एमाले केन्द्रीय समितिलाई लुम्बिनीकाे टाेलीले दियाे यस्ता सुझाव – Nepal Press

एमाले केन्द्रीय समितिलाई लुम्बिनीकाे टाेलीले दियाे यस्ता सुझाव

रुपन्देही । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि लुम्बिनी प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई गुटबन्दी बन्द गर्ने, आर्थिक, सांस्कृतिक विचलन गर्नेलाई तत्काल कारबाही गर्नेसहितका सुझाव दिएका छन् ।

लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय सदस्यहरूले जनसरोकारका विषयमा सदन र सडकमा बलियो रुपमा प्रस्तुत हुन सुझाव दिएका हुन् । बुधबार प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका ४५ जनाको समूहमा छलफल गरेर बिहीबार प्रस्तुत गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

यसअघि एमाले नेतृत्वको सरकारले अगाडि सारेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पार्ने र सबै क्षेत्रमा अस्तव्यस्त पारेर वर्तमान सरकारले अन्याेल बनाएको भन्दै त्यसमा पार्टीले गम्भीर ढंगले विषय उठान गर्न उनीहरुले सुझाव दिएका छन् ।

पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान, जनआधारित कार्यकर्ता पार्टी निर्माणको प्रस्ताव, संगठनात्मक कामको समीक्षा र जनसरोकारका विषयमा संघर्षको तयारी र मुद्दाहरुलगायतका विषयमा विभिन्न सुझाव दिइएको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले जानकारी दिए ।

बैठकमा जनवर्गीय सङ्गठनहरूलाई अझै सक्रिय बनाउनुपर्ने, जनजीविका र जनचासोको विषयवस्तुमा सडक र सदनमा सशक्त रुपमा उठाउन सुझाव दिइएको छ । लुम्बिनी प्रदेशबाट पार्टी केन्द्रमा दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, तीन सचिवसहित सात जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर