हेटौंडा भेलाको सन्देश- चलचित्र पत्रकारितामा बोल्नुपर्छ देश – Nepal Press

हेटौंडा भेलाको सन्देश- चलचित्र पत्रकारितामा बोल्नुपर्छ देश

चलचित्र पत्रकारको पहिलो राष्ट्रिय भेला : हेटौंडामा चार दिन के-के भयो ?

हेटौंडा । चलचित्र पत्रकार संघको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा चार दिने राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार सम्पन्न भयो । २५ वर्ष पुरानो इतिहास बोकेको संघले पहिलोपटक यस्तो बृहद भेला आयोजना गरेको थियो ।

हेटौंडा उपमहानगरकी मेयर मीना लामाले उद्घाटन गरेको भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्माता संघका अध्यक्ष आकाश अधिकारीदेखि गिनेचुनेका केही चलचित्रकर्मी तथा देशभरका चलचित्र पत्रकारहरू सहभागी थिए । नेपाली चलचित्र उद्योगमाथि नै संकट छाएको बेलामा यस क्षेत्रलाई माथि उकास्न चलचित्र पत्रकारहरूले केकस्तो योगदान दिन सक्छन् भन्नेमा सबैल आ-आफ्ना राय सुझावहरू प्रस्तुत गरे । र, निष्कर्ष सबैको एउटै थियो, जसरी नेपाली चलचित्रमा नेपाली माटो बोल्नुपर्छ, त्यसैगरी चलचित्र पत्रकारितामा पनि देशको माटो बोल्नुपर्छ । अर्थात्, स्वदेशी चलचित्रको प्रवर्द्धन र सेवा नै चलचित्र पत्रकारिताको ध्येय हुनुपर्छ भन्नेमा एकमत देखियो ।

देशभरका झण्डै दुई सय पत्रकारहरू उपस्थित कार्यक्रमलाई चार सेसनको अन्तरक्रियामा विभाजन गरिएको थियो । भेलाको अन्तिममा फिचर लेखनसम्बन्धी कार्यशाला राखिएको थियो जहाँ दुई वरिष्ठ तथा अग्रज पत्राकारहरू अरुण बराल (खबर हबका प्रधान सम्पादक) र चिरञ्जीवी पौडेल (नेपाल प्रेसका सम्पादक) ले प्रशिक्षण दिएका थिए ।

अन्तरक्रियाहरू कुनै कर्मकाण्डीमात्रै थिए त कुनै निकै प्रभावकारी एवं जीवन्त पनि । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले प्रस्तुत गरेको कार्यपत्र र त्यसमा पत्रकारहरूले गरेको प्रतिवाद भेलाको ‘हाइलाइट्स’ का रूपमा रह्यो । पूर्व रंगपत्रकारसमेत रहेका बलले अहिलेको चलचित्र पत्रकारिताको रुझानलाई लिएर थुप्रै प्रश्न उठाएका थिए । रंग पत्रकारहरूले आफूलाई पत्रकारिताको आचार संहिताभित्र बाँध्न नसकेको टिप्पणी उनले गरे ।

‘फलानो चलचित्रको रिलिज डेट सर्‍यो, फलानो चलचित्रको ट्रेलर रिलिज गर्‍यो, फलानो चलचित्रले यति कमायो, फलानो हिरोले यति पारिश्रमिक लियो.. यस्ता समाचारहरू पत्रकारिताको आचार संहिताविपरीत हुन् । पत्रकारिताको आचार संहिताले समाचारहरू विज्ञापनजस्ता हुनु नहुनेमा भनेर स्पष्ट उल्लेख गरेको छ,’ उनले कार्यपत्रमा भनेका थिए ।

तर, बलको कार्यपत्रमाथि रंग पत्रकार अनुप भट्टराईले कडा प्रतिवाद गरे । उनले अन्य विधाको पत्रकारिताभन्दा चलचित्र पत्रकारिता पृथक रहेकोले यसलाई छुट्टै आचारसंहिता चाहिनेमा जोड दिए ।

‘अरु विधाका पत्रकारिताको सिद्दान्त चलचित्र पत्रकारितामा लागू हुन सक्दैन । विश्वव्यापीरुपमा नै चलचित्र पत्रकारिताको बेग्लै मान्यता र शैली हुन्छ । यसलाई त्यही रुपमा बुझेर खुकुलो आचारसंहिता लागू गरिनुपर्छ,’ उनले भने ।

अर्को एउटा अन्तरक्रियामा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र समीक्षाको ‘प्रवृत्ति’ लाई लिएर असन्तुष्टि पोखे । समिक्षकहरू सन्तुलित हुन नसकेको भन्दै उनले दर्शकको पनि भावना बुझेर समिक्षा लेख्न सुझाव दिए ।

अधिकारीले भने, ‘शुक्रबार नयाँ चलचित्र रिलिज हुन्छ, रिलिज भएको केहीबेरमा चलचित्र झूर बनेको भनेर समीक्षा लेखिन्छ । तर, समीक्षकले झूर भनेका चलचित्रमा दर्शक ओइरिएको र हिट भएको थुप्रै उदाहरण छन् । त्यसैले पहिले दर्शकको पनि भावना बुझेरमात्रै समीक्षा लेख्दा त्यो वस्तुपरक हुन सक्छ ।’

तर, अधिकारीको कुरालाई अर्का निर्माता तथा निर्देशक निश्चल बस्नेतले नै चित्त बुझाएनन् । दर्शकको भावना बुझेर मात्रै समिक्षा लेख्नु भन्ने सल्लाह उचित नभएको बस्नेतले टिप्पणी गरे ।

‘समिक्षकले आफ्नै मूल्यांकन र विश्लेषणमा समिक्षा लेख्ने हुन् । दर्शक र समीक्षकको सोच्ने र विश्लेषण गर्ने तरिका फरक हुन सक्छ,’ उनले भने ।

नेपाल निर्माता संघका महासचिव नरेन्द्र महर्जनले चलचित्र हलहरूको दुरावस्ता रहेको र धेरै हलहरू टिक्न नसकेको बन्द भएको सुनाए । महर्जनका अनुसार देशभर रहेका ४५० हलहरूमध्ये अहिले १५० जटा मात्रै सञ्चालनमा छन् ।

उनले भने, ‘पहाडमा चलचित्र हलहरू नै छैनन् । तराईमा हलहरू छन्, तर नेपाली चलचित्रका दर्शक छैनन् । हल सञ्चालकहरूलाई सञ्चालन खर्च समेत धान्न मुस्किल परेको अवस्था छ ।’

भेलामा चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष शान्तिप्रियले ‘नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्था’ लाई कार्यपत्रमा प्रस्तुत गरेका थिए । त्यसमा चलचित्र पत्रकार संघको इतिहास, वर्तमान अवस्था र कार्यदिशालाई समेटिएको थिो । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रूपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बताए । शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरेजस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको उनले टिप्पणी गरे ।

‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने । बलले चलचित्र पत्रकारितामा व्यवसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सापकोटाका अनुसार बाग्मती प्रदेशले बेग्लै चलचित्र ऐन बनाउने तयारी गरिरहेको छ । तर, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले केन्द्रीय सरकारले नै चलचित्र ऐनको मस्यौदा बनाएर अन्तिम चरणमा रहेको बेला प्रदेशले आफ्नै ऐन बनाएकोप्रति परोक्ष असन्तुष्टि जनाए । उनले केन्द्र र प्रदेशको ऐन बाझिनसक्ने प्रति पनि चिन्ता व्यक्त गरे ।

सापकोटाको कार्यपत्रमा छलफल गर्दै निर्माता संघका आकाश अधिकारीले रोल्पा, डोल्पामा छायांकन हुने चलचित्रहरू बागमती प्रदेशमा सुटिङ गर्न आए भने सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे । नेपाल चलचित्र संघका महासचिव महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए ।

राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था र हिजो आज र भोलि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने जनाए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन समेत आग्रह गरे ।

‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण, चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यान दिऔं’, उनले भने ।

कार्यक्रममा उपस्थित अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रूपमा आएपछि बजारको विषयलाई नजिकबाट बुझेको खुलाइन् ।

‘पहिला अभिनेत्रीको रूपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यहीअनुसार अभिनय गर्थें । अब निर्मात्रीका रूपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एकजना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्, ‘चलचित्र दिमाग खराबको प्रदर्शनकै समयमा निर्माताको दुःख थाहा पाएँ । चलचित्रको बजारको कुरा गर्ने हो भने मैले पनि पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन ।’

दिमाग खराबले १० करोड हाराहारीको व्यापार गरे पनि आफ्नो निर्माता श्रीमानको गोजीमा न्यून रकम परेको गुनासो गरिन् ।

विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशीले जबसम्म नेपाली चलचित्र हेर्दैनन्, तबसम्म नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण हुन नसक्ने बताए । उनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्नका लागि चलचित्र विकास बोर्डले निरन्तर छलफल गरेको सम्झँदै लण्डन र कतार भ्रमणका क्रममा त्यहाँका राजदूतसँग चलचित्र पर्यटन प्रवर्द्धनका लागि पहल गरेको पनि सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *