राप्रपाका नेतालाई प्रधानमन्त्रीको जवाफ- तपाईँहरूको मागलाई स्वाभाविकरूपमा लिएको छु – Nepal Press

राप्रपाका नेतालाई प्रधानमन्त्रीको जवाफ- तपाईँहरूको मागलाई स्वाभाविकरूपमा लिएको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविकरूपमा लिएको बताएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनबाट ४० बुँदे ज्ञापनपत्र बुझ्दै उनले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका राप्रपाका नेताहरूसँग उनले भने, ‘नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ । लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन् । तपाईँहरूले पनि त्यही माग राख्नुभएको छ । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’

राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापनलगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् । सरकारले ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन नगरे तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने राप्रपाको चेतावनी छ ।

प्रचण्डले थपे, ‘राप्रपाले आफ्ना मुद्दाहरू लिएर संघर्षमा जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन । तपाईँहरूको संघर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौं, त्यसमा सकारात्मक सहयोग रहोस् । सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस् ।’

राप्रपाका नेतासँग प्रधानमन्त्री दाहालले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताए । भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानविन र कारवाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा उनको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर