दुर्गा प्रसाईँ लक्षित गृहमन्त्रीको निर्देशन- ऋण तिर्दिन भन्दै शान्ति व्यवस्था बिगार्नेलाई निगरानीमा राख्नू – Nepal Press

दुर्गा प्रसाईँ लक्षित गृहमन्त्रीको निर्देशन- ऋण तिर्दिन भन्दै शान्ति व्यवस्था बिगार्नेलाई निगरानीमा राख्नू

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिक पहिले भन्ने कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले दुर्गा प्रसाईँको अभियान लक्षित गर्दै ऋण लिएर तिर्दिन भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्‍याउने, समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भाव खल्बल्याउने र समाजमा विग्रह ल्याउनेप्रति चनाखो हुन र निगरानीमा राख्न निर्देशन दिए ।

आर्थिकरूपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको उनले बताए ।

सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शीता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको श्रेष्ठको भनाइ छ । परिवर्तनबाट प्राप्त लाभ जनताले उपभोग गर्ने वातावरण बनाउनका लागि वर्तमान व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउन आवश्यक रहेको उनको धारणा छ ।

गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिङ्गो प्रणाली सकारात्मक हुन जरुरी भएको औँल्याउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्यढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर