कांग्रेसले नेतृत्व लिएर संविधान संशोधन गरौं : उपसभापति खड्का (भिडिओ) – Nepal Press

कांग्रेसले नेतृत्व लिएर संविधान संशोधन गरौं : उपसभापति खड्का (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान जारी गर्न नेतृत्व लिए जस्तै कार्यान्वयनको समीक्षा गर्दै संविधान संशोधनको पनि कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

पार्टीको महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धताबमोजिम संविधानलाई समयाअनुसार परिवर्तनशील दस्तावेजका रुपमा लिएर संविधान संशोधनको नेतृत्व गर्नुपर्ने धारणा राखे ।

‘संविधान जारी गर्ने बेला सर्वसहमति नभएको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएको छैन । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका छन्, कतिपय असन्तुष्टिहरू छन्’, उनले भने, ‘संविधान जारी भएर लागू भएको पनि आठ वर्ष बितेको छ । त्यसकारण अब संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।’

उनले दलहरुलाई थप विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउन पहल लिनुपर्ने बताए ।

सरकारमा गएका ९ जनाले पार्टीले शीर झुकाउनुपर्ने गलत काम गरेका नगरेकाे उपसभापति खड्काले सुनाए ।

कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उनले पार्टीका तर्फबाट मन्त्री रहेका ९ जनाले कुनै पनि शीर निहुराउनुपर्ने काम नगरेको बताए ।

खड्काले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा दिने काम गरिरहेको जानकारी दिए । ‘हामी सरकारमा गएका छौं । मेरै नेतृत्वमा सभापतिले विश्वास गरेर ९ जना साथीलाई सरकारमा पठाएको छ । मन्त्रीहरूका कमजोरीका बारेमा कुरा उठेका छन् । सरकारमा गएका हामी ९ जनाले सरकारमा गएको दिनदेखि आजसम्म पार्टीका साथीहरूले शीर झुकाउनुपर्ने, नूर गिराउनुपर्ने गलत काम केही पनि गरेका छैनौं’, उनले भने ।

सरकारमा रहेर सुशासन ल्याउन प्रयास गरिरहेको खड्काको भनाइ थियो । महासमिति बैठकमा मन्त्रीहरूबारे गरेका टिप्पणीलाई ध्यानमा राखेर अगाडि बढ्ने पनि खड्काले विश्वास दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर