धनगढी कप फुटबल प्रतियोगिताको उपाधि होलिल्याण्ड एकेडेमीलाई – Nepal Press

धनगढी कप फुटबल प्रतियोगिताको उपाधि होलिल्याण्ड एकेडेमीलाई

कैलाली । धनगढीमा जारी श्री कलेज म्यानेज्मेन्ट अफ धनगढी कप फुटबल प्रतियोगिताको उपाधि अत्तरियाको होलिल्याण्ड एकेडेमीले जितेको छ । धनगढी रगंशालामा आज भएको फाइनल खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै होलिल्याण्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

गोल रहित बराबरीमा सकिएको पहिलो हाफ निकै कडा प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफको २ मिनेटमै होलिल्याण्डका कप्तान लन बोहराले गोल गर्न सफल भए । बोहराकै गोलले होलिल्याण्ड एकेडेमीलाई उपाधि जिताउन सफल भयो । होलिल्याण्डका विरुद्ध सुदुरपश्चिमाञ्चल एकेडेमीले निकै प्रयास गरे पनि गोल फर्काउन सकेन ।

आजको म्यान अफ द म्याच होलिल्याण्डका कप्तान मिलन बोहरा बने । उपाधि सँगै होलिल्याण्डले नगद ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै उप विजेतामा चित्त बुझाएको सुदुरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदुरपश्चिमाञ्चल एकेडेमीका सन्दीप सिहं बनेका छन्, उनले नगद २,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट गोलकर्ता होलिल्याण्डका मिलन बोहरा बने, उनले प्रतियोगिता भरी सर्वाधिक ५ गोल हानेका थिए ।

प्रतियोगिताको उत्कृष्ट गोल रक्षक होलिल्याण्कै ओम कामी बन्दा राइजिङ प्लेयर लिटल फ्लावर बोर्डिङ स्कुलका सफल तामाङ बने । उनीहरूले क्रमशः १÷१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

लिटल फ्लावर स्पोट्स क्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा कैलालीका १० बिद्यालय सहभागी थिए । समापन कार्यक्रमका बिच प्रतियोगिताको विजेता तथा उप विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहले लिटल फ्लावर स्पोट्स क्लवले यहाँको क्रिकेट तथा फुटबल विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

लिटल फ्लावर स्पोट्स क्लबका अध्यक्ष रामचन्द्र शाहीले श्री कलेज अफ म्यानेज्मेन्ट धनगढी कप फुटबल प्रतियोगिता आगामी बर्षपनि निरन्तर सञ्चालन हुने घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर