्रेसजनले तुलाराम नगर नाम दिएर सोही स्थानमा महाधिवेशन गरेका थिए । यो विशेष महाधिवेशन भएकाले यसलाई पूरकका रुपमा गणना गरिएको थियो । आफ्नो पक्षमा बीपी कोइराला देखिन्छन् भन्ने विश्वास गणेशमानलाई थियो । तर, बीपी कोइराला सुर्वणशमशेरको पक्षमा देखिए ।

सातौं महाधिवेशन: भूदेवले बीपीलाई दिएको त्यो चुनौती

२०१७ बैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंको लक्ष्मी निवासमा नेपाली कांग्रेसको सातौं महाधिवेशन भयो । यो महाधिवेशनले बीपी कोइरालालाई पुनः पार्टी सभापति बनायो । यो महाधिवेशनमा बीपी कोइरालालाई भूदेव राईले चुनौती दिएका थिए । राई त्यो बेला भोजपुरबाट प्रतिनिधिसभा सदस्य थिए । राई २०१५ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा भोजपुर-२० बाट निर्वाचित भएका थिए ।

तर, २०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए । तत्कालीन राजा महेन्द्रले आफ्नो महत्वाकांक्षामा राजनीतिक पार्टी बाधक भएको निष्कर्षसहित २०१७ साल पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्धको घोषणा गरे ।

२८ वर्षपछि आठौं महाधिवेशन

नेपाली कांग्रेसको आठौं महाधिवेशन २०४४ साल माघ ३ गते झापा कलवलगुडीमा भयो । यो महाधिशेनबाट कार्यबाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए । २०१७ सालको राजनीतिक कुपछि पार्टी प्रतिबन्धित भएकाले तीन दशकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन । सातौं महाधिवेशनको ३१ वर्षपछि २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडीमा सम्पन्न आठौं महाधिवेशनाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध निर्वाचित भए । आठौं महाधिवेशन अगाडि बीपी कोइरालाले भारतको पटनामा भएको सम्मेलनमा कृष्णप्रसाद भट्टराईलाई कार्यबाहकको जिम्मा दिएका थिए ।

२०३४ साल कात्तिक ५ र ६ गते भएको पटना सम्मेलनबाट कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई दिइयो । तर, त्यही सम्मेलनले नेतामा गणेशमान सिंह र महामन्त्रीमा गिरिजाप्रसाद कोइराला र परशुनारायण चौधरीलाई बनाएको थियो । बीपीमाथि मृत्युदण्ड माग दाबी गरिएको राजकाजसम्बन्धी आठ मुद्दा विचाराधीन थिए । दुई वटा सशस्त्र क्रान्तिमा असफलता व्यहोरेपछि बीपी हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा अग्रसर भए । त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका नेता कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति बनाइयो ।

नवौं, दशौं, एघारौं र बाह्रौं महाधिवेशन

नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरि जोशीबीच प्रतिस्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरबहादुर देउवा र रामहरि जोशीले चुनौती दिए । एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरि आचार्य र भीमबहादुर तामाङले चुनौती दिए । एघारौं महाधिवेशन कांग्रेस र प्रजातान्त्रिक कांग्रेसले अलग अलग गरेका थिए । एघाराैं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई नरहरि र भीमबहादुरले चुनौती दिँदा प्रजातान्त्रिक कांग्रेसको सभापतिमा भने शेरबहादुर देउवा सर्वसम्मत निर्वाचित भएका थिए ।

यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यबाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए । सुशील सभापतिमा निर्वाचित भए ।

तेह्रौं र चौधौं महाधिवेशन

नेपाली कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो । रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । १३औं महाधिवेशनमा कृष्ण सिटौला पनि सभापतिको प्रतिस्पर्धामा उत्रिएका थिए । दोस्रो चरणमा भएको मतदानमा देउवा सभापति बने ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर ९ देखि १३ गतेसम्म भएको थियो । उक्त महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार बनेका थिए । दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा फेरि सभापति बने ।

देउवाको इतिहास तोड्न शेखरले उनकै साथ पाउलान् ?

अब नेपाली कांग्रेस १५ औं महाधिवेशनको पर्खाइमा छ । कांग्रेसको लागिमात्र नभएर देशकै राजनीतिमा आगामी महाधिवेशन एउटा पानीढलो बन्नसक्छ । नेपाली कांग्रेसको नेतृत्व अब संस्थापकहरुपछिको चौथो पुस्तामा जानेछ ।

बीपी, गणेशमान, सुवर्ण शमशेरहरुको पहिलो पुस्ता मान्दा किसनुजी, गिरिजाबाबुहरु दोस्रो पुस्ताका नेता थिए । यद्यपि किसनुजी संस्थापक नेता नै हुन् । त्यसपछिको तेस्रो पुस्ताका नेता थिए शैलजा आचार्य, सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल ।

तेस्रो पुस्ताबाट सभापति बन्ने भाग्य देउवाले मात्र पाए । अब देउवा १५औं महाधिवेशनबाट बिदा हुँदै गर्दा कांग्रेसको नेतृत्व चौथो पुस्तामा जाने निश्चित छ । यद्यपि त्यो चौथो पुस्ता अब नेतृत्वका हिसाबले मात्र हुनेछ, किनकि सभापतिका दावेदार २०६२/६३ पछि सक्रिय राजनीतिमा लागेका शेखर कोइराला, शशांक कोइरालादेखि विद्यार्थी आन्दोलनबाट उदाएका उमेरका हिसाबले कान्छो पुस्ताका गगन थापासम्म देखिएका छन् ।

के शेखर कोइरालाले देउवाले बनाएको इतिहास तोड्लान् ? आजको प्रश्न यो किन पेचिलो बनेको छ भने कांग्रेसमा सभापतिको प्रत्याशी बनेर हारेकाहरुमध्ये देउवाबाहेक कसैले त्यो पद प्राप्त गरेको इतिहास छैन ।

शेखरकै लागि पनि आउने महाधिवेशन किन सहज छैन भने आज उनको टीममा रहेका गगन थापा १५औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यो अवस्थामा शेखरले कि शेरबहादुर देउवाको उम्मेदवार बन्नुपर्नेछ कि त  देउवाले बनाएको इतिहास कायमै रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर